Sunday, September 3, 2023

शुभकामना


नन्द किशोर पुन
उपराष्ट्रपति 

जनवादी गीतसङ्गीतका सर्जक एवम् गायक चिरन पुनका रचना तथा सङ्गीतबद्ध गीतहरूको सङ्ग्रह ‘सपनाका यात्री’ कृतिका रूपमा प्रकाशन हुन लागेकोमा मलाई ज्यादै खुसी लागेको छ । ‘सपनाका यात्री’ को प्रकाशन सफलताको कामनासहित यो महत्त्वपूर्ण कृतिका लागि सर्जक चिरन पुनलाई बधाई दिन चाहन्छु ।

कलासाहित्य, गीतसङ्गीत, संस्कृति आदि मानवजातिकै मानक उत्पादन हुन् । जीवन जगत्का यथार्थलाई यिनले नै प्रारूपीकरण गर्छन् । यीबिना मानिस पशुतुल्य हुन्छ पनि भनिन्छ । साहित्यले समाजको चित्रण गर्दै विशेषतः सही दिशामा रूपान्तरण गर्न सक्नुपर्दछ । यो सधैँ अग्रगमन, परिवर्तन र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । नेपालको क्रान्ति तथा आन्दोलनमा जनवादी गीतसङ्गीतको ठूलो महत्त्व र भूमिका छ । 

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता परिवर्तन प्राप्तिको मुख्य  आधार जनयुद्धलाई अगाडि बढाउन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूको भूमिका ऐतिहासिक छ । उच्च मनोबल र बलिदानी भावका साथ युद्धमोर्चामा सहभागी हुन क्रान्तिकारी गीतसङ्गीत र कलाकारहरूले प्रेरित गर्थे । क्रान्तिकारी विचार निर्माणका साथै वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य र मुक्ति तथा राष्ट्रिय स्वाधीनताका लागि निरन्तर लाग्न क्रान्तिकारी गीतसङ्गीतले नै प्रेरित गर्थे । आज जनवादी गीतसङ्गीत सिर्जनामा कमी आएको हो कि जस्तो लाग्छ । जबसम्म देशमा उत्पीडन र विभेद भइरहन्छ, सुदृढ राष्ट्रिय एकतासहित राष्ट्रिय स्वाधीनता बलियो हुँदैन, तबसम्म जनतालाई जागरुक बनाइराख्न जनवादी तथा देशभक्तिभावले ओतप्रोत गीतसङ्गीतको महत्त्व भइराख्दछ । यस अवस्थामा सर्जक चिरन पुनले जनवादी गीतहरूको सङ्ग्रह प्रकाशनमा ल्याउनु खुसीको कुरा हो । 

जनवादी गीतसङ्गीतमार्फत नेपालको राजनीतिक तथा सामाजिक रुपान्तरणमा चिरन पुनले पु¥याउनुभएको योगदान उच्च छ । जनवादी तथा देशभक्ति भावका गीतसङ्गीतको संरक्षण तथा प्रवद्र्धनमा समेत उहाँको ठूलो योगदान छ । म जनवादी गीतसङ्गीतको सिर्जना तथा गायनमार्फत देशको परिर्वतनमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दछु । 

अन्त्यमा, २०४९ सालदेखि २०७९ मङ्सिरसम्म चिरन पुनद्वारा रचना तथा सङ्गीतबद्ध छानिएका गीतहरूको प्रकाशनले नेपालको जनवादी गीतसङ्गीतको उत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु । महत्त्वपूर्ण कृति ‘सपनाका यात्री’ का लागि पुनः बधाईसहित जनवादी गीतसङ्गीत सिर्जना तथा गायन यात्राको उत्तरोत्तर प्रगतिको शुभकामना ।

धन्यवाद् ।
१९ फागुन, २०७९

जनवादी गीतसङ्गीत र गायनको त्रिवेणी


मणि थापा

जनप्रचार तथा प्रकाशन प्रा. लि.ले प्रकाशित गरेको सपनाका यात्री गीतिसङ्ग्रह हातमा परेको छ । यसका गीतकार÷सङ्गीतकार रहेका छन, आफ्नो नामको पछाडि आफ्नो जात होइन, सी लेख्ने चलन सुरु गरेका नेपाल कम्युनिस्ट पार्टीका चर्चित नेता, गायक, सङ्गीतकार र रचनाकार चिरन पुन ‘मिलन’ ‘मिलन’ ।

नेपाल कम्युनिस्ट आन्दोलनमा नयाँ–नयाँ प्रयोग हुँदै आएका छन् । राजनीतिको क्षेत्रमा होस् या गीतसङ्गीत र साहित्यमा होस्, नयाँ प्रयोग आफैँमा प्रगतिशील कुरा हो । त्यहीखालको प्रयोग सपनाका यात्रीमा पनि देखिन्छ । नेपालको समाज रूपान्तरण र परिवर्तनको आन्दोलनमा जनवादी गीतसङ्गीतको अहम् भूमिका छ । कैयौँ मानेमा यो राजनीतिक आन्दोलनभन्दा जेठो पनि छ । र, कम्युनिस्ट पार्टीलाई नीति, निमार्ण गर्न पनि गीतसङ्गीतको अहम् भूमिका पनि छ । जनतालाई जागरुक बनाउन, चेतना फैलाउने, पार्टी–सङ्गठनमा लाग्न अभिप्रेरित गर्ने दुःखमा जनवादी गीतसङ्गीत एउटा सशक्त माध्यम हो । अतः सबै कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक मोर्चा खोल्ने, त्यसमा लगानी गर्न े काम लामो समयदेखि हुँदै आएको छ । नेपालमा जति पनि जनआन्दोलनहरू भए, ती आन्दोलनमा  गीतसङ्गीत एउटा मुख्य पाटोको रूपमा रहेको छ ।

पछिल्लो कालखण्डको युद्ध, जनयुद्धमा रचना भएका सिर्जनाको हिसाबले, स्तरीयता, सरलता र लोकप्रियताको हिसाबले वा संस्थाको हिसाबले पनि धेरै गीतसङ्गीत निर्माण भएका छन् । जनयुद्धलाई उचाइमा पु¥याउन पनि गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेकै थियो । गीतसङ्गीत मात्र गीतसङ्गीत नभएर यो एउटा फौजी सङ्गठनमा रूपान्तरण भएको इतिहास पनि हामीकहाँ छ । अझ जनवादी गीतसङ्गीतको टे«न्ड नेपालमा सशक्त छ । कलाकारहरू पनि राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा स्थापित छन् । तर, कम्युनिस्ट आन्दोलनको विकास, फुट र विचलनसँगै गीतसङ्गीतमा पनि विभिन्न आरोह–अवरोह हुँदै आएको छ ।

पछिल्लो दशकमा जब नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार सरकारमा प्रवेश ग¥यो, तब जनवादी गीतसङ्गीतको आवश्यकता नभएको हो कि भन्ने अनुभूति पनि नभएको होइन । के जनवादी गीतसङ्गीत आन्दोलनको साधन मात्र हुन् ? तर, यसलाई आन्दोलनको शुभकामना साधनको साथै, सामाजिक जीवनको साधन पनि बनाउन प्रयत्न गर्नुपर्दछ; जो हुन सकिरहेको छैन । पछिल्लो समय माओवादी आन्दोलनले शान्तिप्रक्रियाको चरणमा आइसकेपछि जनवादी गीतसङ्गीत सुस्ताएको अनुभूति हुने गर्दछ । यो आन्दोलनको विषयभन्दा व्यक्तिको चाहना र रुचीको विषय बन्दै आएको जस्तो देखिन्छ । तर, यसलाई पछिल्लो चरणमा आन्दोलनको विषय बनाउने कुरा मुख्य हो र यो काम नेपाल कम्युनिस्ट पार्टी र संस्कृतिकर्मीहरू नयाँ शिराबाट जनवादी गीतसङ्गीतलाई अगाडि बढाउने प्रयत्न गरेको देखिन्छ । त्यसैको प्रतिफल हो, जनवादी गीतकार, सङ्गीतकार र गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ को सपनाका यात्री गीतिसङ्ग्रह ।

यो गीतिसङ्ग्रहमा अधिकांश चिरन पुन ‘मिलन’का गीतसङ्गीत र स्वर रहेको छ । पछिल्लो समय चिरन पुन ‘मिलन’ले जनवादी गीत, सङ्गीत र गायनलाई अभियानमा जोड्न र आन्दोलनको सशक्त औजार बनाउन निकै मिहिनेत गरेको देखिन्छ । जनवादी गीतसङ्गीत सुस्ताएको बेलामा सपनाका यात्री गीतिसङ्ग्रहले क्रान्ति, परिवर्तन, राष्ट्रियता, जनजीविकाको मुद्दामा सशक्त कलम चलाएको देखिन्छ । एक किसिमको जनवादी गीतसङ्गीतको औचित्यमाथि नै प्रश्न उठिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र चिरन पुन ‘मिलन’को प्रयत्न यसलाई पुनर्सङ्गठित गर्ने देखिएको छ । यो अत्यन्त राम्रो पक्ष हो ।

गीत लेखनका हिसाबले होस या त्यसलाई सङ्गीत गर्ने हिसाबले होस्; चिरन पुन ‘मिलन’को प्रयत्न जनवादी गीतसङ्गीतको धारालाई अझ परिमार्जन गर्दै जनप्रिय, लोकप्रिय र क्रान्तिकारी बनाउने देखिन्छ । गीत, सङ्गीत र गायन तीनवटै विधामा सशक्त चिरन पुन ‘ मिलन’बाट भविष्यमा धेरै आशा गर्न सकिन्छ । यो प्रकाशनले जनवादी गीतसङ्गीतको धारामा अर्को एउटा नयाँ ईंटा थपिएको अनुभूति गर्न सकिन्छ । यो खडेरिएको मौसममा बर्सात् पार्ने चिरन पुन ‘मिलन’को प्रयत्नलाई धेरै–धेरै धन्यवाद ।

जनवादी गीतकार तथा सङ्गीतकार
१६ फागुन २०७९

नेपाली जनसङ्गीतमा नयाँ सोपान


जीवन शर्मा

रक्तिम आकासबाट उदाएको एउटा नक्षत्र अहिले नेपाली साङ्गीतिक यात्राको दौडमा झन् तीब्र गतिका साथ जनताका गीतसङ्गीत सिर्जनामा तल्लीन छ । उसले लामो समयदेखि सांस्कृतिक क्षेत्रमा काम गर्दा अनेकौँ उहापोह व्यहोर्दै आएको छ । दुःख कष्ट, सजिलो अप्ठेरो मान, सम्मान, अपमान र धृणाका अनगिन्ती शृङ्खला पार गर्दै नेपाली समाजवादी यथार्थवादी धाराको फाँटमा उसले नयाँ–नयाँ साङ्गीतिक थुँगा फुलाउँदैछ । कहिले खुला र कहिले प्रतिबन्धित बाटाको अविश्रान्त यात्री बनेर नयाँ युगको बाटोमा दृढ पाइला चालिरहेको छ । उसका सिर्जनाले नयाँ–नयाँ प्रयोगमा खारिँदै जनताका बिचमा घर जमाउँदैछन । वर्गसङ्घर्ष र वर्गीय आन्दोलनमा यी कृतिले ठूलो योगदान दिइरहेका छन् । जनसङ्गीतको आकासमा चम्किरहेको त्यो एउटा होनाहार युवा हो चिरन पुन ‘मिलन’ । क्रान्तिकारी आन्दोलनमा सक्रिय हुँदा हुँदै पनि उनले निकै मिहिनेतका साथ साङ्गीतिक अभियान अगाडि बढाइरहेका छन् ।

राजनीतिक यात्राको गम्भीर जिम्मेवारी निर्वाह गर्दा गर्दै फुर्सदको समयलाई व्यवस्थित गरेर गीतरचना र सङ्गीत सिर्जनामार्फत नेपाली प्रगतिशीत सङ्गीतको फाँटलाई समृद्ध बनाउन चिरन पुन ‘मिलन’ले आफूलाई समर्पित गरिरहेका छन् । यसबाट नेपाली जनता र राष्ट्रलाई ठूलो सांस्कृतिक ऊर्जा मिलिरहेको छ । यसै सिलसिलामा उनले सपनाका यात्री नामक गीतिसङ्ग्रह प्रकाशित गर्दैछन । यस गीतिसङ्ग्रहमा उनले आफैँले सिर्जना गरेका र अन्य विद्वान्बाट रचना गरिएका एकसय तीसजति गीत सङ्गृहीत गरेका छन् ।   ती गीतमध्ये
सपनाका यात्री गीत सबैलाई सधैँलाई प्रेरणा दिने उत्साह बोकेको गीत छ । 
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन

यो गीत विप्लवद्वारा रचना गरिएको र चिरन पुनबाट सङ्गीतबद्ध गरिएको उत्कृट गीत हो । ‘थाप्लोमा नाम्लो’ भन्ने गीत पनि उत्तिकै मर्मस्पर्शी रहेको छ । सबै गीत समाजवादी यथार्थवादी धारामा सिर्जना गरिएका छन् । नेपाली जनताले चलाएका जनआन्दोलन र जनयुद्धका आलोकमा तयार गरिएका यी गीतले क्रान्तिकारी आन्दोलन र जनताका समस्यालाई राम्रोसँग जोडिदिएका छन् । त्यसै गरेर नेपाली राष्ट्रियतामाथि भइरहेको विदेशी हस्तक्षेप र छिमेकीबाट भइरहेको सिमाना सार्ने कामको पनि गीतमा प्रस्ट भावना समेटिएको छ ।
पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ

यस्तैगरी, वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ भन्ने भाव यत्रतत्र फैलिएको पाइन्छ । वर्ग रहुञ्जेल वर्गसङ्घर्ष चलिरहन्छ र वर्गसङ्घर्ष चलिरहँदा जनवादी गीतसङ्गीतको महत्त्व पनि राष्ट्र, जनता र आन्दोलनमा महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई यो गीतिसङ्ग्रहले दह्रो गरी पकडेको छ ।
मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले फेरि भेटियो ।

यस्ता भावना बोकेका धेरै गीत छन् । यी गीतमा वर्गसङ्घर्षको उद्घोष छ । क्रान्तिकारी आन्दोलनको आगो छ । जनतालाई क्रान्तिको बाटोमा हिँड्न चाहिने ऊर्जा प्रशस्त छ । नेपालीलाई अन्तहीन साम्राज्यवादी चपेटामा जकड्याउने खेलका विरुद्ध सशक्त आवाज बोकेको गीत हो, सपनाका यात्री । यो गीत अहिले नेपाली राष्ट्रियताको पक्षमा उभिएको एउटा दरिलो साङ्गीतिक खम्बा हो । साम्राज्यवादी शक्तिहरूले नेपाललाई आफ्नो क्रीडास्थल
बनाउन लागिपरेको यो समयमा यो गीतले नेपालीलाई चनाखो रहिरहन उत्प्रेरित गरिरहेको हुन्छ । ‘तिमीलाई खोज्दै’ शीर्षकको गीत पनि उत्तिकै सुन्दर छ । नारायण दङ्गालले रचना गरेको यो गीतलाई चिरन पुनले निकै सुन्दर भाका दिएका छन् । एउटा क्रान्तिकारी योद्धाले आफ्नो आस्थाको कलाकारलाई खोज्दै हिँडेको अनुभूति यसमा समेटिएको छ ।

समग्रमा यो गीतिसङ्ग्रह नेपाल राष्ट्र र नेपाली जनताको आवाज बोकेको एउटा सुन्दर कृति हो । नेपाली जनसाङ्गीतिक आकासमा यसले राम्रो सांस्कृतिक खजाना थपिदिएको छ । धेरैजसो गीत चिरन पुनले रचना गर्नुभएको छ । त्यसबाहेक विप्लव, प्रकाण्ड, नारायण दङ्गाल, प्रकाश शाही, प्रेम सी, धर्मेन्द्र बास्तोला, कृष्णहरि भट्ट, हरि नेपाली, ओम पुन, दीपक चलाउने, सन्तोष बुढा, मोहनलाल चन्द, विजयराज प्यासी आदिका रचना पनि सामेल गरिएको छ । सबै गीत सर्वहारावर्गीय सांस्कृतिक आन्दोलको प्रकाशले चम्किएका छन् । सपनाका यात्री नामकरण गरिएको यस सङ्ग्रहले नेपाली प्रगतिशील फाँटमा देखा परेको खडेरीमा साङ्गीतिक बर्षाको काम गर्नेछ । पुस्तकको रूपमा यो गीतिसङ्ग्रह बाहिर आउँदै छ । किताब पढ्ने स्रोताले यसभित्रका गीत पनि यु–ट्युबमा हेरेर क्रान्तिकारी विचारलाई अरू सुदृढ पार्नुहुनेछ । चिरन पुनका यस्ता प्रयासको सर्वतोमुखी सफलताको कामना ।

जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१४ फागुन, २०७९ा

जनताका लागि आत्मीय कोशेली


माधव प्रधान

जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन ‘मिलन’ ‘मिलन’ द्वारा रचना तथा सङ्गीतबद्ध गीतहरूको सँगालो गीतिसङ्ग्रह सपनाका यात्री चिरन पुन ‘मिलन’ मिलनको अथक मिहिनेतबाट प्रगतिशील गीतहरूको सङ्ग्रह देश र जनताको मुक्तिका लागि वर्गसङ्घर्षमा हाँसी–हाँसी बलिदान गर्ने महान् सहिद तथा योद्धाहरूमा समर्पण गर्दै तयार गरिएको कृतिमाथि मेरो सर्वप्रथम हार्दिक शुभकामना ।

निकै मिहिनेतबाट तयार गरिएको प्रगतिशील गीतहरू देश र जनताका लागि आत्मीय कोशेली बनिरहनेछ भन्ने विश्वास राख्न चाहन्छु । चिरन पुन ‘मिलन’ले लेख्नुभएको प्रगतिशील÷जनवादी गीतहरूमध्ये ‘थाप्लोमा थोत्रे टोपी’, ‘रोकेर कहाँ रोकिन्छ र क्रान्ति’, ‘पलपल रसाएका’, ‘जहा दमन हुन्छ’ जस्ता गीतहरूले जनवादी भावनालाई प्रशस्त मात्रामा पोखेको पाइन्छ । समग्र सबै गीतहरू जनवादी÷प्रगतिशील तथा देशभक्ति भावनाले ओतप्रोत भएका छन् ।

नेपाली जनतालाई शोषण, दमन, अन्याय, अत्याचारबाट मुक्त दिलाउन सक्छ र जनतालाई सचेत र आन्दोलित पार्न सक्छ भन्ने मलाई लागेको छ । यो गीतिसङ्ग्रहले नयाँ पुस्तालाई प्रगतिशील, जनवादी गीतबारे नयाँ ज्ञान र चेतना प्रदान गर्न सफल रहनेछ भन्ने लागेको छ । चिरन पुन ‘मिलन’को प्रगतिशील÷जनवादी गीतिरचना र सङ्गीत साधना कर्म निरन्तर अगाडि बढिरहोस् भन्ने विश्वाससहित मेरो हार्दिक शुभकामना ।


जनवादी गीतकार, सङ्गीतकार तथा गायक
१५ फागुन, २०७९

सरल, जीवन्त र यथार्थ गीतसङ्गीत

विप्लव सी
हामीले जनयुद्धको भग्नावेशबाट एकीकृत जनक्रान्तिको झिल्को निकालेपछि कमरेड चिरन सीसँग सहकार्य आरम्भ भयो । आठ वर्षको सहयात्रामा उहाँसँग राजनीतिक मोर्चामा मात्र होइन, गीतसङ्गीत अर्थात् सांस्कृतिक मोर्चामा पनि नजिक रहेर काम गर्ने अवसर मिल्यो । भरखरै उहाँका गीतहरूको सँगालो सपनाका यात्री पढ्न पाएँ । यसमा २०४९ सालदेखि एकीकृत जनक्रान्तिसम्मका गीतहरू सङ्गृहीत रहेछन् । औधी खुसी लाग्यो ।
जनताका गीतहरूका लागि कमरेड चिरन सीलाई धन्यवाद ।

चिरन पुन ‘मिलन’ धेरै परिचय गाउनुपर्ने नाम होइन । उहाँ युवा अवस्थामै कम्युनिस्ट पार्टीमा आबद्ध भएर हालसम्म सङ्घर्षरत हुनुहुन्छ । युवा सङ्गठनमा काम गरेदेखि पार्टी र सांस्कृतिक मोर्चामा काम गरेका उहाँका आफ्नै कैयौँ अनुभव छन् । यतिबेला उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । कमरेड चिरनलाई धेरैले चिन्दा नेताका रूपमा मात्र होइन; गीतकार, सङ्गीतकार, गायकका रूपमा पनि चिन्छन्, जो जायज नै छ । उहाँका गीतहरू यतिबेला हाम्रा घर भान्सा, खेल, यात्रा र कार्यक्रमहरूमा बजिरहेका छन् । ती सरल, जीवन्त र यथार्थ लाग्छन् ।

गीतसङ्गीतमा मान्छेलाई जीवन दिने एउटा बेग्लै तागत हुन्छ, जो राजनीतिमा हुँदैन । मान्छेलाई उठाउने, जुटाउने, सक्रिय बनाउने र टिकाउनेमा गीतले छुट्टै भूमिका पूरा गर्छ । कमरेडका गीतले पनि यो काम गरिरहेका छन् । सपनाका यात्री सङ्ग्रहका गीतहरूमा क्रान्ति, सहिद, बेपत्ता, घाइते, किसान, मजदुर, युवा, विद्यार्थी, देश धेरै चीज छन् । ती हाम्रा जीवनका प्रतिबिम्ब हुन् । तिनले हाम्रो समाजभित्रका विचार, विद्रोह, आशालाई उठाएका
छन् । ती जनताका बिचमा बजिरहनेछन् ।

हामीले क्रान्तिलाई गीतमा र गीतलाई क्रान्तिमा बदलिरहनुपर्छ । हामीले नेपाल फेर्नु छ, समाज फेर्नु छ र मान्छेलाई फेर्नु छ । फेरिएको स्तरलाई निरन्तर विकास गर्दै लानु छ । त्यो भनेको पनि निरन्तर रूपान्तरण गर्नु हो । त्यो एकीकृत जनक्रान्तिलाई सफल पार्नु पनि हो । दलाल पुँजीवादलाई अन्त्य गरेर नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु र साम्यवादतिर अगाडि बढ्नु हो । कमरेड चिरन पुन ‘मिलन’ले आउँदा दिनमा पनि गीतसङ्गीत र गायनको क्षेत्रबाट समेत यसलाई पूरा गर्दै जानुहुनेछ भन्ने आशा र कामना छ । उहाँलाई धेरै धेरै शुभकामना ।

महासचिव
नेपाल कम्युनिस्ट पार्टी
१५ फागुन, २०७९
 

Friday, May 13, 2022

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जबसले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य कमरेड चिरन पुन ‘मिलन’ द्धारा २०७८ माघ २५ मा काठमाण्डौ प्रस्तुत आधार नोट । 
चिरन पुन ‘मिलन’
विषय प्रवेश 
निकै महत्त्वपूर्ण र जनसरोकारको विषयका सन्दर्भमा आज हामी छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठीन र जटिल मोडमा छ । एकातिर राष्ट्रिय स्वाधीनताको सवाल निकै सङ्गीन बनेको छ भने अर्कोतिर जनजीविकाको सवाल निकै निर्मम, सङ्कटग्रस्त र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । चौतर्फी मूल्यवृद्धि, जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगी नै छ । अनेकौँ काण्डहरूले गर्दा मुलुक बर्बादीको दिशातर्फ कुदिरहेको छ । देशमा लुटपाट, हत्या, हिंसा, बलात्कारले सीमा नाघेको छ । लाखौँ युवाहरू विदेश पलायन, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षा झनै कष्टपूर्ण र दयनीय बन्दै गएको छ । यो परिवेशमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसहरूको आयोजना सम्पन्न हुन लागिरहेको यो अन्तरक्रिया कार्यक्रम निकै महत्त्वपूर्ण र समय सान्दर्भिक बन्नेछ । निकै प्रवुद्ध, अध्ययनशील र ज्ञाता अतिथिवक्ताज्यूहरूको आवश्यक दृष्टिकोण र सुझावहरूले अवश्य यो अन्तरक्रिया कार्यक्रमलाई झनै सार्थक र आन्दोलनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेनै छ । 

‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ 
आजको मुख्य विषय यही हो । नेपाल आयल निगम लि. केन्द्रीय कार्यालय, टेकु, काठमाण्डौले अन्तिम मिति २०७८ माघ १८ गते निगमका सहप्रवक्ता पुष्कर कार्कीको हस्ताक्षरमा प्रेस विज्ञप्ति नै जारी गरेर अन्तिमपटक पेट्रोलियम पदार्थमा निर्धक्क मूल्यवृद्धि ग¥यो र मङ्गलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको बिक्रीमूल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु. १० बढाएको छ, आदि आदि । यसको सन्दर्भमा नेपाल आयल निगमको तर्फबाट आफ्नो धारण यहाँ पनि प्रस्तुत गर्नु हुने नै छ । पेट्रोलियम पदार्थमाथि भएको यो मूल्यवृद्धिले राष्ट्र र नागरिक जनजीविकाको बहुआयामिक पक्षहरूसँग पुगेर स्वतः टकराउने छ । यसको मारले चौतर्फी क्षेत्र प्रभावित हुने नै छन् । यो सही छ कि छैन ? स्वाभाविक रूपमा यसले कैयौँ प्रश्नहरू उठान गराएको छ । 
(१) के पेट्रोलियम पदार्थमाथि वेपर्वाह यस प्रकारको मूल्यवृद्धि अनिवार्य नै भएको हो ? 
(२) अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन गर्दा यस प्रकारको अवस्था सिर्जना गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएकै हो ? 
(३) के आजको अवस्थामा एक सरकारी व्यापारिक संस्थाहरूले जहिल्यै घाटा व्यहोर्नुपर्ने र त्यसको बोझ जनताले खेप्नुपर्ने नै हुन्छ ? 
(४) के यस प्रकारको मूल्यवृद्धिमा चुवाहट, बिचौलिया चलखेल, भ्रष्टाचार, कमिसनखोर, तस्करी, कालोबजारियाहरूको कुनै भूमिका छैन ? 
(५) यस प्रकारको अवस्था सिर्जना हुन दलाल पुँजीवादी राज्यसत्ताको गैरजिम्मेवार नागरिक नीतिको कुनै भूमिका रहँदैन ? 
(६) के यस प्रकारको मूल्यवृद्धि हुनुमा निगमका कर्मचारीहरूको दैनिक भत्ता, मासिक भत्ता, वार्षिक भत्ता, औषधी भत्ता, भ्रमण भत्ता, सुरक्षा भत्ता, टेक्निसियन र हेल्पर भत्ता, बिरामी भत्ता, चाडपर्व भत्ता, पोसाक भत्ता, घर भत्ता, खाजा भत्ता, यातायात भत्ता, पेट्रोलियम जोखिम भत्ता सुनिनसक्नु भत्तैभत्ताको कुनै भूमिका छैन ? 
(७) के यस प्रकारको मूल्यवृद्धि हुनुमा आयल निगमका कर्मचारीहरूलाई वर्षैपिच्छे बाँडिने बोनसले कुनै भूमिका खेलेको छैन ? 
(८) के यस प्रकारको मूल्यवृद्धिमा खरिद मूल्य, करसहितको कुल लागत, बिक्री मूल्य र नाफा–घाटाको असमान अवस्थाको विवरण हेर्दा त्यहाँ कुनै चलखेलको भूमिका छैन ? (अर्थात् गत १५ मङ्सिरमा नेपाल आयल निगमले तयार पारेको विवरणअनुसार रु. ७६.३३ मा किनेको १ लिटर पेट्रोललाई रु. १३६ मा बिक्री गर्दा, वा रु. ७६.५५ मा किनेको १ लिटर डिजललाई रु. ११९ मा बिक्री गर्दासमेत राष्ट्र र आयल निगमलाई घाटा र जनतालाई सास्ती हुनुको कारक र छुपेरुस्तम तत्त्व कुन र के हो ?) । 
(९) कार्यसम्पन्न गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै यो वर्ष २०७८ मा मात्रै १ लिटर पेट्रोललाई वैशाख ४ मा रु. १२१, जेठ २ गते रु. १२३, जेठ २२ गते रु. १२५, असार ९ गते रु. १२७, असार २२ गते रु. १२९, भदौ ७ गते रु. १३०, कात्तिक १२ गते रु. १३३, कात्तिक २५ गते १३६ र माघ १८ गते रु. १४२ मा र १ लिटर मट्टीतललाई त्यसैगरी वैशाख ४ गते रु. १०४, जेठ २ गते रु. १०६, जेठ २२ गते रु. १०८, असार ९ गते ११०, असार २२ गते रु. ११२, भदौ ७ गते रु. ११३, कात्तिक १२ गते रु. ११६, कात्तिक २५ गते रु. ११९ र माघ १८ गते १२५ हुनेगरी र त्यसै अनुपातमा अन्य पेट्रोलियम पदार्थहरूलाई बिक्री गर्ने सरकार र आयल निगमको गैरजिम्मेवार तरिका र दुनियाँलाई चकित पार्ने कार्यशैली के स्वाभाविक र वस्तुपरक छ वा देखिन्छन् ? 
(१०) आयल निगमबाट राज्य वा सरकार सञ्चालकहरूलाई सिधै कमिसन, भाकबण्डा वा आर्थिक चलखेलले के कति प्रभाव पारेको छ र त्यसको भूमिका मूल्यवृद्धिमा पर्छ वा पर्दैन ? 
(११) के पेट्रोलियम पदार्थमा सस्तो मार्केट, कच्चा पदार्थहरूको आफैँ आयात र तेलको उत्पादन गर्ने प्रक्रियाको सुरुआत, कतिपय कम्पनीहरूमा उठाइने शुल्क आदिलाई राज्यले जिम्मेवार ढङ्गले भूमिका खेल्ने कुराले यो स्थितिमा सुधार आउन नसक्ने नै अवस्था किन बन्छ होला ? 
(१२) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा राज्य र दायित्व, सरकार र जनताको सुव्यवस्था, सरकार सञ्चालन गर्ने पार्टी र नागरिकप्रति खेल्नुपर्ने भूमिका र उत्तरदायित्व मरेतुल्य, मूकदर्शक, गैरजिम्मेवार, दलाल र बिचौलिया प्रकारको भूमिकाले कुनै अर्थ र महत्त्व राख्नुपर्दैन ? 
(१३) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा साम्राज्यवादी दलाल अर्थनीति र संसारभर सञ्चालित कर्पोरेट पुँजीवादको कुनै भूमिका छैन ? 
(१४) के यसो हुनुमा मानवीय संवेदनशीलता, सामाजिक नैतिकता र सामाजिक आचरण मानवीय अनुशासन सम्पूर्णरूपमा मरिसकेको अवस्थामा पुगेकै हो ?
(१५) पेट्रोलियम पदार्थको विकल्पहरू छन् वा छैनन् ? त्यसतर्फ सम्बन्धित पक्ष र निकायको ध्यान छ वा छैन ? न्युनीकरणका विकल्पहरूको खोजी गर्नुपर्छ वा पर्दैन ? आदि विषयसमेत आउँछन् । 
त्यसैले, यस्ता अनेकौँ प्रश्नहरूको उत्तर वा हल जनताले खोज्नुपर्ने आवश्यकता छ कि छैन ? यसमा नागरिक र जिम्मेवार राजनीतिक पार्टीहरू त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिका मूकदर्शक बन्छ कि बन्दैन ? त्यसो गर्नु सही हुन्छ कि हुँदैन ? यस प्रकारको गतिविधिमा राज्यको मूकदर्शकपन के सही हो ? आकासिँदो मूल्यवृद्धिलाई तत्काल खारेज गर्न माथि उल्लिखित विषयहरूमा सुधार वा सच्चाएर वा देखिएका उल्लिखित विकृतिहरूलाई अन्त्य गरेर वा उत्तरदायित्वमा जिम्मेवार बन्न र बढेको मूल्यवृद्धिलाई खारेज गर्न उपयुक्त हुन्छ कि हुँदैन ? 
यस्तो गैरजिम्मेवार राज्यव्यवस्था, अनुत्तरदायी राज्यको अर्थनीतिको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था र वैज्ञानिक समाजवादी अर्थनीतिको माग गर्नु असान्दर्भिक र अवस्तुवादी दृष्टिकोण हुन्छ र ? यथास्थितिवादमा देखिएको र भोगिएको प्रणाली र नीतिहरूलाई आमूल परिवर्तन गरेर नयाँ, वैज्ञानिक र जनउत्तरदायी निकासको सन्दर्भमा छलफल गर्नु र दृष्टिकोण राख्नु के अनुचित हुन्छ र ? यथास्थितिवादी समस्याहरूलाई हल गर्न वैज्ञानिक र अग्रगामी निकासको सम्भावनाबारे छलफल गर्नु अपरोध हो र ? वा, आजको सान्दर्भिक आवश्यकता त्यही हो ? यो नै आजको महत्त्वपूर्ण विषय हुन् । ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ बारेमा छलफल गर्दा आजको ज्वलन्त प्रश्न यही हो । यसैभित्र उपयुक्त निकासका सम्भावना छन् । 

 

Friday, December 10, 2021

राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका

आधार पत्र 
कमरेड मिलन, 
केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी तथा फ्र्याक्सन इन्चार्ज, नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ । 
प्रकासन ः 
Eratokhabar.com २०७८ मङ्सिर, विहिवार,  २३ काठमाण्डौ । Janakhabar.com २०७८ मङ्सिर, विहिवार,  २३ काठमाण्डौ । Janabato.com  २०७८ मङ्सिर, विहिवार,  २३ वुटवल । 

राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कमरेड, उपस्थित अतिथि, पत्रकार, आयोजक, तथा सहभागी सम्पूर्णमा नेपाल कम्युनिस्ट पार्टी र आफ्नो तर्फबाट हार्दिक अभिवादन !

















 प्रारम्भिकी 
आज हामी यो निकै महत्त्वपूर्ण विषयका सन्दर्भमा छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठीन र जटिल मोडमा छ ।  मुलुक सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेपछि नेपाली जनताको निकै ठूला आशा र अपेक्षाहरू थिए तर, जनताका ती आशा, अपेक्षाहरूमाथि बज्रपात भएको छ । जनताका जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । मूल्यवृद्धि असीमितरूपमा किनिनसक्नु गरी बढेको छ । जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगी छ । अनेकौँ अशोभनीय काण्डहरूले गर्दा मुलुक बर्बादीको दिशातर्फ लम्किरहेको छ । देशको लुटपाट, हत्या, हिंसा, बलात्कारले सीमा नाघेको छ । लाखौँ युवाहरू विदेश पलायन भइरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षा कष्टपूर्ण र दयनीय अवस्थामा छ । राष्ट्रिय स्वाधीनताको विषयले नेपाली जनतालाई निकै चिन्तित बनाएको छ । विभिन्न साम्राज्यवादी देशहरूले नेपालको भू–राजनीतिक÷रणनीतिक अवस्थामा नियमित आँखा गाडिरहेको यो ज्वलन्त परिवेशमा यो खेलप्रिय सङ्गठन नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै महत्त्वपूर्ण र समय सान्दर्भिक छ । आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

खेलकुुद क्षेत्र 
मानिसको जीवनमा खेलकुदको भूमिका निकै महत्त्वपूर्ण छ र हुन्छ । अथवा खेलबिनाको जीवन अपूरो हुन्छ । त्यसैले नै होला, ब्यानरको मूलभागमा नै ‘सबैका लागि खेलकुद’ क्उयचतक ायच बिि लेखिएको छ । यो नाराले भन्न खोजेको पनि त्यही होला कि खेलकुदबिनाको जीवन पानीबिनाको माछाजस्तै बन्छ । यो कुरा सही छ । खेलकुद क्षेत्रको कुरा गर्दा पाँचवटा जीवनको चर्चा गर्न आवश्यक हुन्छ ः 
    एक ः खेलको जीवन 
    दोस्रो ः खेलाडीको जीवन 
    तेस्रो ः खेलकुद क्षेत्रमा राष्ट्रको जीवन 
    चौथो ः यी जीवनहरूमा वास्तविक जीवन खोज्ने जीवन 
    पाँचौँ ः राज्यको दरिलो अङ्ग वा खम्बा बन्ने र बनाउने जीवन । 
एक ः खेलको जीवनको कुरा गर्दा हाम्रो देशमा करिब ६ दशक पुगेको छ । खेलको जीवनलाई रक्तसञ्चार  बनाउने उद्देश्यसहित २०१५ सालमा राष्ट्रिय खेलकुद परिषद्को गठन भएको हो । तर, यसको जीवन निकै अन्योलग्रस्त, सङ्कटग्रस्त, अपूरो, अधुरो, निम्छरो र साँच्चै भन्नुपर्दा कहालिलाग्दो अवस्थामा तातेताते अघि बढिरहेको छ । यो संरचना वा यो खेल जीवनको नीति वा यो ढङ्गले हाम्रो देशको खेलजीवनलाई अघि बढाउन सकिँदैन र यसले खेल जीवनमा कुनै निकास पनि दिन सकिँदैन । यस्तो अवस्थामा जससम्म राज्यले ‘खेलको जीवनमा राष्ट्रको जीवन’ देख्न सक्दैन, तबसम्म यो जीवनको रूपान्तरण हुन पनि सक्दैन । 

दुई ः यसमा दोस्रो महत्त्वपूर्ण विषय भनेको खेलाडीको जीवनको प्रश्न हो । ‘खेलाडीको जीवन बचे मात्र खेलको जीवन बच्छ, खेलको जीवन बचे मात्र राष्ट्रको जीवन बच्छ’ भन्ने मान्यतालाई राज्यले मूल विषय बनाउनुपर्दछ । जब आज खेलाडीको जीवन छैन अनि कसरी खेलक्षेत्र अघि बढ्न सक्छ त ? खेलाडीको हरेक अङ्गहरू बाँधिएका छन् वा अन्धकारमा छन्् वा हरेक अङ्गहरूले काम गर्न छोडेका छन्, न यसको कुनै भविष्य छ ? न उपचार छ ?  न यसले कुनै जीवनमा रङ भर्न सक्छ, न यसले यो जीवनलाई जीवनको रूपमा चित्रण गर्न सक्छ भने कसरी खेलाडीको जीवनले सार्थकता पाउँछ त ? अनि कसरी यो क्षेत्रले राष्ट्रको नामलाई विश्वसामु चम्काउन सक्छ त ? अनि कसरी राष्ट्रको झन्डा उचाल्ने हातहरू बलियो बन्न सक्छ त ? 

तीन ः खेलकुद क्षेत्रमा राष्ट्रको जीवन के छ ? भन्ने विषय निकै महत्त्वपूर्ण विषय हो । यो जीवनको कुरा गर्दा यसलाई जन्माउने, यसलाई हुर्काउने, यसलाई स्वस्थकर बनाउने, यसलाई शिक्षा, स्वास्थ्य, रोजगार र यसको सामाजिक जीवनलाई उर्बर र हराभरा बनाउने मुख्य भूमिका राज्यको हो । जब राज्य आफैँ सिकिस्त बिरामी छ भने यो जीवन कसरी चल्न सक्छ ? यो जीवन कसरी प्रभावकारी बन्न सक्छ ? यसो हो भने राष्ट्रको यो जीवनलाई बदल्नुपर्छ कि पर्दैन ? अवश्य बदल्नुपर्दछ । 

चार ः यी जीवनमा वास्तविक जीवन खोज्ने हो भने जीवनलाई बुझ्ने राज्यसंरचनाको आवश्यकता हुन्छ । राज्यको खेलकुद क्षेत्रमा सही नीति र योजनाको आवश्यक हुन्छ । यसलाई सामान्यतः यसरी सूचीकृत गर्न सकिन्छ ः 
पहिलो ः राज्य सही हुन आवश्यकता छ । 
 दोस्रो ः राज्यको खेलकुद क्षेत्रमा सही नीति र योजना बन्न आवश्यकता छ । 
 तेस्रो ः हरेक खेलका पूर्वाधारको आवश्यकतालाई पूरा गर्नुपर्दछ । 
 चौथो ः मुलुकभर खेलकुद रङ्गशाला, खेल केन्द्रहरूको स्थापना र परिचालनको आवश्यकता रहन्छ । 
 पाँचौँ ः  नियमित प्रशिक्षण, खेल प्रतियोगिताहरू राज्यको तर्फबाट सञ्चालन हुन आवश्यकता छ ।     त्यसमा वैज्ञानिक विधि पद्धतिलाई पक्रिनुपर्दछ । 
छैटौँ ः खेलकुदमा भाग लिने, जित्ने खेलाडीहरूलाई उचित सम्मान र पुरस्कार, अभिलेख आदिको व्यवस्था हुन आवश्यकता छ । 
सातौँ ः आज विश्वस्तरमा विकास भएको विज्ञान प्रविधिसहित खेलकुद क्षेत्र भन्ने नीतिलाई लागु गर्नुपर्दछ । 
आठौँ ः खेलकुद क्षेत्र र नीति निकै वैज्ञानिक, वस्तुपरक, समयसापेक्ष र आमूल परिवर्तनकारी हुन आवश्यकता छ । 
नवौँ ः यो क्षेत्रमा हुने व्यक्तिवाद, नातावाद, कृपावाद, पार्टीवाद, चाकडीवाद, झोलेवाद, भ्रष्टाचार, कमिसनखोर, तस्करीको समूल अन्त्य हुन आवश्यकता छ । पहुँच हुनेको दुवै हात मुखमा नहुनेको दुवै हात गोजीमा भन्ने मान्यतालई खारेज गर्नुपर्दछ । 
दसौँ ः खेलकुद क्षेत्रलाई शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र उन्नत र वैज्ञानिक जीवनसँग जोडेर लैजान अनिवार्य छ । 
एघारौँ ः ‘खेलकुदमा वैज्ञानिक, नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने नारालाई सार्थकता दिन आवश्यकता छ । त्यसका लागि वर्तमान दलाल पुँजीवादी राज्यसत्ताको रूपान्तरण र बर्खास्ती अनिवार्य छ । त्यसको स्थानमा वैज्ञानिक समाजवादी खेलकुद नीतिको प्रारम्भ हुनुपर्दछ । 

पाँच ः खेलकुद क्षेत्र भनेको जीवनको पुँजी हो । अर्थात् यो राष्ट्रको पहिचान–दाता हो । किनकि, यसले सिङ्गो जीवनलाई बोकेको हुन्छ वा यसले सिङ्गो राष्ट्रलाई बोकेको हुन्छ । अन्यायमा बोल्न सक्ने चेत बोकेको हुन्छ । राष्ट्रलाई सङ्कट पर्दा भिड्न सक्ने सचेतना बोकेको हुन्छ । दमन, उत्पीडन, राष्ट्रघात, जनघात हुँदा बोल्न सक्दैन, अनुहार रातो बनाउन सक्दैन, खाँचो परेको बेलामा मैदानमा उत्रन सक्दैन भने के खेलाडी ? के खेल क्षेत्र ? त्यो त दासी र दम्भी भइहाल्यो नि ! आज राष्ट्र सङ्कटमा छ । खेलक्षेत्र सङ्कटमा छ । खेलाडीको जीवन सङ्कटमा छ । जनजीविका सङ्कटमा छ । यस्तो अवस्थामा हामी सबै खेलक्षेत्र, खेलाडीहरू राष्ट्र बचाउन उठ्नु र जुट्नुपर्ने आवश्यकता छ । 

राष्ट्रिय स्वाधीनताको विषय 
राष्ट्रिय स्वाधीनताको कुरा गर्दा एकातिर विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या र ठूलो अर्थतन्त्र भएको देश चीन छ भने अर्कोतिर विश्वकै सबैभन्दा दोस्रो ठूलो जनसङ्ख्या र आफूलाई अर्थतन्त्रमा पनि क्रमशः अघि बढाइरहेको अर्को देश भारत छ । भू–परिवेष्ठित अवस्थामा हाम्रो देश नेपाल अवस्थित रहेको छ । आजको  विश्व राजनीतिक अवस्था र साम्राज्यवादी रणनीतिहरूलाई हेर्दा सामरिक, भौगोलिक तथा रणनीतिक हिसाबले हाम्रो देश निकै महत्त्वपूर्ण अवस्थामा अवस्थित छ । त्यसैले गर्दा विश्वका आफूलाई ठुला र महाशक्ति ठान्ने साम्राज्यवादी शक्तिहरूले जहिले पनि हाम्रो मुलुकमाथि गिद्देदृष्टि लगाउँदै आइरहेका छन् । देशको अस्थिर र दलाल संसदवादी राज्यव्यवस्था र कुर्सी तथा आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने सरकार र दलाल राज्यसत्ताका मतियारहरूको गलत, बेइमान र स्वार्थसिद्ध नीति र दृष्टिकोणका कारणले गर्दा विभिन्न साम्राज्यवादी मुलुकहरूको गलत र षड्यन्त्रमूलक भूमिकालाई टेवा दिने र मलजल गर्ने प्रवृत्तिका कारणले गर्दा हाम्रो देशका स्वाधीनतामाथि बारम्बार हस्तक्षेप, षड्यन्त्रका तानाबाना बुन्न साम्राज्यवादीहरू लागिपरेका छन् । 
 
मूलतः सन् १८१६ को सुगौली सन्धि तथा सन् १९५० को असमान सन्धि र त्यसयता राष्ट्र र जनताको हितविपरीत भएका गलत राष्ट्रघाती र जनघाती सन्धि–सम्झौताहरू नेपालको सार्भभौम अधिकारका लागि मुख्य बाधक बनेर आएको कुरा सबैलाई प्रस्ट र छर्लङ्गै छ । त्यसयता कैैयौँ राष्ट्रघाती तथा जनघाति सन्धि–सम्झौताहरू गरिएको छ । जसको कारणले गर्दा नेपालको राष्ट्रिय स्वाधीनतामाथि बारम्बार सङ्कट पैदा हुँदै आएको छ । साम्राज्यवादीहरूको आर्थिक, राजनीतिक, सामाजिक, रणनीतिक सैन्य र आणविक होडबाजीको षड्यन्त्रहरूका कारणले गर्दा हाम्रो देशको सामरिक, राजनीतिक, भौगोलिक तथा सम्पूर्ण क्षेत्रमा हस्तक्षेप हुँदै आएको र त्यसको प्रत्यक्ष असर हामी र हाम्रो देशले भोग्नुपरिरहेको कुरा घामजस्तै छर्लङ्गै छ । पछिल्लो समयमा एमसीसीको चर्चा निकै जोडतोडले चलेको छ । यसका पक्ष–विपक्षमा बहसहरू चलेका छन् । यो ठीक हो वा होइन, यसले राष्ट्रिय हित गर्छ वा गर्दैन, यसले नेपालको राष्ट्रिय स्वाधीनतामाथि के असर पार्दछ भन्ने विषयमा बहस केन्द्रित भइरहेको आजको सन्दर्भमा अवश्य यो विषय महत्त्वपूर्ण हुन्छ । त्यसैले सङ्क्षिप्त यसका विषयमा केही सन्दर्भ प्रस्तुत गरिएको छ ः 

एमसीसी र स्वाधीनता 
एमसीसी ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ को सन्दर्भमा भन्नु पर्दा यसको छलफल सन् २०११ बाट सुरु भएको हो । सन् २०१२ मा नेपाललाई छनौट गरेर एमसीसी परियोजनामार्फत् अघि बढ्ने षड्यन्त्र गरियो । 
१. हस्ताक्षर मिति ः सन् २०१७ सेप्टेम्बर १४ 
२. हस्ताक्षरकर्ता ः तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक सीईयो जोनाथन नासले वासिङ्टनमा हस्ताक्षर गरे ।  
३. लगानी ः अमेरिकाले ५० करोड ९५ लाख अमेरिकी डलर र नेपालले १३ करोड अमेरिकी डलर खर्च गर्ने योजना बनाइयो । 
४. लगानीको क्षेत्र ः सडकको स्तरोन्नतिमा (५.२ करोड), विद्युत उत्पादन र प्रसारण ३०५ किमी (४० करोड) र ट्रान्समिसन लाइनको जडान (लप्सीफेदीदेखि रातामाटा, रातामाटादेखि हेटौंडा, रातामाटादेखि दमौली, दमौलीदेखि बुटवल, बुटवलदेखि सुनौली सिमानासम्म) गर्ने भनिएको । 

(क) अमेरिकी रणनीति 
१. हिन्दप्रशान्त रणनीतिको साझेदारी संस्थाको रूपमा लागु गर्ने उद्देश्य । 
२. हिन्द प्रशान्त क्षेत्रमा १० ठुला सैन्य शक्ति भएका देशहरूमध्ये ७ वटा देशहरू (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, फिलिपिन्स, सिङ्गापुर) लगायतको क्षेत्रमा अमेरिकाले आफ्नो सेना राखेको सन्दर्भ जगजाहेर छन् । 
३ लाख ७५ हजार सेना तैनाथी गरेको छ । 
२ हजारभन्दा धेरै लडाकु विमान । 
२ सयभन्दा धेरै जल सैनिक पानीजहाज । 
प्रशान्त महासागरको हवाईटापुमा आईपीएस सेनाको हेडक्वार्टर राखिएको छ । 
ग्लोबल पिस अपरेसनका नाममा जापान, दक्षिण कोरिया, मङ्गोलिया, भियतनाम, थाईल्यान्ड, प्यासिफिक आईल्यान्ड, सिङ्गापुर, श्रीलङ्का, भारत, बङ्गलादेश र नेपालसँग समेत सैन्य साझेदारी गर्ने र आफ्नो प्रत्यक्ष गतिविधि बढाइरहेको छ । 
३. सामरिक प्रतिस्पर्धा र सामरिक तथा रणनीतिक क्षेत्रमा आफ्नो अधिनायकत्व स्थापना गर्ने उद्देश्य । 
४. विश्व अर्थ–बजारमा विकास हुँदै गएको चीनको रणनीतिलाई रोक्ने र बीआरआईलाई रोक्ने रणनीति । 
५. परियोजना सुरक्षाको नाममा अमेरिकी सेनाले नेपालको सामरिक, रणनीतिक महत्त्वमाथि हस्तक्षेप गर्न चाहन्छ, जुन कुरा प्रस्ट नै छ ।  
६. नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप बढाउने रणनीति । 

(ख) एमसीसी लागु भएका देशहरू 
१. अर्मेनिया, बेनिन, एल साल्भाडोर, जर्जिया, घाना, होन्डुरस, इन्डोनेसिया, जोर्डन, मङ्गोलिया, नामिभिया, निकारागुवा, फिलिपिन्स, सेनेगल, तान्जिनिया, जाम्बियालगायतका देशहरूमा एमसीसी परियोजना लागु गर्ने र परिचालन गर्ने गरेको देखिन्छ । 
२. १२ ओटा राज्यले एमसीसीलाई खारेज गरिसकेका छन् । 
३. जहाँ–जहाँ एमसीसी लागु भएका छन्, त्यहाँ कुनै न कुनै हिसाबले अमेरिकी साम्राज्यवादको हस्तक्षेपले जरा गाडेको छ । 

(ग) किन घातक छ एमसीसी
१. परियोजनाको लागत खर्च निकै महँगो हुने । 
२. परियोजनास्थलको जमिनमाथिको सार्वभौम अधिकार गुम्ने ।   
३. नेपालको जलस्रोतमाथि अमेरिकी एकाधिर रहने । 
४. नेपालको सबै सूचना–सञ्चारमाथिको अमेरिकी हस्तक्षेप बढ्ने । 
५. एमसीसी सम्झौता अमेरिकाले मात्र खारेज गर्न सक्ने । 
६. नेपाल सरकारबाट स्वतन्त्र रहने । 
७. एमसीसी सम्झौता अनिश्चितकालसम्म रहन सक्ने ।  
८. लेखा परीक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्ने । 
९. विद्युत प्रसारण लाइन रहस्यमय हुने । 
१०. परियोजना सुरक्षाको नाममा अमेरिकीहरू औपचारिक हिसाबले नेपाल प्रवेश गर्ने । 
११. परियोजना सुरक्षाको नाममा सिधै अमेरिकी सेनाहरू र सुरक्षा संयन्त्रहरू नेपाली भूमिमा प्रवेश गर्ने । 
१२. बैद्धिक सम्पत्ति अमेरिकाको मात्र हुने  । 
(बैद्धिक सम्पक्ति भनेको सबैखाले ट्रेडमार्क, सर्भिस मार्क, लोगो, नाम, व्यापारिक नाम, प्रतिलिपि
अधिकार, सबै प्याटेन्ट, आविस्कार, सीप राईटस, टे«डसिट रेट, डिजाइन, योजनालगायत सबैमा
अमेरिकाकै हुने र नेपालको हक दाबी नलाग्ने) 
१३. कुनै पनि कर नलाग्ने । 
कर, भन्सार, पैठारी कर, निकासी कर, बिक्री कर, अन्तःशुल्क, सम्पत्ति खरिद–बिक्री  कर, मूल्य
अभिवृद्धि कर, महसुल कर, दस्तुर कर, विभिन्न निकायमा लगाउने कर आदि सबै छुट दिनुपर्ने । 
१४. अन्तर्राष्ट्रिय शक्तिसङ्र्घषमा नेपाललाई जबर्जस्त प्रवेश गर्न बाध्य बनाउने आदि । 
(घ) राष्ट्रिय स्वाधीनताको प्रश्नमा दलाल संसदवादको लम्पसारवादी नीति  
१. आर्थिक सहयोगका नाममा साम्राज्यवादीहरूसँग लम्पसार पर्ने नीति । 
२. नेपालको सार्वभौम स्वाधीनतामाथि तिलाञ्जली ।  
३. नेपालको सत्ताधारीहरूको राष्ट्रघाती र जनघाती नीतिको प्रस्फुटन । 
४. जसरी हुन्छ आफ्नो सत्ता, कुर्सी, पद र पैसा हत्याउने रणनीतिको पर्दाफास । 
५. आफूलाई कम्युनिस्ट भन्ने शक्तिहरू नै एमसीसी पास गर्नुपर्छ भनेर कम्युनिस्टविरोधी चरित्रको प्रदर्शन । 
६. राष्ट्रको शासक र संरचना राष्ट्र र जनविरोधी छ भन्ने कुराको सही पर्दाफास भएको । 
७. वर्तमान सत्ता, सरकार र सत्ता, सरकार सञ्चालकहरू राष्ट्र र जनविरोधी छन् भन्ने कुराको पहिचान । 

निकाश ः 
माथि उल्लेखित समस्याहरुको चर्चा गरिसकेपछि राज्यसत्ता, सरकार, खेलकुद क्षेत्र, खेलाडी, राष्ट्रिय स्वाधीनताबारे के निकाश के हुन सक्ला त ? जसले सिड्डो खेलकुद क्षेत्र र राष्ट्रलाई सहि दिशातर्फ लैजाने भुमिका खेल्न सकोस ! यसमा दुई दृष्टिकोण मुख्य हुन आउछ । 
    एक ः राज्य र खेलकुदको यहि संरचनालाई कायम राखेर सुधार गर्दै जाने । 
    दोश्रो ः राज्य र खेलकुदको यो संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जाने । 
पहिलो ः  यो हुन आउँछ कि अहिलेको राज्यसंरचना सम्पूर्ण हिसावले ठिक र खेलकुद नीति र योजना पनि सहि छ । यसैलाई सुधारगरेर जादाँ भैहाल्छ भन्ने दृष्टिकोण हो । यो यथास्थितिवादी र संसदवादी दृष्टिकोण हो । यसले सङ्कटलाई टालटुल गरेर समस्याको समाधान भैहाल्छ भन्ने मान्यतामा खाख्दछ ।  जुन गलत छ ।  यो ब्यवस्था, नीति, योजना र यहि दृष्टिकोणबाट खेलकुद क्षेत्रको आमुलपरिवर्तन संभव छैन । 
दोश्रो ः वर्तमान राज्यसत्ता राष्ट्र र जनताको हितमा छैन, यो दलाल पुँजिवादी राज्यसत्ता हो । 
वर्तमान खेलकुद नीति खेलक्षेत्र र खेलाडिहरुकालागि सहि छैन । यसलाई वैज्ञानिक र आमुलपरिवर्तन आवश्यक छ भन्ने मान्यता हो । यो दुई दृष्टिकोणमा दोश्रो दृष्टिकोण नै सहि र वस्तुपरक छ । त्यसैले राज्यसत्ताको रुपान्तरण र वर्तमान खेलकुद नीतिको रुपान्तरण हुन आवश्यक छ ।
त्यसका लागि दुई बाटाहरु छन्   ।  
    एक ः  बलप्रयोगद्धारा रुपान्तरण गर्ने, 
    दोश्रो ः  जनताको अभिमतद्धारा रुपान्तरण गर्ने, 
आजको सन्दर्भमा पहिलो बलप्रयोगद्धारा रुपान्तरण गर्ने कार्यनीतिको परिवेश बनिसकेको देखिदैन त्यो अलि कठोर, निर्मम र उथलपुथलमुलक हुन्छ । आजको सन्दर्भमा दोश्रो जनताको अभिमतद्धारा ब्यवस्थाको छनौट र खेलकुद नीतिको छनौट गर्ने प्रकृया नै सहि र वस्तुपरक देखिन्छ र, यो शान्तिपूर्ण पनि हुन्छ । आजसम्म खेलकुद नीति र ब्यवस्थाका लागि जनताले अभिमत दिन पाएका छैनन् ।  यसमा सिघै पार्टीलाई, पार्टीका नेतालाई र उनैको ठाडो निर्देशनमा नियुक्ति हुने प्रकृया चलिआएको छ, यो सहि छैन । त्यसैले अब पार्टी, नेता र उनै नेता र पार्टीले बनाएको खेलकुद नीतिका लागुगर्ने प्रणालीको अन्त्य हुन आवश्यक छ । अबको अभिमत पार्टी, नेता र उनैले चुनेको मान्छेले नीति बनाउने होईन सिधै ब्यवस्था, र सिधै खेलकुद नीतिमा अभिमत प्रदान गर्ने र वर्तमान प्रणालीलाई वदल्ने प्रकृया नै सहि र वस्तुपरक बन्न सक्छ भन्ने मान्यतानै सहि छ । ब्यवस्थाका लागि र सिधै खेलकुद नीतिमा मतदान गर्ने जनमत संग्रहको कार्यनीति सहि हुन्छ ।  

अन्त्यमा, 
यो आधारपत्र छलफललाई सजिलो र सहज होस् भन्नाका लागि तयारी पारिएको हो । तपाईंहरूबाट सही दृष्टिकोण आउनेछ । खेलक्षेत्र र खेलाडीहरू आफ्नो जीवन र राष्ट्रको जीवनको बारेमा चिन्तित छन् । खाँचो परे बोल्न सक्छन्, उठ्न सक्छन्, जुट्न सक्छन् र अन्याय तथा अत्याचारको विरुद्ध, राष्ट्रघात र जनघातको विरुद्ध आवाज बुलन्द गर्न सक्छन् भन्ने कुराको दिशाबोध गराउनेछ । एमसीसी परियोजना कुनै पनि हालतमा हाम्रो देशमा लागु गर्नुहुँदैन भन्ने सन्देश यो अन्तरक्रिया कार्यक्रमले दिनेछ भन्ने आशा–अपेक्षा राख्दछु । निकै उचित समय र सन्दर्भमा आयोजना गरिएको यो बहस निकै सान्दर्भिक र औचित्यपूर्ण छ ।  धन्यवाद । 

२०७८ मङ्सिर २२ 
अन्तर्राष्ट्रिय पौडी पोखरी परिसर, सातदोबाटो, ललितपुर । 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।