Sunday, September 3, 2023

सरल, जीवन्त र यथार्थ गीतसङ्गीत

विप्लव सी
हामीले जनयुद्धको भग्नावेशबाट एकीकृत जनक्रान्तिको झिल्को निकालेपछि कमरेड चिरन सीसँग सहकार्य आरम्भ भयो । आठ वर्षको सहयात्रामा उहाँसँग राजनीतिक मोर्चामा मात्र होइन, गीतसङ्गीत अर्थात् सांस्कृतिक मोर्चामा पनि नजिक रहेर काम गर्ने अवसर मिल्यो । भरखरै उहाँका गीतहरूको सँगालो सपनाका यात्री पढ्न पाएँ । यसमा २०४९ सालदेखि एकीकृत जनक्रान्तिसम्मका गीतहरू सङ्गृहीत रहेछन् । औधी खुसी लाग्यो ।
जनताका गीतहरूका लागि कमरेड चिरन सीलाई धन्यवाद ।

चिरन पुन ‘मिलन’ धेरै परिचय गाउनुपर्ने नाम होइन । उहाँ युवा अवस्थामै कम्युनिस्ट पार्टीमा आबद्ध भएर हालसम्म सङ्घर्षरत हुनुहुन्छ । युवा सङ्गठनमा काम गरेदेखि पार्टी र सांस्कृतिक मोर्चामा काम गरेका उहाँका आफ्नै कैयौँ अनुभव छन् । यतिबेला उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । कमरेड चिरनलाई धेरैले चिन्दा नेताका रूपमा मात्र होइन; गीतकार, सङ्गीतकार, गायकका रूपमा पनि चिन्छन्, जो जायज नै छ । उहाँका गीतहरू यतिबेला हाम्रा घर भान्सा, खेल, यात्रा र कार्यक्रमहरूमा बजिरहेका छन् । ती सरल, जीवन्त र यथार्थ लाग्छन् ।

गीतसङ्गीतमा मान्छेलाई जीवन दिने एउटा बेग्लै तागत हुन्छ, जो राजनीतिमा हुँदैन । मान्छेलाई उठाउने, जुटाउने, सक्रिय बनाउने र टिकाउनेमा गीतले छुट्टै भूमिका पूरा गर्छ । कमरेडका गीतले पनि यो काम गरिरहेका छन् । सपनाका यात्री सङ्ग्रहका गीतहरूमा क्रान्ति, सहिद, बेपत्ता, घाइते, किसान, मजदुर, युवा, विद्यार्थी, देश धेरै चीज छन् । ती हाम्रा जीवनका प्रतिबिम्ब हुन् । तिनले हाम्रो समाजभित्रका विचार, विद्रोह, आशालाई उठाएका
छन् । ती जनताका बिचमा बजिरहनेछन् ।

हामीले क्रान्तिलाई गीतमा र गीतलाई क्रान्तिमा बदलिरहनुपर्छ । हामीले नेपाल फेर्नु छ, समाज फेर्नु छ र मान्छेलाई फेर्नु छ । फेरिएको स्तरलाई निरन्तर विकास गर्दै लानु छ । त्यो भनेको पनि निरन्तर रूपान्तरण गर्नु हो । त्यो एकीकृत जनक्रान्तिलाई सफल पार्नु पनि हो । दलाल पुँजीवादलाई अन्त्य गरेर नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु र साम्यवादतिर अगाडि बढ्नु हो । कमरेड चिरन पुन ‘मिलन’ले आउँदा दिनमा पनि गीतसङ्गीत र गायनको क्षेत्रबाट समेत यसलाई पूरा गर्दै जानुहुनेछ भन्ने आशा र कामना छ । उहाँलाई धेरै धेरै शुभकामना ।

महासचिव
नेपाल कम्युनिस्ट पार्टी
१५ फागुन, २०७९
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...