Sunday, September 3, 2023

क्रान्तिभित्रको सुख चिनाउने एक ऊर्जाशील गीत ‘भोग्नलाई त’



गीति समीक्षा २
नारायण शर्मा

केही मानिसहरूले क्रान्तिलाई डरलाग्दो हाउगुजीको रूपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठ्याराहरूको पहाडका रूपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरू । तर सङ्घर्ष, आन्दोलन र क्रान्तिमा दुःखै दुःखको पहाड मात्र हुँदैन । बुझ्न चिन्न र अनुभूत गर्न सक्ने हो भने क्रान्तिभित्रै सुखको सागर पनि भेट्न सकिन्छ । सुख के हो ? खुसी के हो ? यो मानिसले आ–आफ्नो चेतनास्तर र दृष्टिकोणअनुसार अनुभूति गर्ने विषय हो । निश्चित दर्शन, ज्ञान र चेतनाकै अभावमा धेरै मानिसहरूले क्रान्तिभित्र छिपेको सुखको सागर देख्न सक्दैनन् । क्रान्तिभित्र लुकेको सुख र खुसी चिनाउने एउटा ऊर्जाशील गीत आएको छ–नेपाली साङ्गीतिक बजारमा । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को शब्द, रचना, चिरन पुनको सङ्गीत र नारायण दङ्गालको सङ्गीत संयोजनमा आएको ‘भोग्नलाई त’ बोलको उक्त गीतमा योगेश काजी र शारदा रसाइलीले स्वर दिएका छन् । गीतमा महासमरको यात्रामा रहेका अभियात्रीले त्यहीँभित्र अनुभूत गर्ने सुख र खुसीलाई सरलीकृत रूपमा उतारिएको छ ः
जहाजमा उड्नु, गाडीमा गुड्नु
साथीभाइसँग रसरङ्गमा डुब्नु
सबै सबै सुख नै हुन्
न्यायका लागि जोखिममा खेल्नु
सत्यका लागि विपत्ति झेल्नु
सङ्घर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त सुख अनेकौँ छन्
जीवनमा भोग्ने सङ्घर्षको सुख
प्रिय लाग्छ मलाई ।

हो, कसैका निम्ति रसरङ्गमा डुब्नु नै सुखको उच्चतम् विन्दु हुन सक्छ । एकथरी मानिसहरूले धन दौलतलाई नै सुख र खुसीको मुख्य कारक मान्दछन् । तर सबै खुसीहरू, सबै सुखहरू पैसाले किन्न सकिँदैन । पैसाले मात्र सबै मानिसहरूलाई खुसी र सुखी बनाउन सकिँदैन । पैसा त मानिसले नै सिर्जना गरेको विनिमयको एक माध्यम न हो ! पैसा नै साध्य होइन, त्यो एक साधन मात्र हो । पैसाका कारण मनमा उत्पन्न हुने खुसी क्षणिक हुन्छ । पैसा सकिएसँगै त्यो खुसी र सुख पनि सकिन्छ । तर आफूले गरेको कामबाट अरूको मुहारमा देखिने खुसीले आफ्नो मनमा पैदा गराउने खुसी र सुख त्यो दीर्घकालीन प्रकृतिको हुन्छ । न्यायपूर्ण र समतामूलक समाज निर्माणको महायात्रामा हिंडिरहेको यात्रीका निम्ति त्यही सङ्घर्षभित्र, त्यही आन्दोलनभित्र खुसीको सागर हुन्छ । हो, त्यो यात्रा निकै अप्ठ्यारो र जोखिमपूर्ण अवस्था हुन्छ तर त्यो जोखिमसँग पैठीजोरी खेल्दै अघि बढ्नुको आनन्द छुट्टै हुन्छ । त्यो यात्रा करोडौँ दीन, दुःखी, असहाय र पीडितजनहरूको सुदिन ल्याउन, उनीहरूको मुहारमा खुसी ल्याउन थालिएको यात्रा हो । त्यसैले वास्तविक क्रान्तिकारीहरूले कहिल्यै पनि हरेस खाँदैनन् । निरास हुँदैनन् उनीहरू । त्यही जोखिमभित्र, त्यही विपत्तिभित्रबाट पनि क्रान्तिपश्चात्को समतामूलक र न्यायपूर्ण समाजको सुन्दर तस्बिर देखिरहेका हुन्छन् उनीहरू । गीतमा त्यही वास्तविकता बोलिएको छ ः
उन्मादी विलास रमझममा भुल्नु
प्रियतम प्रियतमा अँगालोमा झुल्नु
यी सारा सबै सुख नै हुन
मुक्तिको लागि आगोमा कुद्नु
लक्ष्यको लागि हुरीमा उड्नु
सङ्घर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त ।

सुख र खुसी अनुभूति गर्ने मनहरू चेतना र दृष्टिकोणअनुसार फरक फरक हुने गर्छन् । कसैका लागि विलासी रमझममा भुल्नु नै सुख हुन सक्छ । कसैका लागि अरूलाई शोषण गरेर कालोधन थुपार्दा पनि खुसी मिल्न सक्छ, सुख मिल्न सक्छ । तर एक सचेत मानिस त्यसरी सुखी र खुसी रहन सक्दैन । मानिसलाई प्राणीहरूमध्येको सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसमा हुने सोच्न, बुझ्न सक्ने क्षमताकै कारण ऊ सर्वश्रेष्ठ ज्ञटट ÷ सपनाका यात्री
प्राणी गनिएको हो । आफ्नो लागि मात्र त जुनसुकै प्राणी पनि बाँच्ने गर्दछ । सचेत मानव भइसकेपछि अरूको निम्ति, समाजको निम्ति, देशको निम्ति बाँच्ने र केही गर्ने हिसाबले सोच्नुपर्दछ । त्यस्तो सोचाई राख्यौँ भने हामीले गर्ने हरेक कामभित्रै सुख र खुसी पाउन सक्छौँ । हामीले देखेका छौँ– नीतिमध्येको सर्वश्रेष्ठ नीति मानिने
राजनीतिक फाँटका नेताहरू जब सत्ता र शक्तिमा पुग्छन्, तब उनीहरूमध्ये प्रायःको जीवनशैलीमा आमूल परिवर्तन आउने गर्छ । हिजो सङ्घर्षका बेलामा जनताका झुग्गी झुपडीहरूमा रमाउने, उनीहरूको मन, उन्मादी विलास रमझममा भुल्न पुग्छ । सत्ता र शक्तिमा पुगिसकेपछि । सुख र खुसी अनुभूति गर्ने उनीहरूको शैली र प्रवृत्ति पनि फेरिन पुग्छ । त्यो उनीहरूले अपनाउँदै आएको विचार दर्शनमै परिवर्तन आएर उत्पन्न भएको भाव हो । जब मानिसको दृष्टिकोण र विचारमै फरक आउँछ सुख र खुसी अनुभूति गर्ने तरिकामा पनि फरक आउन थाल्छ ।

हिजो पैदलयात्रा गर्दै जनताको झुपडीमा पुगेर आटोपिठो खाँदा सुख र खुसीको अनुभूति गर्ने नेता, आज चौरासी व्यञ्जनको खान्कीमा मात्र खुसी र सुखी देखिन्छ । प्राडो, पजेरो, हेलिकोप्टर र जहाजको यात्रा नै उसका लागि प्रिय बन्न पुग्छ । उसको खुसी त्यही हुन्छ । सत्ता शक्तिमा पुगेर पनि श्रमजीवी जनताकै बीचमा गएर घुलमिल हुनु, उनीहरूसँगै काम गर्नुमा सुख र खुसी होइन, हीनताबोध हुन्छ उनीहरूलाई । तर सबै नेताहरू त्यस्ता हुन्छन् भन्ने होइन । 

गीतका लेखक स्वयम् पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक शिखर नेता हुन् । गीतका शब्दहरूमा मात्र होइन, आफ्नो जीवन व्यवहारमा पनि उनले अहिलेसम्म जनमुक्तिको अभियानभित्रैको सुख र खुसीलाई प्रिय मानेको देखिन्छ । यस्तै अहिलेकै परिवेशमा हेर्ने हो भने पनि हर्क साम्पाङ राईजस्ता, जनताकै बिचमा, जनतासँगै काम गर्दा सुखी र खुसी हुने मेयर पनि छन् यै समाजमा । स्वतन्त्रबाट उम्मेदवार बनेर विजयी भएका उनी जनतासँगै गिट्टी कुटिरहेका हुन्छन्, पाइप बोकिरहेका हुन्छन, फोहोर सङ्कलन गरिरहेका हुन्छन् । उनी त्यसैमा सुखी र खुसी देखिन्छन् । हिजो सङ्घर्षको बेलाको जीवनशैली र आज धरानको मेयरमा निर्वाचित भइसकेपछिको उनको जीवनशैलीमा फरक देखिँदैन । त्यसैले चिन्न सक्ने हो भने सबैभन्दा प्रिय सुख र खुसी श्रमजीवी जनताको बिचमा रहँदा हुन्छ । तिनै श्रमजीवी जनताको मुक्तिका लागि सङ्घर्षको मैदानमा होमिँदा हुन्छ । जनमुक्तिका लागि आगोमा कुँद्दा, समतामूलक समाज निर्माणका लागि सङ्घर्षको हुरीमा होमिँदा जुन आत्मसन्तुष्टि, खुसी र सुख मिल्छ, त्यो नै सबैभन्दा प्रिय हुन्छ । वास्तविक जननेताका लागि, समाजको हरेक अगुवाका निम्ति त्यस्तो सुख नै वास्तविक सुख बन्नुपर्दछ । गीत ‘भोग्नेलाई त’ ले मूलतः त्यही सन्देश प्रवाह गरेको छ ।

गीतमा सरल शब्दहरूमा गम्भीर भावलाई बडो कुशलतापूर्वक उतारेका छन् रचनाकारले । कुनै पनि गीतका शब्दभावहरू जतिसुकै उच्च भए पनि त्यसले न्यायपूर्ण सङ्गीत र स्वर पाउन सकेन भने त्यो गीत पूर्ण बन्न सक्दैन । गीत ‘भोग्नेलाई त’ मा सबै विधाको संजोग मिलेको देखिन्छ । जुन उच्च क्रान्तिकारी भावका साथ रचनाकारले गीतका शब्दहरू कोरेका छन्, त्यसको मूल मर्मलाई बुझेरै सङ्गीतकारले ती शब्दमा सङ्गीत भरेका छन् । सङ्गीतकार स्वयम् पनि प्रगतिशील सांस्कृतिक आन्दोलन एवम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील रहेका व्यक्तित्व भएरै हुनुपर्छ; प्रस्तुत गीतमा उनले न्यायपूर्ण सङ्गीत दिएका छन् । यो गीत निर्माणका बेला राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । रचनाकार सङ्गीतकार भूमिगत रूपमा एउटै मिसनमा थिए । “हाम्रो पार्टीको आठौँ केन्द्रीय समितिको बैठकको दौरानमा प्रतिबन्धकै बेला २०७७ सालको सुरुआततिरै यो गीत मलाई दिनुभएको थियो महासचिव कमरेडले”, सङ्गीतकार चिरन पुन भन्छन्, “त्यो बेला रेकर्ड गर्ने परिस्थिति थिएन । समय परिस्थिति मिलाउँदा–मिलाउँदै अहिले मात्र सार्वजनिक गर्न सक्यौँ ।” 

गीतका शब्दहरू देख्दा नै सरल तर गम्भीर भाव बोकेका लागेर आफूले सङ्गीत भरेको पुनले प्रस्ट पारे । “प्रगतिशील, क्रान्तिकारी गीत भन्नेवित्तिकै बम, बारुद्ध, राइफल, हान्ने, मार्ने भाव दिने शब्द हुनुपर्छ भन्ने मान्यता पनि राख्ने गरेको पाइन्छ । तर महासचिव विप्लवद्वारा लिखित यो गीतका शब्दहरू जनताले बुझ्न सक्ने सरल भाषामा लेखिएको छ”, सङ्गीतकार पुनले भने, “हरेक क्रान्तिकारीहरूलाई सङ्घर्षभित्रको सुख नै प्रिय हुन्छ– त्यही यथार्थ बोलेको छ, यो गीतले ।” गीतको सङ्गीत संयोजक र गायक गायिकाको कामबाट आफू पूर्णतयाः सन्तुष्ट रहेको समेत सङ्गीतकार पुनले बताए । सङ्गीत संयोजक नारायण दङ्गालले पनि सङ्गीतको संयोजन बडो कुशलतापूर्वक गरेका छन् । गायक योगेश काजी र गायिका शारदा रसाइलीको स्वरले पनि पूर्ण न्याय गरेको छ, गीतप्रति । सबैको संयोजन राम्रो मिलेको छ । रचनाकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक, गायिका सबैको एकीकृत कलाबाट एउटा ज्सपनाका यात्री सुन्दर कर्णप्रिय जनगीत निर्माण भएको छ । जनसङ्गीतको पङ्क्तिमा एउटा अर्को क्रान्तिकारीभावको सुन्दर ऊर्जाशील गीत थपिएको छ ।

सूचना प्रविधिको उच्चतम् विकास हुँदै गइरहेको वर्तमान समयमा गीत÷सङ्गीतलाई सुन्न मात्र होइन; हेर्न पनि चाहन्छन् स्रोताहरू । गीत जुन रूपमा सुन्दर बनेको छ, त्यसको भावअनुसारका नृत्य, अभिनयलाई पनि दृश्याङ्कन गरेर भिजुअलसहित ल्याएको भए गीत अझ सुन्दर र सार्थक बन्न सक्थ्यो भन्ने भाव गीत सुन्ने जो कोहीको मनमा पनि उब्जन पुग्दछ । दर्शक स्रोताको उक्त गुनासोलाई अस्वाभाविक मान्न सकिँदैन । देशको प्रगतिशील सांस्कृतिक आन्दोलनमा मात्र होइन; राजनीतिक आन्दोलनमा पनि ठूलो अर्थ र महत्त्व राख्दछन् यसप्रकारका गीतहरूले । व्यावसायिकताका नाममा छाडा, अश्लील र पाश्चात्य गीत–सङ्गीतको बोलवाला रहेको नेपालको वर्तमान साङ्गीतिक बजारमा क्रान्तिकारी भाव बोकेको यसप्रकारका ऊर्जाशील गीत आउनु जनसङ्गीतप्रेमी सम्पूर्णका निम्ति हर्षकै कुरा हो । आगामी दिनमा पनि सर्जकबाट यसप्रकारका सिर्जनाहरूले निरन्तरता पाइराखून् । गीतका सर्जक, सङ्गीतकार, सङ्गीत संयोजक, गायक गायिकालगायत ‘भोग्नेलाई त’ गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरूलाई बधाईका साथ यो गीत सफलताको हार्दिक शुभकामना ! आखिर कस्तो छ त क्रान्तिभित्रको सुख चिनाउने ‘भोग्नेलाई त’ गीत ? अब चिरन पुन अफिसियल यु–ट्युब च्यानलमा गएर सुनौँ र हेरौँ है त !

जनवादी गीत समिक्षक तथा लेखक

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...