Sunday, September 3, 2023

न्याय र समानताको आवाज



चिरन पुन ‘मिलन’
अभिवादन !

आज म तपाईंहरूसँगको सुन्दर भेटमा छु । तपाईंहरूको सद्भाव, माया, प्रेम, सुझाव, सल्लाह, प्रेरणा र आत्मीयताको कारणबाट आज म तपाईंहरूको साथमा पुगेको छु र हातमा पुगेको छु । आज म ठुल्ठुला कुरा गर्ने पक्षमा छँदै छैन, केवल स–साना र सामान्य कुरा गर्न लागिरहेको छु । यतिबेला म निकै खुसी छु, उत्साही छु, प्रफुल्लित छु किनकि मैले तपाईंहरूको हातमा जनवादी गीतिसङ्ग्रह सपनाका यात्री सुम्पन सफल भएको छु ।

म विकट गाँउमा जन्मेर हुर्केको मान्छे । गाउँमा बिजुली थिएन, बिजुली नभएपछि टेलिभिजन हुनै कुरै भएन । आजको जस्तो सामाजिक सञ्जाल, यु–ट्युव आदि त झनै के कुरा गर्नू ! रेडियो थियो तर, जनवादी गीतसङ्गीत बज्थेन । केवल एउटा नाम सुनिन्थ्यो जीवन शर्मा । जनताको गीत गाउने मान्छे भन्थे सबैले । जनताको गीत गाउने मान्छेलाई जनवादी गायक भन्दा रहेछन्, हो ! यिनै हुन् जीवन शर्मा गाउँमा मास्टरहरूले फोटो देखाएर कुरा गर्थे । किनकि, मेरो गाउँका सरहरूलाई कम्युनिस्ट विचारको प्रभाव पहिल्यै परिसकेको हुनाले चिन्दा, सुन्दा र जान्दा रहेछन् जीवन शर्मालाई । पहिल्लो पटक २०४७ सालमा देखेको, अरू त त्यति ख्याल छैन, सेतो डल्लो परेको ठूलो अनुहार, गुजुल्टो र ठाडो परेको कपाल र ठूलो मुख मज्जाले गीत गाउने मान्छे रहेछन् जीवन शर्मा ।

संयोग भनौँ ! उनै वरिष्ठ जनवादी गायक जीवन शर्मासँगै रक्तिम परिवारमा उहाँ अध्यक्ष म केन्द्रीय उपाध्यक्ष भएर काम गर्ने मौका मिल्यो र लामो जनवादी गीतसङ्गीतको सहकार्यमा पनि छौँ र आज पनि सँगै छौँ, सङ्गीत अभियात्रामा । र, जनताको गीत गाउँदै छौँ, सङ्गीत भर्दै छौँ दुःखी गरिबका गीतहरूमा । यसैको गहिरो प्रभाव र सङ्गतले नै मलाई नजानिँदो हिसाबले जनवादी गीत, सङ्गीत र गायनमा कोसिस गर्ने वातावरण मिल्यो मलाई । र, त्यही परिवेशबाट सिर्जना हुन थाल्यो मेरो जनवादी गीत र सङ्गीतहरू । हुन त मैले औपचारिक हिसाबले २०५५
सालमै सांस्कृतिक मोर्चा छोडेर युवा सङ्गठन र पार्टी राजनीतिमा होमिएर काम गर्ने वातावरण बन्न गयो तर, जनवादी गीतसङ्गीतको लतले कहिल्यै छोडेन । मौका मिल्यो भने गुनगुनाउने, हारमोनियम फेला प¥यो भने दिनभर त्यसैमा व्यस्त हुने, गीत लेख्ने र सङ्गीत भर्ने काम पनि सँगसँगै अगाडि बढ्यो । लाग्छ, मेरो जनवादी
गीतसङ्गीतले गरिखाने श्रमिक वर्गका अधिकारको आन्दोलनमा हातेमालो गरोस्, क्रान्तिमा ऊर्जा पैदा गरोस् र निम्छरो अनुहारमा हाँसो भर्न सफल बनोस् । प्रतिफल आज तपाईंहरूसँग गीति सँगालो सपनाको यात्रीसहित सामिप्य बन्न दियो मलाई ।

म कुनै चर्चित गीतकार होइन, न त सङ्गीतकार नै, गायक त म झन् हुँदै होइन । केवल, मैले निरन्तर कोसिस गर्ने गरेको छु जनवादी गीतकार, सङ्गीतकार र गायक बन्न । मेरो विचारमा कोसिस गर्नु र कुशल गीतकार, सङ्गीतकार र गायक बन्नु बिल्कुल फरक कुरा हो । गीतसङ्गीतको कुरा गर्दा कस्तो गीतसङ्गीत ? किन गीतसङ्गीत ? कसका लागि गीतसङ्गीत ? यो निकै महत्त्वपूर्ण प्रश्न हो । यसको जवाफको खाँचो छ आज । गीतसङ्गीतमा पक्षधरता हुन्छ कि हुन्न ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो । के गीतसङ्गीतको आधार माया, प्रेम, यौन र रोमान्स मात्र हो ? जित, हार, दुःख, सुख, अँध्यारो, उज्यालो, उँच, नीच, समानता, असमानता, विभेद, आँसु, हाँसो, प्रकृति, विज्ञान, जीवन, जगत्, पानी, आगो, लडाइँ, क्रान्ति, देश, परिवर्तन आदिको गीतसङ्गीत हुन्न वा बन्दैन वा सकिँदैन ? यदि बन्छ भने त्यो किन ? कसका लागि ? कसले ? हो ! यसैले, मेरो रोजाइको मुख्य विषय पनि जनवादी गीतसङ्गीत नै बनेको हो वा परेको हो ।

मैले बारम्बार सोचिरहने विषय भनेको रामेश, रायन, जेबी टुहुरे, खुसीराम पाख्रीन र जीवन शर्माहरूजस्तै जीवनको उत्तराद्र्धसम्म जनताको गीतसङ्गीतमा टिकिरहन सक्छु कि सक्दिनँ होला ? उहाँहरू त एकढङ्गले यो परीक्षामा पास नै भइसक्नुभएको छ । तर, यो परीक्षामा म पास हुन सक्छु कि सक्दिनँ होला ? मेरो दिमागमा सधैँ उठिरहने एउटा ज्वलन्त प्रश्न यही हो । अन्य नयाँ पुस्ताका जनवादी सर्जकहरू पनि यो क्षेत्रमा लागिरहनुभएको छ, सबैप्रति सम्मान छ । अवश्य ! यो सजिलो छैन । यदि सजिलो हँदो हो त धेरै जनवादी कलाकारहरू यो क्षेत्रमा रजगज गरेर बसेको हुन्थे होलान् । कठीन छ तर अनिवार्य छ । किनकि, समाजमा वर्ग रहेसम्म वगसङ्घर्ष चलिरहन्छ । वर्गसङ्घर्ष चलिरहँदासम्म श्रमजीवी जनताका कलाकार हरूको सांस्कृतिक क्षेत्रमा योगदानहरूको भूमिका अनिवार्य आवश्यकता रहिरहन्छ । यसो भनिरहँदा जनवादी कलाकारहरूलाई राज्यले व्यवस्था गर्नुपर्दैन ? अवश्य पर्छ । तर, राज्य आफ्नो भए पो ? आफ्नाहरूका लागि केही गर्छ वा सोच्छ ? त्यसैले त हामीहरू आफ्नो राज्यसत्ता बनााउन कष्टपूर्वक भए पनि यो क्षेत्रमा टिकिरहनुपर्ने विषय आउँछ । हामी सबै जनवादी कलाकारहरूले सङ्घर्ष गर्नुपर्ने विषय उठ्छ ।

प्रस्तुत गीतिसङ्ग्रह सपनाका यात्रीमा २०५९ देखि आजसम्मका मेरो आफ्नै रचना, सङ्गीत भएको छानिएका गीतहरू र केही अन्य विद्वान् गीतकारहरूको शब्द–रचनामाथि सङ्गीतमा खेल्ने कोसिस गरेको छु । अवश्य तपाईंहरूको आवश्यक सुझाव, सल्लाह प्राप्त गर्ने कुराको निकै ठूलो अपेक्षा मात्र होइन; विश्वास राखेको छु ।

यस सन्दर्भमा जनवादी सर्जकहरू जो सहिद तथा बेपत्ता हुनुभयो, सबैप्रति उच्च स्मरण तथा सम्मान व्यक्त गर्न चाहन्छु । गीतिसङ्ग्रहमा निकै व्यस्त समयका बिच जनवादी गीतकार, सङ्गीतकार तथा नेपालको सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, हाम्रो जनप्रिय पार्टीका आदरणीय महासचिव तथा वरिष्ठ जनवादी गीतकार कमरेड विप्लव सी, वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार तथा गायक जीवन शर्मा, माधव प्रधान र मणि थापाहरूले शुभकामना, मन्तव्य र भूमिका लेखिदिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद भन्न चाहन्छु ।

विद्वान् जनवादी गीतकारहरू, गीतहरूमा आफ्नो कर्णप्रिय आवाज दिनुहुने जनवादी गायक गायिका, गीतहरूमा मीठो र कुशल सङ्गीत संयोजन (एरेन्ज) गरिदिनुहुने सबै, मन्त्रमुग्ध वाद्यबाधकमा सहयोग गर्नुहुने नेपालका वरिष्ठ वाद्यवाधकहरू, गीतहरूमा मीठो मिक्सिङ तथा मास्टरिङ गर्ने वरिष्ठ साउन्ड इन्जिनियरहरू सबै, रेकर्डिङ स्टुडियोहरू सबैलाई स्मरण गरिरहेको छु यो बेला । भाषा सम्पादनमा सहयोग गर्नुहुने लेखक तथा साहित्यकार खेम थपलिया, पुस्तकको डिजाइनमा महत्त्वपूर्ण योगदान दिनुहुने डिजाइनर अग्निराज पौडेल ‘अराप’, पुस्तक प्रकाशन गरेर तपाईंहरूको हात–हातमा पु¥याउन भूमिका खेल्ने जनप्रचार तथा प्रकाशन प्रा. लि.लाई हार्दिक धन्यवाद नदिइरहन कहाँ सक्छु र ! जनवादी कलाकार बनेर उत्पीडित समुदाय, वर्ग र राष्ट्रका लागि मरिमेट्ने सम्पूर्ण जनवादी कलाकारहरू सबैलाई सम्झिराखेको छु यो बेला । म आफू आबद्ध भएको जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिवसहित केन्द्रीय समिति र सिङ्गो पार्टी–पङ्क्ति, सङ्गीत अभियात्रा, सामना परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । 

अन्त्यमा, मेरो गीतसङ्गीतलाई माया गर्नुहुने, सुन्ने, मन पराउने, आवश्यक सुझाव सल्लाह दिनुहुने मेरा प्रिय न्यायप्रेमी जनसमुदाय, जसलाई म कहिल्यै भुल्न सक्दिनँ । मुख्यतः मेरो गीतसङ्गीतको यात्राको आत्मीय साथी तिनै श्रमिक जनसमुदाय हुन्, जसलाई म कहिल्यै आफ्नो जीवनबाट टाढा राख्न सक्दिनँ । मलाई जनवादी
गीतसङ्गीतको क्षेत्रमा लागिरहन ऊर्जा दिइरहने, सङ्घर्ष गर्न उत्पे्ररणा पैदा गरिरहन उत्साह दिइरहने आफ्नो जीवनको कुनै पर्वाह नगरेर पनि न्याय, समानताका लागि हातमा हात, काँधमा काँध मिलाउन तत्पर हुने मनहरू नै हुन् । जसले, आगामी दिनहरूमा पनि मेरो जनवादी गीतसङ्गीतको यात्रालाई अघि बढाउन मलजल गरिरहनेछन्, सबैप्रति हार्दिक आभार !

२१ फागुन, २०७९

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...