Sunday, September 3, 2023

नेपाली जनसङ्गीतमा नयाँ सोपान


जीवन शर्मा

रक्तिम आकासबाट उदाएको एउटा नक्षत्र अहिले नेपाली साङ्गीतिक यात्राको दौडमा झन् तीब्र गतिका साथ जनताका गीतसङ्गीत सिर्जनामा तल्लीन छ । उसले लामो समयदेखि सांस्कृतिक क्षेत्रमा काम गर्दा अनेकौँ उहापोह व्यहोर्दै आएको छ । दुःख कष्ट, सजिलो अप्ठेरो मान, सम्मान, अपमान र धृणाका अनगिन्ती शृङ्खला पार गर्दै नेपाली समाजवादी यथार्थवादी धाराको फाँटमा उसले नयाँ–नयाँ साङ्गीतिक थुँगा फुलाउँदैछ । कहिले खुला र कहिले प्रतिबन्धित बाटाको अविश्रान्त यात्री बनेर नयाँ युगको बाटोमा दृढ पाइला चालिरहेको छ । उसका सिर्जनाले नयाँ–नयाँ प्रयोगमा खारिँदै जनताका बिचमा घर जमाउँदैछन । वर्गसङ्घर्ष र वर्गीय आन्दोलनमा यी कृतिले ठूलो योगदान दिइरहेका छन् । जनसङ्गीतको आकासमा चम्किरहेको त्यो एउटा होनाहार युवा हो चिरन पुन ‘मिलन’ । क्रान्तिकारी आन्दोलनमा सक्रिय हुँदा हुँदै पनि उनले निकै मिहिनेतका साथ साङ्गीतिक अभियान अगाडि बढाइरहेका छन् ।

राजनीतिक यात्राको गम्भीर जिम्मेवारी निर्वाह गर्दा गर्दै फुर्सदको समयलाई व्यवस्थित गरेर गीतरचना र सङ्गीत सिर्जनामार्फत नेपाली प्रगतिशीत सङ्गीतको फाँटलाई समृद्ध बनाउन चिरन पुन ‘मिलन’ले आफूलाई समर्पित गरिरहेका छन् । यसबाट नेपाली जनता र राष्ट्रलाई ठूलो सांस्कृतिक ऊर्जा मिलिरहेको छ । यसै सिलसिलामा उनले सपनाका यात्री नामक गीतिसङ्ग्रह प्रकाशित गर्दैछन । यस गीतिसङ्ग्रहमा उनले आफैँले सिर्जना गरेका र अन्य विद्वान्बाट रचना गरिएका एकसय तीसजति गीत सङ्गृहीत गरेका छन् ।   ती गीतमध्ये
सपनाका यात्री गीत सबैलाई सधैँलाई प्रेरणा दिने उत्साह बोकेको गीत छ । 
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन

यो गीत विप्लवद्वारा रचना गरिएको र चिरन पुनबाट सङ्गीतबद्ध गरिएको उत्कृट गीत हो । ‘थाप्लोमा नाम्लो’ भन्ने गीत पनि उत्तिकै मर्मस्पर्शी रहेको छ । सबै गीत समाजवादी यथार्थवादी धारामा सिर्जना गरिएका छन् । नेपाली जनताले चलाएका जनआन्दोलन र जनयुद्धका आलोकमा तयार गरिएका यी गीतले क्रान्तिकारी आन्दोलन र जनताका समस्यालाई राम्रोसँग जोडिदिएका छन् । त्यसै गरेर नेपाली राष्ट्रियतामाथि भइरहेको विदेशी हस्तक्षेप र छिमेकीबाट भइरहेको सिमाना सार्ने कामको पनि गीतमा प्रस्ट भावना समेटिएको छ ।
पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ

यस्तैगरी, वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ भन्ने भाव यत्रतत्र फैलिएको पाइन्छ । वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ र वर्गसङ्घर्ष चलिरहँदा जनवादी गीतसङ्गीतको महत्त्व पनि राष्ट्र, जनता र आन्दोलनमा महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई यो गीतिसङ्ग्रहले दह्रो गरी पकडेको छ ।
मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले फेरि भेटियो ।

यस्ता भावना बोकेका धेरै गीत छन् । यी गीतमा वर्गसङ्घर्षको उद्घोष छ । क्रान्तिकारी आन्दोलनको आगो छ । जनतालाई क्रान्तिको बाटोमा हिँड्न चाहिने ऊर्जा प्रशस्त छ । नेपालीलाई अन्तहीन साम्राज्यवादी चपेटामा जकड्याउने खेलका विरुद्ध सशक्त आवाज बोकेको गीत हो, सपनाका यात्री । यो गीत अहिले नेपाली राष्ट्रियताको पक्षमा उभिएको एउटा दरिलो साङ्गीतिक खम्बा हो । साम्राज्यवादी शक्तिहरूले नेपाललाई आफ्नो क्रीडास्थल
बनाउन लागिपरेको यो समयमा यो गीतले नेपालीलाई चनाखो रहिरहन उत्प्रेरित गरिरहेको हुन्छ । ‘तिमीलाई खोज्दै’ शीर्षकको गीत पनि उत्तिकै सुन्दर छ । नारायण दङ्गालले रचना गरेको यो गीतलाई चिरन पुनले निकै सुन्दर भाका दिएका छन् । एउटा क्रान्तिकारी योद्धाले आफ्नो आस्थाको कलाकारलाई खोज्दै हिँडेको अनुभूति यसमा समेटिएको छ ।

समग्रमा यो गीतिसङ्ग्रह नेपाल राष्ट्र र नेपाली जनताको आवाज बोकेको एउटा सुन्दर कृति हो । नेपाली जनसाङ्गीतिक आकासमा यसले राम्रो सांस्कृतिक खजाना थपिदिएको छ । धेरैजसो गीत चिरन पुनले रचना गर्नुभएको छ । त्यसबाहेक विप्लव, प्रकाण्ड, नारायण दङ्गाल, प्रकाश शाही, प्रेम सी, धर्मेन्द्र बास्तोला, कृष्णहरि भट्ट, हरि नेपाली, ओम पुन, दीपक चलाउने, सन्तोष बुढा, मोहनलाल चन्द, विजयराज प्यासी आदिका रचना पनि सामेल गरिएको छ । सबै गीत सर्वहारावर्गीय सांस्कृतिक आन्दोलको प्रकाशले चम्किएका छन् । सपनाका यात्री नामकरण गरिएको यस सङ्ग्रहले नेपाली प्रगतिशील फाँटमा देखा परेको खडेरीमा साङ्गीतिक बर्षाको काम गर्नेछ । पुस्तकको रूपमा यो गीतिसङ्ग्रह बाहिर आउँदै छ । किताब पढ्ने स्रोताले यसभित्रका गीत पनि यु–ट्युबमा हेरेर क्रान्तिकारी विचारलाई अरू सुदृढ पार्नुहुनेछ । चिरन पुनका यस्ता प्रयासको सर्वतोमुखी सफलताको कामना ।

जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१४ फागुन, २०७९ा

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...