Thursday, February 23, 2012

यो सरकार कम्युनिष्टको हो ?

अग्रगति साप्ताहिक
बर्ष, ६ अंक २४
२०६८ फागुन ४ विहिबार ।
चिरन पुन
सरकार राज्य सत्ताको एक अंग हो । राज्यसत्तालाई बल पुर्याउन सरकारले भुमिका खेलिरहेको हुन्छ । सरकार सम्वन्धि पार्टीहरुको तत्कालिन नीति, राज्यसत्तालाई हेर्ने दृष्टिकोण, उसको चरित्र र देश, जनता प्रतिको जिम्मेवारीवोध, सरकारमा सहभागी हुने व्याक्तिहरुको दक्षता आदी कारणहरुले सरकार सामान्य रुपले सकरात्मक हुने वा नहुने भन्ने कुराको फैसला हुन्छ । त्यो अनुरुप बर्तमान सरकारको बारेमा पनि सकरात्मक नकरात्मक टिप्पोणीहरु हुने गरेको छ । के यो सरकार कम्युनिष्ट को हो ?

भनिन्छ, आज देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सडक, संविधानसभा, सरकार र प्रतिपक्षमा पनि बहुमत कम्युनिष्ट को नै छ । तर, किन कम्युनिष्टहरु मिलेर कम्युनिष्टले चाहे जस्तो संविधान बनाउन नसकेका होलान ? किन कम्युनिष्टहरु आफै झगडा गर्दै बसेका होलान ? किन कम्युनिष्टले नेतृत्व गरेको सरकारमा यतिधेरै बेतिथि भयो होला ? जस्ता प्रश्नहरु आज छरपस्ट सुन्न पाईन्छ । त्यतिमात्र होईन, युद्ध लडेर आएको ए (माओवादी) गत संविधानसभाको निर्वाचनबाट ३१ लाख, ४५ हजार, ५ सय १९ मत अर्थात ३०. ५२ प्रतिसत मत प्राप्त गरी संविधानसभामा सवैभन्दा ठुलो दलको रुपमा स्थापित भएर आएको हो र उसैले अहिले सरकारको नेतृत्व गरिरहेको छ । त्यस्तै यतिवेला प्रतिपक्षमा रहेको नेकपा (एमाले) २२, लाख २९ हजार, ६४ मत अर्थात २१. ६३ प्रतिसत मत प्राप्त गरी तेश्रो ठुलो दलको रुपमा आफुलाई स्थापित बनाउन सफल भएको थियो । उसले पनि यस भन्दा अगाडि सरकारको नेतृत्व गरेर आएको हो । त्यस्तै नेमकिपा, राजमो, नेकपा (माले), नेकपा (एकीकृत), नेकपा (संयुक्त) जस्ता कम्युनिष्ट पार्टीहरु संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन । यसरी कम्युनिष्टको नाममा विभिन्न पार्टीहरुले जनताबाट मत प्राप्त गरे र संविधानसभामा सहभागी हुन सफल भए । यी सवै कम्युनिष्ट भनिएका पार्टीहरुले ल्याएको मतलाई आधार मान्ने हो भने पनि करिब ६२ प्रतिसत भन्दा धेरै संविधानसभामा विभिन्न कम्युनिष्ट पार्टीबाट सहभागिता रहेको छ ।

आज सरकारमा, संविधानसभामा, सडकमा र प्रतिपक्षमा पनि कम्युनिष्टको बाहुल्यता देख्नु र त्यस प्रकारको दृष्टिकोण जनताको तर्फबाट राख्नु सान्र्दभिक नै हुन्छ । यसमा पनि सर्वहारा बर्गको वकालत गर्दै १० बर्ष युद्ध लडेका मानिसहरुले अहिले मुलुकमा सरकारको नेतृत्व गरिरहेका छन । साम्राज्यवाद र विस्तारवादको विरोधमा सुरुड्ग खनेर प्रतिकार गर्न तम्सेका मानिसहरु आज देशको मुख्य ओदाहमा आसिन छन । सुकुम्वासीहरुको लागि जमिन, बेरोजगारको लागि रोजगार, गास, बास र कपासमा सर्वसुलभता भन्नेहरुले अहिले देशमा सरकार चलाईरहेका छन । सम्पूर्ण असमान सन्धी संझौताहरुको खारेजी र राष्ट्रिय स्वाधीनताको रक्षाको चर्को वकालत गर्नेहरु यो देशलाई अघि बढाउने जिम्मेवारीमा छन । भ्रष्टाचारी, कालोबजारी, तस्करी, घुसखोरी र कमिसनतन्त्रलाई निमुर्ल गर्न लडेकाहरुले विभिन्न मन्त्रालय संभालेर बसेका छन । तर पनि देशको अवस्थामा कुनै सुधार नहुनु अत्यन्त दुखदायी प्रश्न हो । जनताको लागि चिन्ताको विषय हो । यस्तो अवस्थामा जनतालाई कम्युनिष्ट प्रति वितिष्णा पैदा हुनु, उनिहरुको विरोध गर्नु, कम्युनिष्टहरु मिलेर गए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक नै हो । जनताको यस प्रकारको चाहनालाई सकरात्मक रुपमानै लिनु पर्दछ तर के गर्नु आजको अवस्था आकाशको फल आखा तरी मर भन्ने उखानको चरित्रार्थ कम्युनिष्ट भन्ने हरुमा नै देखिएको छ ।

आज देशमा भ्रष्टाचार झन चुलिएको छ । कमिसनतन्त्र, घुसखोरी, कालोबजारी र तस्करी राजनैतिक संरक्षणमा मौलाएको छ । पेट्रेलियम पदार्थको अभाव छ । असिमित मुल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरु किनी नसक्नु भएको छ । चर्को लोडसेडिडले देश अन्धकारमय बनेको छ । दिनहु सिमा अतिक्रमण भएको छ । राष्ट्र्यि स्वाधीनता झन संकटमा पर्दै गईरहेको छ । उद्योग धन्दा, कलकारखानाहरु बन्द हुदै गैरहेका छन । बेरोजगारी समस्याले दिनहु हजारौ युवा पलायन हुने क्रम रोकिएको छैन । सवै क्षेत्रमा झन बढि असमानताहरुको खाडल देखिदै गएको छ । संविधान निर्माणका कार्यहरु पनि निकै सुस्त गतिमा छ । शान्ति सुरक्षाको अवस्थामा पनि सुधार हुन सकिरहेको पाईदैन । आज देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । हाम्रो देश कुन अवस्थामा छ भन्ने कुरा यी तत्थ्यहरु बाट झन बढि प्रस्ट हुनेछ । नेपाल विद्युत प्राधिकरण १८ अर्ब, ३३ करोड, २ लाख, राष्ट्र्यि बाणिज्य बैक ११ अर्ब, २२ करोड, ८६ लाख, नेपाल आयल निगम ८ अर्ब, ४१ करोड, ८६ लाख, कृषी विकाश बैक ४ अर्ब, ३९ करोड, १७ लाख, नेपाल ओरियन्ट मेग्नसाईट ३ अर्ब, ५९ करोड, ७१ लाख, उदयपुर सिमेन्ट कारखाना १ अर्ब, ७७ करोड, ३० लाख, नेपाल बायु सेवा निगम १ अर्ब, ५५ करोड, ७५ लाख, नेपाल खाद्य्य संस्थान १ अर्ब, १० करोड, ८६ लाख, नेपाल टेलिभिजन ७६ करोड, २ लाख, जनकपुर चुरोट कारखाना ८० करोड, ८ लाख, हेटौडा सिमेन्ट कारखाना ६१ करोड, ९८ लाख, नेपाल औषधी लिमिटेड ४८ करोड, ५८ लाख, खानेपानी संस्थान ३९ करोड, १४ लाख, दुग्ध विकाश संस्थान ३२ करोड, ५१ लाख, जडिबुटी उत्पादन तथा प्रशोधन १३ करोड, ६२ लाख, गोर्खा पत्र संस्थान ८ करोड, ९७ लाख घाटा रहेको कुरा अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी सरकारले नेतृत्व गरेको विभिन्न सरकारी सस्थानहरुको दिनानु दिन घाटा जाने क्रम रोकिएको छैन र देश आर्थिक अवस्थामा निकै जर्जर बनिरहेको कुरा प्रस्ट नै छ ।

अझ मुख्य रुपमा भन्नु पर्दा संविधान सार्थक ढंगले बन्छ वा बन्दैन यो पनि झनै अन्यौल बनेको छ । तर दिनानुदिन देशको बजेट बालुवामा पनि खन्याय जस्तो गरी बगिरहेको छ । शान्ति प्रकृया र संविधान निर्माणकोे लागि भनेर विभिन्न देशहरु र दातृ निकायहरुले निकै धेरै हाम्रो देशमा लगानि गरिसकेका छन । राष्ट्रसंघीय मिसन अनमिन १३ अर्ब १९ करोड, यु. एन. डि. पी. १ अर्ब ७५ करोड, यु एस आई डी २ अर्ब ७२ करोड ५० लाख, स्वीस सहयोग नियाग २ अर्ब ७२ करोड, युरोपिएन युनियन १५ करोड ५० लाख, सिडा क्यानडा ४७ करोड, जि टि जेट (जर्मन) १९ करोड, नर्बे ४० करोड ४७ लाख, युन एन पीएफ एन २१ करोड ११ लाख, नेपाली गैरसरकारी संस्थाहरुले ५४ करोड १२ लाख लगाएत अनेकौ बजेट यो देशमा ०६८ भित्रै लगानी भैसकेको छ । अर्को तिर हाम्रो जस्तो गरिब मुलुकको मन्त्री परिसर, सभासद, उनिहरुको नियुक्तिमा बसेका मानिसहरुले तलब भत्ता वापतै निकै ठुलो बजेट राज्यले खर्च गरिरहेको छ । लेखाशाखा, संविधानसभा सचिवालय २०६८ का अनुशार आज एक जना सभासदको लागि यसरी मासिक ६४ हजार ०६८ र त्यसबाहेक पनि दैनिक भत्ता, भ्रमण भत्ता, यातायात भत्ता भनेर बजेट खर्च भैरहेको छ तर पनि संविधान निर्माणमा दलहरु जिम्मेवार देखिएका छैनन । माओवादी क्यान्टेनमेन्टमा रहेका सेनाहरुको लागि मात्र भरणपोषण र मासिक भत्ता गरेर ०६८ कार्तिक सम्म ९ अर्ब, ९ करोड, ११ लाख, ६२ हजार, ८ सय, ९९ रुपया बजेट खर्च भैसकेको देखिन्छ ।

अब हामी भन्न सक्छौ, के यो मुलुक कम्युुिनष्ट नैतिकता र चरित्र भएका पार्टीहरुले चलाईरहेका छन ? के आज कम्युनिष्टको नाममा सरकारमा गैरहेका वा बसेका मानिसहरुको गतिविधीले कम्युनिष्टको सैली झल्काईरहेको छ ? के उनिहरुको आलिसान सैली, तौर तरिका र आजको साज सजाहरुलाई हेर्दा कम्युनिष्ट भनेर नेपाली जनतालाई गर्भ गर्ने कुनै ठाउ कतै भेटिन्छ ? के उनिहरु राष्ट्र्यिता, जनतन्त्र र जनजिविकाको लागि कुनै काममा तत्पर भएको पाईयो ? यी सवै परिस्थिति र परिवेशहरुलाई हेर्दा आज मुलुकमा कम्युनिष्ट नामधारी अवसरवादी पार्टीहरुले देश संचालन गरिरहेका छन भन्न कसैलाई हिच्किचाहट हुनु पर्ने छैन । बरु उनिहरुले नेपाली जनतालाई ढाटिरहेका छन वा नेपाली जनताले बुझिरहेका छैनन, वा भ्रममा छन वा पारिएको छ । अब सवै प्रष्ट हुनु पर्दछ कि नेकपा एमालेमा कुनै कम्युनिष्टको विचार, दृष्टिकोण, आर्दश र चरित्र छैन उ कम्युनिष्ट नामधारी बुर्जुवा बर्गमा परिणत भैसकेको छ । ए नेकपा (माओवादी) मा पनि त्यो सैली देखिदैछ । उग्रवामपथी अवसरवादीहरुको पतन दक्षिणपथी अवसरवादमा पुगेर समाप्त हुन्छ भन्ने भनाई चरित्रार्थ हुदैछ । आजको उसका दृष्टिकोण, नीति, तौरतरिका र गतिविधीहरुलाई हेर्दा अब ए नेकपा (माओवादी) लाई पनि बुर्जुवा अवसरवादी बर्गमा परिणत हुन धेरै समय कुर्नु पर्ने छैन भन्ने कुराको स्पस्ट रेखा कोरिदै गएको छ । त्यसैले अब आजको सन्दर्भ, राजनैतिक अवस्था, सरकार, संविधानसभा, सडक र कतिपय प्रतिपक्षमा रहेका कम्युनिष्ट भन्नेहरुलाई पनि सोहि अनुशार चिन्नु, बुझ्नु र जान्नु पर्ने आवश्यकता छ र के यो सरकार कम्युनिष्टको हो ? भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ ।


जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...