Sunday, September 3, 2023

न्याय र समानताको आवाज



चिरन पुन ‘मिलन’
अभिवादन !

आज म तपाईंहरूसँगको सुन्दर भेटमा छु । तपाईंहरूको सद्भाव, माया, प्रेम, सुझाव, सल्लाह, प्रेरणा र आत्मीयताको कारणबाट आज म तपाईंहरूको साथमा पुगेको छु र हातमा पुगेको छु । आज म ठुल्ठुला कुरा गर्ने पक्षमा छँदै छैन, केवल स–साना र सामान्य कुरा गर्न लागिरहेको छु । यतिबेला म निकै खुसी छु, उत्साही छु, प्रफुल्लित छु किनकि मैले तपाईंहरूको हातमा जनवादी गीतिसङ्ग्रह सपनाका यात्री सुम्पन सफल भएको छु ।

म विकट गाँउमा जन्मेर हुर्केको मान्छे । गाउँमा बिजुली थिएन, बिजुली नभएपछि टेलिभिजन हुनै कुरै भएन । आजको जस्तो सामाजिक सञ्जाल, यु–ट्युव आदि त झनै के कुरा गर्नू ! रेडियो थियो तर, जनवादी गीतसङ्गीत बज्थेन । केवल एउटा नाम सुनिन्थ्यो जीवन शर्मा । जनताको गीत गाउने मान्छे भन्थे सबैले । जनताको गीत गाउने मान्छेलाई जनवादी गायक भन्दा रहेछन्, हो ! यिनै हुन् जीवन शर्मा गाउँमा मास्टरहरूले फोटो देखाएर कुरा गर्थे । किनकि, मेरो गाउँका सरहरूलाई कम्युनिस्ट विचारको प्रभाव पहिल्यै परिसकेको हुनाले चिन्दा, सुन्दा र जान्दा रहेछन् जीवन शर्मालाई । पहिल्लो पटक २०४७ सालमा देखेको, अरू त त्यति ख्याल छैन, सेतो डल्लो परेको ठूलो अनुहार, गुजुल्टो र ठाडो परेको कपाल र ठूलो मुख मज्जाले गीत गाउने मान्छे रहेछन् जीवन शर्मा ।

संयोग भनौँ ! उनै वरिष्ठ जनवादी गायक जीवन शर्मासँगै रक्तिम परिवारमा उहाँ अध्यक्ष म केन्द्रीय उपाध्यक्ष भएर काम गर्ने मौका मिल्यो र लामो जनवादी गीतसङ्गीतको सहकार्यमा पनि छौँ र आज पनि सँगै छौँ, सङ्गीत अभियात्रामा । र, जनताको गीत गाउँदै छौँ, सङ्गीत भर्दै छौँ दुःखी गरिबका गीतहरूमा । यसैको गहिरो प्रभाव र सङ्गतले नै मलाई नजानिँदो हिसाबले जनवादी गीत, सङ्गीत र गायनमा कोसिस गर्ने वातावरण मिल्यो मलाई । र, त्यही परिवेशबाट सिर्जना हुन थाल्यो मेरो जनवादी गीत र सङ्गीतहरू । हुन त मैले औपचारिक हिसाबले २०५५
सालमै सांस्कृतिक मोर्चा छोडेर युवा सङ्गठन र पार्टी राजनीतिमा होमिएर काम गर्ने वातावरण बन्न गयो तर, जनवादी गीतसङ्गीतको लतले कहिल्यै छोडेन । मौका मिल्यो भने गुनगुनाउने, हारमोनियम फेला प¥यो भने दिनभर त्यसैमा व्यस्त हुने, गीत लेख्ने र सङ्गीत भर्ने काम पनि सँगसँगै अगाडि बढ्यो । लाग्छ, मेरो जनवादी
गीतसङ्गीतले गरिखाने श्रमिक वर्गका अधिकारको आन्दोलनमा हातेमालो गरोस्, क्रान्तिमा ऊर्जा पैदा गरोस् र निम्छरो अनुहारमा हाँसो भर्न सफल बनोस् । प्रतिफल आज तपाईंहरूसँग गीति सँगालो सपनाको यात्रीसहित सामिप्य बन्न दियो मलाई ।

म कुनै चर्चित गीतकार होइन, न त सङ्गीतकार नै, गायक त म झन् हुँदै होइन । केवल, मैले निरन्तर कोसिस गर्ने गरेको छु जनवादी गीतकार, सङ्गीतकार र गायक बन्न । मेरो विचारमा कोसिस गर्नु र कुशल गीतकार, सङ्गीतकार र गायक बन्नु बिल्कुल फरक कुरा हो । गीतसङ्गीतको कुरा गर्दा कस्तो गीतसङ्गीत ? किन गीतसङ्गीत ? कसका लागि गीतसङ्गीत ? यो निकै महत्त्वपूर्ण प्रश्न हो । यसको जवाफको खाँचो छ आज । गीतसङ्गीतमा पक्षधरता हुन्छ कि हुन्न ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो । के गीतसङ्गीतको आधार माया, प्रेम, यौन र रोमान्स मात्र हो ? जित, हार, दुःख, सुख, अँध्यारो, उज्यालो, उँच, नीच, समानता, असमानता, विभेद, आँसु, हाँसो, प्रकृति, विज्ञान, जीवन, जगत्, पानी, आगो, लडाइँ, क्रान्ति, देश, परिवर्तन आदिको गीतसङ्गीत हुन्न वा बन्दैन वा सकिँदैन ? यदि बन्छ भने त्यो किन ? कसका लागि ? कसले ? हो ! यसैले, मेरो रोजाइको मुख्य विषय पनि जनवादी गीतसङ्गीत नै बनेको हो वा परेको हो ।

मैले बारम्बार सोचिरहने विषय भनेको रामेश, रायन, जेबी टुहुरे, खुसीराम पाख्रीन र जीवन शर्माहरूजस्तै जीवनको उत्तराद्र्धसम्म जनताको गीतसङ्गीतमा टिकिरहन सक्छु कि सक्दिनँ होला ? उहाँहरू त एकढङ्गले यो परीक्षामा पास नै भइसक्नुभएको छ । तर, यो परीक्षामा म पास हुन सक्छु कि सक्दिनँ होला ? मेरो दिमागमा सधैँ उठिरहने एउटा ज्वलन्त प्रश्न यही हो । अन्य नयाँ पुस्ताका जनवादी सर्जकहरू पनि यो क्षेत्रमा लागिरहनुभएको छ, सबैप्रति सम्मान छ । अवश्य ! यो सजिलो छैन । यदि सजिलो हँदो हो त धेरै जनवादी कलाकारहरू यो क्षेत्रमा रजगज गरेर बसेको हुन्थे होलान् । कठीन छ तर अनिवार्य छ । किनकि, समाजमा वर्ग रहेसम्म वगसङ्घर्ष चलिरहन्छ । वर्गसङ्घर्ष चलिरहँदासम्म श्रमजीवी जनताका कलाकार हरूको सांस्कृतिक क्षेत्रमा योगदानहरूको भूमिका अनिवार्य आवश्यकता रहिरहन्छ । यसो भनिरहँदा जनवादी कलाकारहरूलाई राज्यले व्यवस्था गर्नुपर्दैन ? अवश्य पर्छ । तर, राज्य आफ्नो भए पो ? आफ्नाहरूका लागि केही गर्छ वा सोच्छ ? त्यसैले त हामीहरू आफ्नो राज्यसत्ता बनााउन कष्टपूर्वक भए पनि यो क्षेत्रमा टिकिरहनुपर्ने विषय आउँछ । हामी सबै जनवादी कलाकारहरूले सङ्घर्ष गर्नुपर्ने विषय उठ्छ ।

प्रस्तुत गीतिसङ्ग्रह सपनाका यात्रीमा २०५९ देखि आजसम्मका मेरो आफ्नै रचना, सङ्गीत भएको छानिएका गीतहरू र केही अन्य विद्वान् गीतकारहरूको शब्द–रचनामाथि सङ्गीतमा खेल्ने कोसिस गरेको छु । अवश्य तपाईंहरूको आवश्यक सुझाव, सल्लाह प्राप्त गर्ने कुराको निकै ठूलो अपेक्षा मात्र होइन; विश्वास राखेको छु ।

यस सन्दर्भमा जनवादी सर्जकहरू जो सहिद तथा बेपत्ता हुनुभयो, सबैप्रति उच्च स्मरण तथा सम्मान व्यक्त गर्न चाहन्छु । गीतिसङ्ग्रहमा निकै व्यस्त समयका बिच जनवादी गीतकार, सङ्गीतकार तथा नेपालको सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, हाम्रो जनप्रिय पार्टीका आदरणीय महासचिव तथा वरिष्ठ जनवादी गीतकार कमरेड विप्लव सी, वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार तथा गायक जीवन शर्मा, माधव प्रधान र मणि थापाहरूले शुभकामना, मन्तव्य र भूमिका लेखिदिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद भन्न चाहन्छु ।

विद्वान् जनवादी गीतकारहरू, गीतहरूमा आफ्नो कर्णप्रिय आवाज दिनुहुने जनवादी गायक गायिका, गीतहरूमा मीठो र कुशल सङ्गीत संयोजन (एरेन्ज) गरिदिनुहुने सबै, मन्त्रमुग्ध वाद्यबाधकमा सहयोग गर्नुहुने नेपालका वरिष्ठ वाद्यवाधकहरू, गीतहरूमा मीठो मिक्सिङ तथा मास्टरिङ गर्ने वरिष्ठ साउन्ड इन्जिनियरहरू सबै, रेकर्डिङ स्टुडियोहरू सबैलाई स्मरण गरिरहेको छु यो बेला । भाषा सम्पादनमा सहयोग गर्नुहुने लेखक तथा साहित्यकार खेम थपलिया, पुस्तकको डिजाइनमा महत्त्वपूर्ण योगदान दिनुहुने डिजाइनर अग्निराज पौडेल ‘अराप’, पुस्तक प्रकाशन गरेर तपाईंहरूको हात–हातमा पु¥याउन भूमिका खेल्ने जनप्रचार तथा प्रकाशन प्रा. लि.लाई हार्दिक धन्यवाद नदिइरहन कहाँ सक्छु र ! जनवादी कलाकार बनेर उत्पीडित समुदाय, वर्ग र राष्ट्रका लागि मरिमेट्ने सम्पूर्ण जनवादी कलाकारहरू सबैलाई सम्झिराखेको छु यो बेला । म आफू आबद्ध भएको जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिवसहित केन्द्रीय समिति र सिङ्गो पार्टी–पङ्क्ति, सङ्गीत अभियात्रा, सामना परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । 

अन्त्यमा, मेरो गीतसङ्गीतलाई माया गर्नुहुने, सुन्ने, मन पराउने, आवश्यक सुझाव सल्लाह दिनुहुने मेरा प्रिय न्यायप्रेमी जनसमुदाय, जसलाई म कहिल्यै भुल्न सक्दिनँ । मुख्यतः मेरो गीतसङ्गीतको यात्राको आत्मीय साथी तिनै श्रमिक जनसमुदाय हुन्, जसलाई म कहिल्यै आफ्नो जीवनबाट टाढा राख्न सक्दिनँ । मलाई जनवादी
गीतसङ्गीतको क्षेत्रमा लागिरहन ऊर्जा दिइरहने, सङ्घर्ष गर्न उत्पे्ररणा पैदा गरिरहन उत्साह दिइरहने आफ्नो जीवनको कुनै पर्वाह नगरेर पनि न्याय, समानताका लागि हातमा हात, काँधमा काँध मिलाउन तत्पर हुने मनहरू नै हुन् । जसले, आगामी दिनहरूमा पनि मेरो जनवादी गीतसङ्गीतको यात्रालाई अघि बढाउन मलजल गरिरहनेछन्, सबैप्रति हार्दिक आभार !

२१ फागुन, २०७९

शुभकामना


नन्द किशोर पुन
उपराष्ट्रपति 

जनवादी गीतसङ्गीतका सर्जक एवम् गायक चिरन पुनका रचना तथा सङ्गीतबद्ध गीतहरूको सङ्ग्रह ‘सपनाका यात्री’ कृतिका रूपमा प्रकाशन हुन लागेकोमा मलाई ज्यादै खुसी लागेको छ । ‘सपनाका यात्री’ को प्रकाशन सफलताको कामनासहित यो महत्त्वपूर्ण कृतिका लागि सर्जक चिरन पुनलाई बधाई दिन चाहन्छु ।

कलासाहित्य, गीतसङ्गीत, संस्कृति आदि मानवजातिकै मानक उत्पादन हुन् । जीवन जगत्का यथार्थलाई यिनले नै प्रारूपीकरण गर्छन् । यीबिना मानिस पशुतुल्य हुन्छ पनि भनिन्छ । साहित्यले समाजको चित्रण गर्दै विशेषतः सही दिशामा रूपान्तरण गर्न सक्नुपर्दछ । यो सधैँ अग्रगमन, परिवर्तन र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । नेपालको क्रान्ति तथा आन्दोलनमा जनवादी गीतसङ्गीतको ठूलो महत्त्व र भूमिका छ । 

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता परिवर्तन प्राप्तिको मुख्य  आधार जनयुद्धलाई अगाडि बढाउन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूको भूमिका ऐतिहासिक छ । उच्च मनोबल र बलिदानी भावका साथ युद्धमोर्चामा सहभागी हुन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूले प्रेरित गर्थे । क्रान्तिकारी विचार निर्माणका साथै वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य र मुक्ति तथा राष्ट्रिय स्वाधीनताका लागि निरन्तर लाग्न क्रान्तिकारी गीतसङ्गीतले नै प्रेरित गर्थे । आज जनवादी गीतसङ्गीत सिर्जनामा कमी आएको हो कि जस्तो लाग्छ । जबसम्म देशमा उत्पीडन र विभेद भइरहन्छ, सुदृढ राष्ट्रिय एकतासहित राष्ट्रिय स्वाधीनता बलियो हुँदैन, तबसम्म जनतालाई जागरुक बनाइराख्न जनवादी तथा देशभक्तिभावले ओतप्रोत गीतसङ्गीतको महत्त्व भइराख्दछ । यस अवस्थामा सर्जक चिरन पुनले जनवादी गीतहरूको सङ्ग्रह प्रकाशनमा ल्याउनु खुसीको कुरा हो । 

जनवादी गीतसङ्गीतमार्फत नेपालको राजनीतिक तथा सामाजिक रुपान्तरणमा चिरन पुनले पु¥याउनुभएको योगदान उच्च छ । जनवादी तथा देशभक्ति भावका गीतसङ्गीतको संरक्षण तथा प्रवद्र्धनमा समेत उहाँको ठूलो योगदान छ । म जनवादी गीतसङ्गीतको सिर्जना तथा गायनमार्फत देशको परिर्वतनमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दछु । 

अन्त्यमा, २०४९ सालदेखि २०७९ मङ्सिरसम्म चिरन पुनद्वारा रचना तथा सङ्गीतबद्ध छानिएका गीतहरूको प्रकाशनले नेपालको जनवादी गीतसङ्गीतको उत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु । महत्त्वपूर्ण कृति ‘सपनाका यात्री’ का लागि पुनः बधाईसहित जनवादी गीतसङ्गीत सिर्जना तथा गायन यात्राको उत्तरोत्तर प्रगतिको शुभकामना ।

धन्यवाद् ।
१९ फागुन, २०७९

जनवादी गीतसङ्गीत र गायनको त्रिवेणी


मणि थापा

जनप्रचार तथा प्रकाशन प्रा. लि.ले प्रकाशित गरेको सपनाका यात्री गीतिसङ्ग्रह हातमा परेको छ । यसका गीतकार÷सङ्गीतकार रहेका छन, आफ्नो नामको पछाडि आफ्नो जात होइन, सी लेख्ने चलन सुरु गरेका नेपाल कम्युनिस्ट पार्टीका चर्चित नेता, गायक, सङ्गीतकार र रचनाकार चिरन पुन ‘मिलन’ ‘मिलन’ ।

नेपाल कम्युनिस्ट आन्दोलनमा नयाँ–नयाँ प्रयोग हुँदै आएका छन् । राजनीतिको क्षेत्रमा होस् या गीतसङ्गीत र साहित्यमा होस्, नयाँ प्रयोग आफैँमा प्रगतिशील कुरा हो । त्यहीखालको प्रयोग सपनाका यात्रीमा पनि देखिन्छ । नेपालको समाज रूपान्तरण र परिवर्तनको आन्दोलनमा जनवादी गीतसङ्गीतको अहम् भूमिका छ । कैयौँ मानेमा यो राजनीतिक आन्दोलनभन्दा जेठो पनि छ । र, कम्युनिस्ट पार्टीलाई नीति, निमार्ण गर्न पनि गीतसङ्गीतको अहम् भूमिका पनि छ । जनतालाई जागरुक बनाउन, चेतना फैलाउने, पार्टी–सङ्गठनमा लाग्न अभिप्रेरित गर्ने दुःखमा जनवादी गीतसङ्गीत एउटा सशक्त माध्यम हो । अतः सबै कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक मोर्चा खोल्ने, त्यसमा लगानी गर्न े काम लामो समयदेखि हुँदै आएको छ । नेपालमा जति पनि जनआन्दोलनहरू भए, ती आन्दोलनमा  गीतसङ्गीत एउटा मुख्य पाटोको रूपमा रहेको छ ।

पछिल्लो कालखण्डको युद्ध, जनयुद्धमा रचना भएका सिर्जनाको हिसाबले, स्तरीयता, सरलता र लोकप्रियताको हिसाबले वा संस्थाको हिसाबले पनि धेरै गीतसङ्गीत निर्माण भएका छन् । जनयुद्धलाई उचाइमा पु¥याउन पनि गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेकै थियो । गीतसङ्गीत मात्र गीतसङ्गीत नभएर यो एउटा फौजी सङ्गठनमा रूपान्तरण भएको इतिहास पनि हामीकहाँ छ । अझ जनवादी गीतसङ्गीतको टे«न्ड नेपालमा सशक्त छ । कलाकारहरू पनि राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा स्थापित छन् । तर, कम्युनिस्ट आन्दोलनको विकास, फुट र विचलनसँगै गीतसङ्गीतमा पनि विभिन्न आरोह–अवरोह हुँदै आएको छ ।

पछिल्लो दशकमा जब नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार सरकारमा प्रवेश ग¥यो, तब जनवादी गीतसङ्गीतको आवश्यकता नभएको हो कि भन्ने अनुभूति पनि नभएको होइन । के जनवादी गीतसङ्गीत आन्दोलनको साधन मात्र हुन् ? तर, यसलाई आन्दोलनको शुभकामना साधनको साथै, सामाजिक जीवनको साधन पनि बनाउन प्रयत्न गर्नुपर्दछ; जो हुन सकिरहेको छैन । पछिल्लो समय माओवादी आन्दोलनले शान्तिप्रक्रियाको चरणमा आइसकेपछि जनवादी गीतसङ्गीत सुस्ताएको अनुभूति हुने गर्दछ । यो आन्दोलनको विषयभन्दा व्यक्तिको चाहना र रुचीको विषय बन्दै आएको जस्तो देखिन्छ । तर, यसलाई पछिल्लो चरणमा आन्दोलनको विषय बनाउने कुरा मुख्य हो र यो काम नेपाल कम्युनिस्ट पार्टी र संस्कृतिकर्मीहरू नयाँ शिराबाट जनवादी गीतसङ्गीतलाई अगाडि बढाउने प्रयत्न गरेको देखिन्छ । त्यसैको प्रतिफल हो, जनवादी गीतकार, सङ्गीतकार र गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ को सपनाका यात्री गीतिसङ्ग्रह ।

यो गीतिसङ्ग्रहमा अधिकांश चिरन पुन ‘मिलन’का गीतसङ्गीत र स्वर रहेको छ । पछिल्लो समय चिरन पुन ‘मिलन’ले जनवादी गीत, सङ्गीत र गायनलाई अभियानमा जोड्न र आन्दोलनको सशक्त औजार बनाउन निकै मिहिनेत गरेको देखिन्छ । जनवादी गीतसङ्गीत सुस्ताएको बेलामा सपनाका यात्री गीतिसङ्ग्रहले क्रान्ति, परिवर्तन, राष्ट्रियता, जनजीविकाको मुद्दामा सशक्त कलम चलाएको देखिन्छ । एक किसिमको जनवादी गीतसङ्गीतको औचित्यमाथि नै प्रश्न उठिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र चिरन पुन ‘मिलन’को प्रयत्न यसलाई पुनर्सङ्गठित गर्ने देखिएको छ । यो अत्यन्त राम्रो पक्ष हो ।

गीत लेखनका हिसाबले होस या त्यसलाई सङ्गीत गर्ने हिसाबले होस्; चिरन पुन ‘मिलन’को प्रयत्न जनवादी गीतसङ्गीतको धारालाई अझ परिमार्जन गर्दै जनप्रिय, लोकप्रिय र क्रान्तिकारी बनाउने देखिन्छ । गीत, सङ्गीत र गायन तीनवटै विधामा सशक्त चिरन पुन ‘ मिलन’बाट भविष्यमा धेरै आशा गर्न सकिन्छ । यो प्रकाशनले जनवादी गीतसङ्गीतको धारामा अर्को एउटा नयाँ ईंटा थपिएको अनुभूति गर्न सकिन्छ । यो खडेरिएको मौसममा बर्सात् पार्ने चिरन पुन ‘मिलन’को प्रयत्नलाई धेरै–धेरै धन्यवाद ।

जनवादी गीतकार तथा सङ्गीतकार
१६ फागुन २०७९

नेपाली जनसङ्गीतमा नयाँ सोपान


जीवन शर्मा

रक्तिम आकासबाट उदाएको एउटा नक्षत्र अहिले नेपाली साङ्गीतिक यात्राको दौडमा झन् तीब्र गतिका साथ जनताका गीतसङ्गीत सिर्जनामा तल्लीन छ । उसले लामो समयदेखि सांस्कृतिक क्षेत्रमा काम गर्दा अनेकौँ उहापोह व्यहोर्दै आएको छ । दुःख कष्ट, सजिलो अप्ठेरो मान, सम्मान, अपमान र धृणाका अनगिन्ती शृङ्खला पार गर्दै नेपाली समाजवादी यथार्थवादी धाराको फाँटमा उसले नयाँ–नयाँ साङ्गीतिक थुँगा फुलाउँदैछ । कहिले खुला र कहिले प्रतिबन्धित बाटाको अविश्रान्त यात्री बनेर नयाँ युगको बाटोमा दृढ पाइला चालिरहेको छ । उसका सिर्जनाले नयाँ–नयाँ प्रयोगमा खारिँदै जनताका बिचमा घर जमाउँदैछन । वर्गसङ्घर्ष र वर्गीय आन्दोलनमा यी कृतिले ठूलो योगदान दिइरहेका छन् । जनसङ्गीतको आकासमा चम्किरहेको त्यो एउटा होनाहार युवा हो चिरन पुन ‘मिलन’ । क्रान्तिकारी आन्दोलनमा सक्रिय हुँदा हुँदै पनि उनले निकै मिहिनेतका साथ साङ्गीतिक अभियान अगाडि बढाइरहेका छन् ।

राजनीतिक यात्राको गम्भीर जिम्मेवारी निर्वाह गर्दा गर्दै फुर्सदको समयलाई व्यवस्थित गरेर गीतरचना र सङ्गीत सिर्जनामार्फत नेपाली प्रगतिशीत सङ्गीतको फाँटलाई समृद्ध बनाउन चिरन पुन ‘मिलन’ले आफूलाई समर्पित गरिरहेका छन् । यसबाट नेपाली जनता र राष्ट्रलाई ठूलो सांस्कृतिक ऊर्जा मिलिरहेको छ । यसै सिलसिलामा उनले सपनाका यात्री नामक गीतिसङ्ग्रह प्रकाशित गर्दैछन । यस गीतिसङ्ग्रहमा उनले आफैँले सिर्जना गरेका र अन्य विद्वान्बाट रचना गरिएका एकसय तीसजति गीत सङ्गृहीत गरेका छन् ।   ती गीतमध्ये
सपनाका यात्री गीत सबैलाई सधैँलाई प्रेरणा दिने उत्साह बोकेको गीत छ । 
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन

यो गीत विप्लवद्वारा रचना गरिएको र चिरन पुनबाट सङ्गीतबद्ध गरिएको उत्कृट गीत हो । ‘थाप्लोमा नाम्लो’ भन्ने गीत पनि उत्तिकै मर्मस्पर्शी रहेको छ । सबै गीत समाजवादी यथार्थवादी धारामा सिर्जना गरिएका छन् । नेपाली जनताले चलाएका जनआन्दोलन र जनयुद्धका आलोकमा तयार गरिएका यी गीतले क्रान्तिकारी आन्दोलन र जनताका समस्यालाई राम्रोसँग जोडिदिएका छन् । त्यसै गरेर नेपाली राष्ट्रियतामाथि भइरहेको विदेशी हस्तक्षेप र छिमेकीबाट भइरहेको सिमाना सार्ने कामको पनि गीतमा प्रस्ट भावना समेटिएको छ ।
पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ

यस्तैगरी, वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ भन्ने भाव यत्रतत्र फैलिएको पाइन्छ । वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ र वर्गसङ्घर्ष चलिरहँदा जनवादी गीतसङ्गीतको महत्त्व पनि राष्ट्र, जनता र आन्दोलनमा महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई यो गीतिसङ्ग्रहले दह्रो गरी पकडेको छ ।
मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले फेरि भेटियो ।

यस्ता भावना बोकेका धेरै गीत छन् । यी गीतमा वर्गसङ्घर्षको उद्घोष छ । क्रान्तिकारी आन्दोलनको आगो छ । जनतालाई क्रान्तिको बाटोमा हिँड्न चाहिने ऊर्जा प्रशस्त छ । नेपालीलाई अन्तहीन साम्राज्यवादी चपेटामा जकड्याउने खेलका विरुद्ध सशक्त आवाज बोकेको गीत हो, सपनाका यात्री । यो गीत अहिले नेपाली राष्ट्रियताको पक्षमा उभिएको एउटा दरिलो साङ्गीतिक खम्बा हो । साम्राज्यवादी शक्तिहरूले नेपाललाई आफ्नो क्रीडास्थल
बनाउन लागिपरेको यो समयमा यो गीतले नेपालीलाई चनाखो रहिरहन उत्प्रेरित गरिरहेको हुन्छ । ‘तिमीलाई खोज्दै’ शीर्षकको गीत पनि उत्तिकै सुन्दर छ । नारायण दङ्गालले रचना गरेको यो गीतलाई चिरन पुनले निकै सुन्दर भाका दिएका छन् । एउटा क्रान्तिकारी योद्धाले आफ्नो आस्थाको कलाकारलाई खोज्दै हिँडेको अनुभूति यसमा समेटिएको छ ।

समग्रमा यो गीतिसङ्ग्रह नेपाल राष्ट्र र नेपाली जनताको आवाज बोकेको एउटा सुन्दर कृति हो । नेपाली जनसाङ्गीतिक आकासमा यसले राम्रो सांस्कृतिक खजाना थपिदिएको छ । धेरैजसो गीत चिरन पुनले रचना गर्नुभएको छ । त्यसबाहेक विप्लव, प्रकाण्ड, नारायण दङ्गाल, प्रकाश शाही, प्रेम सी, धर्मेन्द्र बास्तोला, कृष्णहरि भट्ट, हरि नेपाली, ओम पुन, दीपक चलाउने, सन्तोष बुढा, मोहनलाल चन्द, विजयराज प्यासी आदिका रचना पनि सामेल गरिएको छ । सबै गीत सर्वहारावर्गीय सांस्कृतिक आन्दोलको प्रकाशले चम्किएका छन् । सपनाका यात्री नामकरण गरिएको यस सङ्ग्रहले नेपाली प्रगतिशील फाँटमा देखा परेको खडेरीमा साङ्गीतिक बर्षाको काम गर्नेछ । पुस्तकको रूपमा यो गीतिसङ्ग्रह बाहिर आउँदै छ । किताब पढ्ने स्रोताले यसभित्रका गीत पनि यु–ट्युबमा हेरेर क्रान्तिकारी विचारलाई अरू सुदृढ पार्नुहुनेछ । चिरन पुनका यस्ता प्रयासको सर्वतोमुखी सफलताको कामना ।

जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१४ फागुन, २०७९ा

जनताका लागि आत्मीय कोशेली


माधव प्रधान

जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ द्वारा रचना तथा सङ्गीतबद्ध गीतहरूको सँगालो गीतिसङ्ग्रह सपनाका यात्री चिरन पुन ‘मिलन’ मिलनको अथक मिहिनेतबाट प्रगतिशील गीतहरूको सङ्ग्रह देश र जनताको मुक्तिका लागि वर्गसङ्घर्षमा हाँसी–हाँसी बलिदान गर्ने महान् सहिद तथा योद्धाहरूमा समर्पण गर्दै तयार गरिएको कृतिमाथि मेरो सर्वप्रथम हार्दिक शुभकामना ।

निकै मिहिनेतबाट तयार गरिएको प्रगतिशील गीतहरू देश र जनताका लागि आत्मीय कोशेली बनिरहनेछ भन्ने विश्वास राख्न चाहन्छु । चिरन पुन ‘मिलन’ले लेख्नुभएको प्रगतिशील÷जनवादी गीतहरूमध्ये ‘थाप्लोमा थोत्रे टोपी’, ‘रोकेर कहाँ रोकिन्छ र क्रान्ति’, ‘पलपल रसाएका’, ‘जहा दमन हुन्छ’ जस्ता गीतहरूले जनवादी भावनालाई प्रशस्त मात्रामा पोखेको पाइन्छ । समग्र सबै गीतहरू जनवादी÷प्रगतिशील तथा देशभक्ति भावनाले ओतप्रोत भएका छन् ।

नेपाली जनतालाई शोषण, दमन, अन्याय, अत्याचारबाट मुक्त दिलाउन सक्छ र जनतालाई सचेत र आन्दोलित पार्न सक्छ भन्ने मलाई लागेको छ । यो गीतिसङ्ग्रहले नयाँ पुस्तालाई प्रगतिशील, जनवादी गीतबारे नयाँ ज्ञान र चेतना प्रदान गर्न सफल रहनेछ भन्ने लागेको छ । चिरन पुन ‘मिलन’को प्रगतिशील÷जनवादी गीतिरचना र सङ्गीत साधना कर्म निरन्तर अगाडि बढिरहोस् भन्ने विश्वाससहित मेरो हार्दिक शुभकामना ।


जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१५ फागुन, २०७९

सरल, जीवन्त र यथार्थ गीतसङ्गीत

विप्लव सी
हामीले जनयुद्धको भग्नावेशबाट एकीकृत जनक्रान्तिको झिल्को निकालेपछि कमरेड चिरन सीसँग सहकार्य आरम्भ भयो । आठ वर्षको सहयात्रामा उहाँसँग राजनीतिक मोर्चामा मात्र होइन, गीतसङ्गीत अर्थात् सांस्कृतिक मोर्चामा पनि नजिक रहेर काम गर्ने अवसर मिल्यो । भरखरै उहाँका गीतहरूको सँगालो सपनाका यात्री पढ्न पाएँ । यसमा २०४९ सालदेखि एकीकृत जनक्रान्तिसम्मका गीतहरू सङ्गृहीत रहेछन् । औधी खुसी लाग्यो ।
जनताका गीतहरूका लागि कमरेड चिरन सीलाई धन्यवाद ।

चिरन पुन ‘मिलन’ धेरै परिचय गाउनुपर्ने नाम होइन । उहाँ युवा अवस्थामै कम्युनिस्ट पार्टीमा आबद्ध भएर हालसम्म सङ्घर्षरत हुनुहुन्छ । युवा सङ्गठनमा काम गरेदेखि पार्टी र सांस्कृतिक मोर्चामा काम गरेका उहाँका आफ्नै कैयौँ अनुभव छन् । यतिबेला उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । कमरेड चिरनलाई धेरैले चिन्दा नेताका रूपमा मात्र होइन; गीतकार, सङ्गीतकार, गायकका रूपमा पनि चिन्छन्, जो जायज नै छ । उहाँका गीतहरू यतिबेला हाम्रा घर भान्सा, खेल, यात्रा र कार्यक्रमहरूमा बजिरहेका छन् । ती सरल, जीवन्त र यथार्थ लाग्छन् ।

गीतसङ्गीतमा मान्छेलाई जीवन दिने एउटा बेग्लै तागत हुन्छ, जो राजनीतिमा हुँदैन । मान्छेलाई उठाउने, जुटाउने, सक्रिय बनाउने र टिकाउनेमा गीतले छुट्टै भूमिका पूरा गर्छ । कमरेडका गीतले पनि यो काम गरिरहेका छन् । सपनाका यात्री सङ्ग्रहका गीतहरूमा क्रान्ति, सहिद, बेपत्ता, घाइते, किसान, मजदुर, युवा, विद्यार्थी, देश धेरै चीज छन् । ती हाम्रा जीवनका प्रतिबिम्ब हुन् । तिनले हाम्रो समाजभित्रका विचार, विद्रोह, आशालाई उठाएका
छन् । ती जनताका बिचमा बजिरहनेछन् ।

हामीले क्रान्तिलाई गीतमा र गीतलाई क्रान्तिमा बदलिरहनुपर्छ । हामीले नेपाल फेर्नु छ, समाज फेर्नु छ र मान्छेलाई फेर्नु छ । फेरिएको स्तरलाई निरन्तर विकास गर्दै लानु छ । त्यो भनेको पनि निरन्तर रूपान्तरण गर्नु हो । त्यो एकीकृत जनक्रान्तिलाई सफल पार्नु पनि हो । दलाल पुँजीवादलाई अन्त्य गरेर नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु र साम्यवादतिर अगाडि बढ्नु हो । कमरेड चिरन पुन ‘मिलन’ले आउँदा दिनमा पनि गीतसङ्गीत र गायनको क्षेत्रबाट समेत यसलाई पूरा गर्दै जानुहुनेछ भन्ने आशा र कामना छ । उहाँलाई धेरै धेरै शुभकामना ।

महासचिव
नेपाल कम्युनिस्ट पार्टी
१५ फागुन, २०७९
 

Friday, May 13, 2022

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जबसले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य कमरेड चिरन पुन ‘मिलन’ द्धारा २०७८ माघ २५ मा काठमाण्डौ प्रस्तुत आधार नोट । 
चिरन पुन ‘मिलन’
विषय प्रवेश 
निकै महत्त्वपूर्ण र जनसरोकारको विषयका सन्दर्भमा आज हामी छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठीन र जटिल मोडमा छ । एकातिर राष्ट्रिय स्वाधीनताको सवाल निकै सङ्गीन बनेको छ भने अर्कोतिर जनजीविकाको सवाल निकै निर्मम, सङ्कटग्रस्त र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । चौतर्फी मूल्यवृद्धि, जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगी नै छ । अनेकौँ काण्डहरूले गर्दा मुलुक बर्बादीको दिशातर्फ कुदिरहेको छ । देशमा लुटपाट, हत्या, हिंसा, बलात्कारले सीमा नाघेको छ । लाखौँ युवाहरू विदेश पलायन, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षा झनै कष्टपूर्ण र दयनीय बन्दै गएको छ । यो परिवेशमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसहरूको आयोजना सम्पन्न हुन लागिरहेको यो अन्तरक्रिया कार्यक्रम निकै महत्त्वपूर्ण र समय सान्दर्भिक बन्नेछ । निकै प्रवुद्ध, अध्ययनशील र ज्ञाता अतिथिवक्ताज्यूहरूको आवश्यक दृष्टिकोण र सुझावहरूले अवश्य यो अन्तरक्रिया कार्यक्रमलाई झनै सार्थक र आन्दोलनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेनै छ । 

‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ 
आजको मुख्य विषय यही हो । नेपाल आयल निगम लि. केन्द्रीय कार्यालय, टेकु, काठमाण्डौले अन्तिम मिति २०७८ माघ १८ गते निगमका सहप्रवक्ता पुष्कर कार्कीको हस्ताक्षरमा प्रेस विज्ञप्ति नै जारी गरेर अन्तिमपटक पेट्रोलियम पदार्थमा निर्धक्क मूल्यवृद्धि ग¥यो र मङ्गलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको बिक्रीमूल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु. १० बढाएको छ, आदि आदि । यसको सन्दर्भमा नेपाल आयल निगमको तर्फबाट आफ्नो धारण यहाँ पनि प्रस्तुत गर्नु हुने नै छ । पेट्रोलियम पदार्थमाथि भएको यो मूल्यवृद्धिले राष्ट्र र नागरिक जनजीविकाको बहुआयामिक पक्षहरूसँग पुगेर स्वतः टकराउने छ । यसको मारले चौतर्फी क्षेत्र प्रभावित हुने नै छन् । यो सही छ कि छैन ? स्वाभाविक रूपमा यसले कैयौँ प्रश्नहरू उठान गराएको छ । 
(१) के पेट्रोलियम पदार्थमाथि वेपर्वाह यस प्रकारको मूल्यवृद्धि अनिवार्य नै भएको हो ? 
(२) अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन गर्दा यस प्रकारको अवस्था सिर्जना गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएकै हो ? 
(३) के आजको अवस्थामा एक सरकारी व्यापारिक संस्थाहरूले जहिल्यै घाटा व्यहोर्नुपर्ने र त्यसको बोझ जनताले खेप्नुपर्ने नै हुन्छ ? 
(४) के यस प्रकारको मूल्यवृद्धिमा चुवाहट, बिचौलिया चलखेल, भ्रष्टाचार, कमिसनखोर, तस्करी, कालोबजारियाहरूको कुनै भूमिका छैन ? 
(५) यस प्रकारको अवस्था सिर्जना हुन दलाल पुँजीवादी राज्यसत्ताको गैरजिम्मेवार नागरिक नीतिको कुनै भूमिका रहँदैन ? 
(६) के यस प्रकारको मूल्यवृद्धि हुनुमा निगमका कर्मचारीहरूको दैनिक भत्ता, मासिक भत्ता, वार्षिक भत्ता, औषधी भत्ता, भ्रमण भत्ता, सुरक्षा भत्ता, टेक्निसियन र हेल्पर भत्ता, बिरामी भत्ता, चाडपर्व भत्ता, पोसाक भत्ता, घर भत्ता, खाजा भत्ता, यातायात भत्ता, पेट्रोलियम जोखिम भत्ता सुनिनसक्नु भत्तैभत्ताको कुनै भूमिका छैन ? 
(७) के यस प्रकारको मूल्यवृद्धि हुनुमा आयल निगमका कर्मचारीहरूलाई वर्षैपिच्छे बाँडिने बोनसले कुनै भूमिका खेलेको छैन ? 
(८) के यस प्रकारको मूल्यवृद्धिमा खरिद मूल्य, करसहितको कुल लागत, बिक्री मूल्य र नाफा–घाटाको असमान अवस्थाको विवरण हेर्दा त्यहाँ कुनै चलखेलको भूमिका छैन ? (अर्थात् गत १५ मङ्सिरमा नेपाल आयल निगमले तयार पारेको विवरणअनुसार रु. ७६.३३ मा किनेको १ लिटर पेट्रोललाई रु. १३६ मा बिक्री गर्दा, वा रु. ७६.५५ मा किनेको १ लिटर डिजललाई रु. ११९ मा बिक्री गर्दासमेत राष्ट्र र आयल निगमलाई घाटा र जनतालाई सास्ती हुनुको कारक र छुपेरुस्तम तत्त्व कुन र के हो ?) । 
(९) कार्यसम्पन्न गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै यो वर्ष २०७८ मा मात्रै १ लिटर पेट्रोललाई वैशाख ४ मा रु. १२१, जेठ २ गते रु. १२३, जेठ २२ गते रु. १२५, असार ९ गते रु. १२७, असार २२ गते रु. १२९, भदौ ७ गते रु. १३०, कात्तिक १२ गते रु. १३३, कात्तिक २५ गते १३६ र माघ १८ गते रु. १४२ मा र १ लिटर मट्टीतललाई त्यसैगरी वैशाख ४ गते रु. १०४, जेठ २ गते रु. १०६, जेठ २२ गते रु. १०८, असार ९ गते ११०, असार २२ गते रु. ११२, भदौ ७ गते रु. ११३, कात्तिक १२ गते रु. ११६, कात्तिक २५ गते रु. ११९ र माघ १८ गते १२५ हुनेगरी र त्यसै अनुपातमा अन्य पेट्रोलियम पदार्थहरूलाई बिक्री गर्ने सरकार र आयल निगमको गैरजिम्मेवार तरिका र दुनियाँलाई चकित पार्ने कार्यशैली के स्वाभाविक र वस्तुपरक छ वा देखिन्छन् ? 
(१०) आयल निगमबाट राज्य वा सरकार सञ्चालकहरूलाई सिधै कमिसन, भाकबण्डा वा आर्थिक चलखेलले के कति प्रभाव पारेको छ र त्यसको भूमिका मूल्यवृद्धिमा पर्छ वा पर्दैन ? 
(११) के पेट्रोलियम पदार्थमा सस्तो मार्केट, कच्चा पदार्थहरूको आफैँ आयात र तेलको उत्पादन गर्ने प्रक्रियाको सुरुआत, कतिपय कम्पनीहरूमा उठाइने शुल्क आदिलाई राज्यले जिम्मेवार ढङ्गले भूमिका खेल्ने कुराले यो स्थितिमा सुधार आउन नसक्ने नै अवस्था किन बन्छ होला ? 
(१२) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा राज्य र दायित्व, सरकार र जनताको सुव्यवस्था, सरकार सञ्चालन गर्ने पार्टी र नागरिकप्रति खेल्नुपर्ने भूमिका र उत्तरदायित्व मरेतुल्य, मूकदर्शक, गैरजिम्मेवार, दलाल र बिचौलिया प्रकारको भूमिकाले कुनै अर्थ र महत्त्व राख्नुपर्दैन ? 
(१३) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा साम्राज्यवादी दलाल अर्थनीति र संसारभर सञ्चालित कर्पोरेट पुँजीवादको कुनै भूमिका छैन ? 
(१४) के यसो हुनुमा मानवीय संवेदनशीलता, सामाजिक नैतिकता र सामाजिक आचरण मानवीय अनुशासन सम्पूर्णरूपमा मरिसकेको अवस्थामा पुगेकै हो ?
(१५) पेट्रोलियम पदार्थको विकल्पहरू छन् वा छैनन् ? त्यसतर्फ सम्बन्धित पक्ष र निकायको ध्यान छ वा छैन ? न्युनीकरणका विकल्पहरूको खोजी गर्नुपर्छ वा पर्दैन ? आदि विषयसमेत आउँछन् । 
त्यसैले, यस्ता अनेकौँ प्रश्नहरूको उत्तर वा हल जनताले खोज्नुपर्ने आवश्यकता छ कि छैन ? यसमा नागरिक र जिम्मेवार राजनीतिक पार्टीहरू त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिका मूकदर्शक बन्छ कि बन्दैन ? त्यसो गर्नु सही हुन्छ कि हुँदैन ? यस प्रकारको गतिविधिमा राज्यको मूकदर्शकपन के सही हो ? आकासिँदो मूल्यवृद्धिलाई तत्काल खारेज गर्न माथि उल्लिखित विषयहरूमा सुधार वा सच्चाएर वा देखिएका उल्लिखित विकृतिहरूलाई अन्त्य गरेर वा उत्तरदायित्वमा जिम्मेवार बन्न र बढेको मूल्यवृद्धिलाई खारेज गर्न उपयुक्त हुन्छ कि हुँदैन ? 
यस्तो गैरजिम्मेवार राज्यव्यवस्था, अनुत्तरदायी राज्यको अर्थनीतिको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था र वैज्ञानिक समाजवादी अर्थनीतिको माग गर्नु असान्दर्भिक र अवस्तुवादी दृष्टिकोण हुन्छ र ? यथास्थितिवादमा देखिएको र भोगिएको प्रणाली र नीतिहरूलाई आमूल परिवर्तन गरेर नयाँ, वैज्ञानिक र जनउत्तरदायी निकासको सन्दर्भमा छलफल गर्नु र दृष्टिकोण राख्नु के अनुचित हुन्छ र ? यथास्थितिवादी समस्याहरूलाई हल गर्न वैज्ञानिक र अग्रगामी निकासको सम्भावनाबारे छलफल गर्नु अपरोध हो र ? वा, आजको सान्दर्भिक आवश्यकता त्यही हो ? यो नै आजको महत्त्वपूर्ण विषय हुन् । ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ बारेमा छलफल गर्दा आजको ज्वलन्त प्रश्न यही हो । यसैभित्र उपयुक्त निकासका सम्भावना छन् । 

 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।