Sunday, November 7, 2021

कम्युनिष्ट पार्टीको आर्थिक दृष्टिकोण

विषय प्रवेश ः 
कम्युनिष्ट अर्थदृष्टिकोण अनुरुप पार्टीको संस्थागत आर्थिक जीवन, नेता र कार्यकर्ताको जीवन, जनताको आर्थिक जीवन र समग्र कम्युनिष्ट समाजको आर्थिक सम्बन्धबारे हाम्रो ऐतिहासिक आठौं महाधिवेशनले मार्गनिर्देश गर्ने कार्य गरेको छ । खासगरी वैज्ञानिक समाजवाद—साम्यवाद प्राप्त गर्ने हाम्रो लक्ष्य र वैज्ञानिक समाजवादमा प्रतिक्रान्तिका अनुभव र शिक्षाहरुले हामीलाई यो विषय सोच्नका लागि उत्प्रेरित गरेका छन् । रुसी समाजवादको असफलता र धनाढ्या वर्गको उत्पत्ति, पूर्वीयुरोमा समाजवादको असफलता र पूँजीपति वर्गको पुनरोदय, चीनमा खरबपतिहरुको उत्पत्ति,प्रचण्डहरुको धनाढ्या वर्गमा विचलन कम्युनिष्ट आन्दोलनका नकारात्मक शिक्षा हुन ।

संस्थागत अर्थपरिचालनको हाम्रो विचारले मात्र पनि कम्युनिष्ट आन्दोलनमै गुणात्मकरुपले नयाँ अर्थजीवन देखापरेको छ । हाम्रो पार्टीको अर्थजीवन केन्द्रमा संस्थागत प्रणालीमा उठ्दै गएको छ । नेताहरुको जीवन पारदर्शी बन्न थालेको आभाष भएको छ, आफ्नै अर्थसम्बन्धबारे मोटो धारणा विकास भएको छ । तर हामीले परिकल्पना गरेको कम्युनिष्ट जीवन पद्धतीमा पुग्न अझै धेरै गर्न बाकि छ । हाम्रो विचारमा कम्युनिष्ट अर्थदृष्टिकोणलाई सम्पूर्ण सत्ता प्राप्तीपछिको विषय बनाएर नेता र कार्यकर्ताहरुको अर्थजीवन अमूर्त, अपारदर्शी र समस्याग्रस्त बन्न दिनु हुँदैन । यसले पार्टी भित्र नै वर्गहरु पैदा गर्ने गरेको तितो अनुभव हामीसँग छ । आर्थिक सम्बन्ध र उत्पादन कार्यलाई क्रान्तिभित्र पनि अनुसरण र प्रयोग गर्न सकिने विषय बनाउननु पर्छ । जुन सिद्धान्तहरु व्यवहारिक जीवनमा भोग्य, प्रयोगात्मक हुन सक्दैनन् ती भौतिक जीवनमा जीवित रहन या अर्थपूर्ण हुँदैनन् । त्यसैले कम्युनिष्ट आर्थिक दृष्टिकोणलाई तर्क र परिकल्पनाको आकाशबाट समाजका सबै नागरिकहरु विशेषतः श्रमिक वर्गले देख्न, अनुभव र अनुसरण गर्न पाउने धर्तिमा उतार्नु पर्दछ । हाम्रो यही अर्थदृष्टिकोणअनुरुप अनुरुप यो प्र्रस्ताव तयार परिएको छ ।

कम्युनिष्ट अर्थदृष्टिकोण ः
पूँजीवादसम्म कायम उत्पीडक र उत्पीडित, शोषक र शासित, मालिक र दास, सामन्त र भूदास, पूँजीवादी र सर्वहारा वर्गमा विभाजित समाजको इतिहास मूलतः वर्ग अर्थसम्बन्धको इतिहास हो । वैज्ञानि समाजवाद—साम्यवादले मात्र यो इतिहासलाई वर्गविहीन अर्थसम्बन्धको इतिहासमा परिवर्तन गर्दछ । 

विद्यमान समाजिक जीवन वर्ग नियन्त्रित अर्थसम्बन्धद्वारा विभाजित वर्ग समाजिक जीवन हो । हरेक वर्ग, समुदया, जाति, पार्टी, नेता, कार्यकर्ता सर्वसाधारण नागरिक सबै नै वर्ग विभाजित समाजको परिधिभित्र बाधिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद—समाजवादले मात्र वर्ग विभाजित अर्थसम्बन्धबाट बाहिर लगेर सर्वविहीन सम्बन्धमा उठेको मानवजाति विकास गर्दछ । 

हरेक दर्शन र विचार अर्थसम्बन्धसँग सम्बन्धित छन् । सामन्तवाद, पूँजीवादसम्मका दर्शन र विचार उत्पीडक र शासक वर्गीय अर्थसम्बन्ध अनुकूलका दर्शन र विचार हुन तर वैज्ञानिक समाजवाद—सामयवाद भने उत्पीडित , शासित वर्गीय दर्शन र विचार हुँदै सिङ्गै मानव जातिको वैज्ञानिक युग र सभ्यतामा प्रवेश गराउने दर्शन र विचार हो । 

वर्ग विभाजित समाजको हरेक राजनीति वर्ग अर्थसम्बन्धको प्रतिविम्ब हो । राजनीतिले कुनैनकुनै वर्ग स्वार्थको प्रतिनिधित्व गर्दछ । वैज्ञानिक समाजवाद—साम्यवादले कम्युनिष्ट अर्थ राजनैतिको प्रतिनिधित्व गर्दछ । वर्ग विभाजित अर्थसम्बन्ध भएको समाजमा हरेक राजनैतिक पार्टी वर्ग स्वार्थको प्रतिनिधित्व गर्ने संगठित संस्था,दस्ता र नेतृत्व हुन्छ । कम्युनिष्ट पार्टीले समाजवादी—साम्यवादी सर्वहारा वर्गीय अर्थसम्बन्धको अगुवाई गर्दछ । सत्ता प्राप्तीसँगै कम्युनिष्ट पार्टीले वर्गहरु र वर्गविभाजित समाजको अन्त्य गर्दै आफैलाई समेत अन्त्य गर्दछ । 

कम्युनिष्टको आर्थिक सिद्धान्त  ः 
कम्युनिष्ट अर्थसिद्धान्त निम्न लिखित मान्यतामा आधारित हुन्छ —ः
उत्पादन सम्बन्धमा कायमरहेको पूँँजीवादी स्वामित्वलाई सर्वहारा वर्गीय शक्तिको प्रयोगद्वारा                         नियन्त्रणमा लिनु ,
अर्थसम्बन्धमा रहेको पूँजीवादी स्वामित्वलाई अन्त्य गर्नु 
समाजका हरेक नागरिकका लागि गास, वास, कपास, शिक्षा, स्वास्थ्य, सूचना सुनिश्चित गर्नु, अर्थसम्बन्ध         माथि सामाजिक स्वामित्व कायम गर्नु 
निजी स्वामित्वलाई राज्य नियन्त्रिीत स्वामित्व हुँदै सामुहिक स्वामित्व कायम गर्नु 
निजी स्वामित्वको अन्त्य गर्नु र सार्वजनीति अर्थसम्बन्धको विकास गर्नु 
मुठ्ठीभर व्यक्तिको संमृद्धिको ठाउँमा हरेक नागरिकको संमृद्धिको विकास गर्नु 
वर्ग विभाजित मानव विश्वलाई वर्गविहीन मानव विश्वमा रुपान्त्रण गर्नु 
ज्ञान विज्ञानले संमृद्ध विश्व साम्यवादको निर्माण गर्नु 

कम्युनिष्ट अर्थदृष्टिकोण र सामाजिक अर्थसम्वन्ध ः  
वगतदेखि पूँजीवादी समाजसम्मका सबै समाजहरु आर्थिक सम्बन्धहरु जनविरोधी, श्रमिक वर्ग विरोधी, विभेदकारी एवं शोषणकारी उत्पादन सम्बन्धहरु हुन । हरेक समाजमा अल्पसंख्यकले बुहसंख्यक श्रमिक वर्गको उत्पादनमा शोषण गर्ने  सम्बन्ध हुन । तर बैज्ञानिक समाजवाद—सामयवाद मात्र सबै विभेद, उत्पीडन र शोषणबाट मुक्त समाज हो ।

कम्युनिष्ट समाजले मात्र वर्ग, जाति, राष्ट्र र धर्मको अनावश्यक्तालाई पुरा गर्दै विश्व मानवजाति, विज्ञान, सभ्यता र संमृद्धिको प्रतिनिधित्व गर्दछ । 

कम्युनिष्ट समाज हरेक समाजसँगको संघर्षपूर्ण प्रतिशपर्दामा उत्कृष्ठ, वैज्ञानिक र सभ्य सावित गरेर नै पुरानो समाजको निषेध र साम्यवादी समाजको विकास गर्दछ । तर पूँजीवादी अधिनायकत्वका सारा बन्धन र अबरोधलाई बलपूर्वक तोडेर मात्र श्रमिक वर्ग र कम्युनिष्टहरुले त्यसको आधार तयार गर्न सक्दछन् । 

विचारधारात्मक संघर्षबाट राजनैतिक क्रान्तिको मार्गमा अग्रसर कम्युनिष्टले ध्वंस र निर्माणको वैज्ञानिक प्रणाली पकडेर पूँजीवादी अर्थसम्बन्धको निषेध र समाजवादी अर्थसम्बन्धको निर्माण सँगसँगै गरेर मात्र नेता कार्यकर्ता र जनतालाई क्रान्ति जस्तो महान प्रकृयामा निश्चिन्त सहभागी र समर्पण गराउन सक्दछन् । 

कम्युनिष्ट समाजको सृजना गर्नु कम्युनिष्टहरुको नै पहिलो दायीत्व र जिम्मेवारी हो । उनीहरुले वर्ग संघर्ष, राजनैतिक संघर्ष, उत्पादन संघर्ष र साँस्कृतिक संघर्षसँग जोडेर यो जिम्मेवारी पुरा गर्दै जानु पर्दछ । 

कम्युनिष्ट समाज निजी स्वार्थले पुरिएको, कुजिएको र बाधिएको तुच्छ समाजभन्दा अतुलनीय रुपले उत्कृष्ट, संमृद्ध, मानवीय, सुसंस्कृत, वैज्ञानिक र सभ्य हुन्छ । यो पूँजी, सम्पत्ती, राज्य र गुण्डागर्दीको बलमा जकडीएको समाज होइन, उच्च कम्युनिष्ट चेतना, विचार, राजनीति, स्वतन्त्रता र योजनाले संचालित र सुव्यवस्थित समाज हो । 

कम्युनिष्ट समाजको निर्माण नेतृत्वदायी कार्यक्रममा रहने भएकोले वर्तमान समाजमा कम्युनिष्टले चार खाले उत्पादन सम्बन्ध र स्वामित्वलाई बदलेर मात्र वैज्ञानिक समाजवादी उत्पादन सम्बन्धमा प्रवेश गर्न सक्ने छ । 
क) सामन्तवादी भूस्वामित्वको अन्त्य, जमिनको स्वामित्व राज्यको हातमा केन्द्रीकरण , जमिनको आधुनिकीकरण, कृषिमा सहकारी, कम्युनीकरण र समाजवादी उद्योगको विकास ।
ख) अर्थतन्त्रमा दलाल पूँजीवादी आर्थिक सम्बन्धको अन्त्य, राष्ट्रिय औधोगीकरण, उद्योगको स्वामित्व श्रमिक वर्गको हातमा, सहकारीकरण, राज्य नियन्त्रित अर्थतन्त्र(उद्योग, कृषि, वित्त, यातायात, सहकारी आदि) को विकास, 
ग) पूँजीवादी एकाधिकारवादी एवं निगम पूँजीको अन्त्य, श्रमिक वर्गीय औधोगिक नीतिको विकास, राज्यको हातमा स्वामित्व, योजनाबद्ध अर्थतन्त्रको विकास 
घ) नोकरशाही, सुधखोरी एवं कमिशनखोरी पूँजीको अन्त्य , श्रमका आधारमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था 
उल्लेखित कम्युनिष्ट आर्थिक सिद्धान्तहरुलाई क्रान्तिपछि सम्पूर्ण क्षेत्रमा लागु गरिने भएपनि क्रान्तिको
चरणमा पार्टीले आफ्नो आन्दोलन र जीवनमा त्यसका आम्सिक विशेषताहरुलाई लागु गर्दै जानु पर्दछ ।
किनकि हामी आर्थिक सम्बन्धमा काल्पनीक आदर्शवाद र अर्थवादी व्यवहारवाद दुबैबाट बचन जरुरी छ ।
काल्पनीक आदर्शवादले विचार र आवश्यक्ताको अन्तरसम्बन्धलाई ठीक ढंगले समाधान गर्न सक्दैन र
द्वैतअर्थी जीवन भोग्ने पाखण्डीमा परिनत गरिदिन्छ  अर्थवादी व्यवहारवादले सिद्धान्त र आदर्शलाई
उपभोगवादको दलदलमा डुवाइदिएर वैज्ञानिक मान्यताहरुप्रतिनै भयानक दुविधा र अविश्वास खडा
गरिदिन्छ । हामीले यी दुवै विचलनबाट बच्दै सिद्धान्त र व्यवहार , आदर्श र जीवनको द्वन्द्वात्मक एवं
जीवन्त प्रयोगलाई आत्मसाथ गर्नु पर्दछ । 

कम्युनिष्ट पार्टीको अर्थसम्बन्ध ः 
कम्युनिष्ट पार्टी कम्युनिष्ट अर्थदृष्टिकोण निर्माण गर्ने, समाजवादी—साम्यवादी उत्पादन सम्बन्धलाई संस्थागत रुपदिने, संचालन गर्ने र नयाँ समाजको निर्माण गर्ने नेतृत्व हो । 

विगतका हरेक उत्पादन सम्बन्धले नयाँ उत्पादक शक्ति र नेतृत्वको जन्म दिएको छ । नयाँ उत्पादक शक्ति र त्यसको नेतृत्वले पुरानोको निषेध मात्र गरेको छैन नयाँको निर्माण पनि गर्दै आएको छ । दास युग भित्रको अर्थसम्बन्धबाट सामन्ती अर्थ नेतृत्वको जन्म र विकास भयो, सामन्ती उत्पादन सम्बन्धभित्रबाट पूँजीवादी अर्थ नेतृत्वको विकास भयो भने कम्युनिष्ट पार्टीले पूँजीवादी उत्पादन सम्बन्धको अन्त्य संगै समाजवादी—साम्यवादी उत्पादन सम्बन्धको विकास गर्दछ । 

कम्युनिष्ट पार्टी विचारधारात्मक एवं राजनैतिक विचारको नेतृत्व मात्र होइन अपितु समाजवादी—साम्यवादी अर्थसम्बन्धको नेतृत्व पनि हो । यसले सिद्धान्त र व्यवहार दुबैमा समाजवादी—साम्यवादी अर्थसम्बन्ध र अर्थ प्रणालीलाई कार्यन्वयन गर्दै अगाडि बढ्नु पर्दछ ।

कम्युनिष्ट पार्टी विचारधारा, राजनीतिसँगै अर्थदृष्टिकोणको प्रतिनिधि संस्था हो । यसले हरदम कम्युनिष्ट दृष्टिकोणबारे आम नागरिकसामु स्पष्ट गर्दै जानु पर्दछ । 

विशौं शताब्दीमा देखिएका प्रतिक्रान्ति सारमा अर्थसम्बन्धमा आएको समस्यासँग सम्बन्धित छ । हामीले ती अनुभवलाई वैज्ञानिक समाजवादी—साम्यवादी अर्थसम्बन्ध विकासको शिक्षामा ग्रहण गर्नु पर्ने आवश्यक्ता छ । 
सामन्तवाद र पूँजीवादलाई ध्वस्त पारेर पैदा भएको वैज्ञानिक समाजवाद—साम्यवादको कोखबाट पूँजीवादी दानवको पुनरावृत्ति हुनु मूलरुपमा समाजवादी अर्थसम्बन्धको प्रयोग र विकासमा रहेको अपूर्णता र समस्या नै हो । 
हामी कम्युनिष्टले वर्ग विभाजित समाजको अर्थसम्बन्ध ध्वस्त पार्ने र वैज्ञानिक समाजवादी अर्थसम्बन्ध निर्माण गर्ने विचार मात्र पकडेर हुँदैन अपितु वैज्ञानिक समाजवाद—साम्यवाद भित्र नागरिकहरुको निजी एवं सामाजिक जीवन अुतलनीयरुपले उन्नत र संमृद्ध हुन्छ भन्ने पनि सावित गर्नु पर्ने छ । आजसम्मका हरेक राज्यसत्ताले एक सुविधा सम्पन्न वर्गको जन्म मात्र अनिवार्य गरे हामीले उत्पादन  कार्यविना श्रमिक जनताभन्दा विशेष सुविधाभोगी वर्ग नजन्मिने आर्थिक सम्बन्धको विकास गर्नु पर्दछ ।  

कम्युनिष्ट पार्टी स्वयं आर्थिक कार्यको संस्था पनि भएकोले यसले आफ्नो आर्थिक कार्यलाई हरदम संस्थाग, पारदर्शी, योजनाबद्ध र सुव्यवस्थित गर्नु पर्दछ । कम्युनिष्ट पार्टी लामो कालसम्म सामाजिक रुपान्त्रणको नेतृत्वदायी भूमिकामा रहनु पर्ने भएकोले यसको आप्mनै सुव्यवस्थित आर्थिक उत्पादन, विनिमय, वितरण प्रणाली हुनु पर्दछ । निर्माणका दृष्टिले संस्थागत आर्थिक स्वामित्व निजी स्वामित्वमा हावी गर्ने सोच्नु पर्दछ ।
कम्युनिष्ट पार्टीले पुरानो उत्पादन सम्बन्ध र स्वामित्वको अन्त्य गर्ने संघर्ष सँगसँगै नयाँ समाजवादी—साम्यवादी अर्थसम्बन्धको निर्माण र विकास पनि गर्दै जाने पहल गर्नु पर्दछ । यसले पुरानोको ध्वंश मात्र होइन नयाँको निर्माण पनि गर्दै लैजान्छ । 

समाजवादी—साम्यवादी स्वामित्वको आधार निर्माण र नयाँ समाजिक जीवन निर्माण गर्ने नेतृत्व ।  
कम्युनिष्ट पार्टीले गर्नु पर्दछ । आधुनिक, समाजवादी एवं वैज्ञानिक उत्पादन सम्बन्धको विकास गर्नु पर्छ ।
कम्युनिष्ट पार्टीले जति साम्यवादी अर्थसम्बन्ध र प्रणाली सुसंगठित गर्दछ, कम्युनिष्टहरुको निजी जीवन त्यतिकै सुव्यवस्थित हुन्छ । सुव्यवस्थित जीवनले समाजलाई रुपान्त्रण गर्न र समाजवाद—साम्यवादप्रति विश्वस्त पार्न मद्दत गर्दछ । 

कम्युनिष्ट नेतृत्व र आर्थिक दृष्टिकोण ः 
कम्युनिष्ट नेतृत्व कम्युनिष्ट अर्थदृष्टिकोण, अर्थसम्बन्ध र अर्थप्रणालीमा नेतृत्वदायी अंग हो । यसले कम्युनिष्ट अर्थदृष्टिकोणको नेतृत्व, संचालन र सुदृढीकरण गर्दछ । यो आफ्नो विचार, नीति र कार्ययोजनाहरुप्रति स्पष्ट र आदर्श हुनु पर्दछ । कम्युनिष्ट नेतृत्वले नै सर्वप्रथम समाजवादी—साम्यवादी अर्थजीवन निर्माण र पालना गर्नु पर्दछ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट समाजको व्यवहारिक नेतृत्व र अभ्यास कम्युनिष्ट नेतृत्वले नै गर्नु पर्दछ । नेताहरुको जीवन पारदर्शी, संस्थागत, सरल, सुसंस्कृत र सभ्य हून्छ र हुनु पर्दछ । 

कम्युनिष्ट नेताहरु अर्थिक विषयमा सहभागि हुँदा केवल नीतिगत पक्षमा मात्र होइन उत्पादन कार्यमा पनि सहभागी बन्नु पर्दछ । नेताहरुको उत्पादन सामुहिक उत्पादन प्रणाली अन्तर्गत हुन्छ भने त्यसको स्वामित्व पनि सामुहिक र संस्थागत स्वामित्वमा हुनुपर्दछ । कुनै पनि उत्पादन कार्यमा सहभागि नबनेर आर्थिक आवश्यक्ता र वितरणमा मात्र जोड दिनु भनेको संस्थागत पूँजीको असमान वितरण गर्नु या संस्थागत उत्पादनको शोषण हुन पुग्छ । उत्पादक श्रम विनाको पूँजी वितरण एक प्रकारले राजकीय नोकरशाही पूँजीको शोषणकै नयाँ रुप मात्र हुनपुग्छ । 

नेताहरुको उत्पादन सामुहिक स्वामित्व अन्तर्गत रहदा र नेताहरुको आवश्यक्ता संस्थागत प्रणालीमा हुँदा  निजी जीवनको संंमृद्धि स्वभाविकरुपमा माथि उठ्न पुग्छ । अमूर्त सर्वहारा वर्गको नारामा व्यतित गर्ने असमान जीवनभन्दा सामूहिक स्वामित्व भित्रको निजी जीवन निकै आनन्दमय बन्न पुग्छ ।  

कम्युनिष्ट नेताहरुको अर्थजीवन निजी स्वामित्वमा आधारित नभएर सामुहिक स्वामित्वमा परिचालित हुनु पर्छ । तर नेताहरुको निजी स्वामित्व र निजी आवश्यक्तालाई फरक अर्थमा देख्न नसक्नु या समान अर्थमा बुझ्नुले कम्युनिष्ट आन्दोलन र समाजवादमा ठूलो समस्या पैदा गर्न सघाएको छ । हाम्रो अध्ययनमा यी दुई सारभूतरुपमा नै फरक रहेका छन् । निजी स्वामित्व कम्युनिष्ट दृष्टिकोण, सिद्धान्त र नीतिभन्दा उल्टो, सामुहिक स्वामित्वको विपरीत, पूँजीवादी विचार हो भने निजी आवश्यक्ता सामुहिक स्वामित्व भित्रको अनिवार्य विशेषता हो । यसे विगत प्रतिक्रान्तिको मूल जडलाई समेत समाधान गर्न मद्दत पुगाउन सक्छ । निजी स्वामित्वले शोषणको प्रतिनिधित्व गर्दछ भने निजी आवश्यक्ताले सामुहिकता र समानताको प्रतिनिधित्व गर्दछ । 
कम्युनिष्ट नेताहरुले निजी आवश्यक्ता र निजी विलासितालाई अलग गर्दछन् साथै यी भिन्न प्रवृत्ति भएको स्पष्ट गर्दछन् । आवश्यक्तालाई उत्पादन र खपतको अवस्था अुनरुप व्यवस्थापन गर्नु कम्युनिष्ट दृष्टिकोण हो भने आवश्यकतालाई उपभोगवादसम्म तन्काएर प्रयोग गर्नु भनेको पूँजीवादी फजुलखर्ची र विलासी प्रवृत्ति हो । 
नेताहरुको उत्पादन कार्य सामूहिक हुन्छ, स्वामित्व संस्थागत र सामूहिक हुन्छ तर उत्पादनकार्यप्रति भने नेताहरुको व्यक्तिगत उत्तरदायीत्व हुनु पर्दछ । किनकि उत्पादनको सामुहिक चरित्र समाजसम्म नपैmलीएसम्म सामूहिकताभित्र पनि निजी उत्तरदायीत्व या जिम्मवादी हुनु अनिवार्य छ । अन्यथा उत्पादन प्रकृयाले अराजकताको समस्या भोग्न बाध्य हुन पुग्छ । नेतृत्वले संस्थागत उत्पादन, सामूहिक स्वामित्व, व्यक्तिगत उत्तरदायीत्वसँग मात्र क्षमता अनुसारको काम र आवश्यक्ता अनुसारको दामको साम्यवादी अर्थसम्बन्ध विकास हुनपुग्छ ।  

नेतृत्वको जीवन साम्यवादी दिशामा अग्रसर हुनु पर्छ । उसको जीवन आवश्यक्ता अनुसारको दाम र क्षेमता अनुसारको काम हुनु पर्छ । त्यहाँ स्वयच्छिक श्रम, त्याग, समर्पण, वलिदान हुनु पर्छ । कम्युनिष्ट नेतृत्व भनेको एक प्रकारले निजी जीवनबाट मुक्त, विभिन्न स्वामित्व, मायाँ मोह र लोभबाट मुक्त हुनु पर्छ । नेतृत्व पथपर्दशक, आदर्श बन्ने महत्वकाँक्षाबाट अभिप्रेरित हुनु पर्छ ।

कम्युनिष्ट कार्यकर्ता र अर्थसम्बन्ध ः 
शोषणमा आधारित दलाल पूँजीवादी—पूँजीवादी—निगम पूँजीवादी अर्थउत्पादन सम्बन्धका विरुद्ध संघर्ष गर्नु, पूँजीवादी—दलाल पूँजीवादी उत्पीडनलाई अन्त्य गर्ने संघर्षको नेतृत्व गर्नु र श्रमिक वर्गलाई हरेक प्रकारका शोषण दमनबाट मुक्त गर्नु कम्युनिष्ट कार्यकर्ताको आर्थिक जिम्मेवारी हो । 

हरेक कम्युनिष्ट कार्यकर्ता वैचारिक, राजनैतिक र संगठनका प्रतिनिधि मात्र होइनन् अपितु आर्थिक सम्बन्ध र प्रणालीका प्रतिनिधि पनि हुन । उनीहिरुको कार्यप्रणालीमा कम्युनिष्ट आर्थिक दृष्टिकोण प्रतिविम्बित भएको हुनुपर्दछ । कम्युनिष्ट कार्यकर्ता राजनैतिक कार्यसँगै आर्थिक उत्पादन कार्यमा पनि कुनैनकुनैरुपले सहभागि बनेको हुनु पर्छ । आर्थिक उत्पादन विनाको राजनैतिक कार्य जीवन विनाको पाण्डित्य जस्तो मात्र हो । न त्यसले सामाजिक रुपान्त्रणमा सही नेतृत्व प्रदान गर्न सक्छ नत स्वयंलाई कम्युनिष्ट कार्यकर्ताको रुपमा निरन्तर कायम राख्दै साम्यवादतिरको यात्र गर्न सक्छ । 

उत्पादन कार्य विनाको आर्थिक जीवन एकखालको परजीवी या शोषणमा आधारित जीवन बन्न पुग्छ । कम्युनिष्ट कार्यकर्ता आफैमा हर शोषण, उत्पीडनको विरोधी हो, कुनैपनि प्रकारको परोक्ष अपरोक्ष शोषण उत्पीडनमा बाच्दैन,त्यसलाई सहन गर्दैन । अर्थउत्पादन विनाको अर्थ वितरण जहिले पनि असमान र विभेदकारी हुन्छ । उत्पादनमा सहभागि नभएर माग गरिने समान वितरण र उपभोग असंभव छ । यसले कम्युनिष्ट दृष्टिकोणलाई होइन परजीवि दृष्टिकोणलाई अभिव्यक्त गर्दछ । 

हरेक कम्युनिष्ट कार्यकर्ता कुनैनकुनै स्तर र विशेषताको अर्थउत्पादन कार्यमा सहभागी बन्नु पर्दछ । उनीहरुको उत्पादन कार्य सामुहिक हुनु पर्दछ साथै उत्पादनमा संस्थागत स्वामित्व हुनु पर्छ । तर कार्यकर्ताको वितरण प्रणाली कम्युनिष्ट नेतृत्वकोभन्दा केही लचिलो अर्थात अर्ध सामाजिक चरित्रको हुनु पर्दछ । कार्यकर्ताको आर्थिक जीवन निजी स्वामित्वबाट क्रमशः सामूहिक स्वामित्वतर्फ अग्रसर भएको हुनु पर्दछ ।  यसलाई क्षमता अनुसारको काम र काम एवं आवश्यक्ता अनुसारको दाम प्रणाली भन्न सकिन्छ । कम्युनिष्ट कार्यकर्ताको अर्थजीवन जनताभन्दा भडकिलो, उत्ताउलो, खर्चिलो र विलासी हुनुहुँदैन । उनीहरुको जीवन सुव्यवस्थित, सरल एवं पारदर्शी हुनु पर्दछ । उनीहरुको जीवनले निजी मात्र होइन सामाजिक अर्थजीवनलाई समेत रुपान्त्रण गर्न सघाउन पुर्याउनु पर्दछ । 

कम्युनिष्ट आर्थदृष्टिकोण र जनताको अर्थजीवन ः 
समाजमा हरेक नागरिकले श्रममा भागलिन पाउनु , आफ्नो अर्थउत्पादनको स्वामित्व आफैसँग राख्न पाउनु र उपभोग गर्नपाउनु जनताको नैसगर्किक अधिकार हो । 
जनतामाथि लादिएको दलाल पूँजीवादी—पूँजीवादी—निगम पूँजीवादी शोषण, उत्पीडन र लुटलाई अन्त्य गर्नु जनताको हितको पहिलो खुडकिलो हो । जतिवेलासम्म जनता उल्लेखित शोषण उत्पीडनबाट मुक्त हुनसक्दैनन् त्यसवेलासम्म उनीहरुको आर्थिक जीवन कष्टकर हुन अनिवार्य छ । उनीहरुको निजी जीवन कहिल्यै पनि सुखी एवं संमृद्ध हुनसक्दैन । किनकि संमृद्धिको मार्गमा पूँजीपतिवर्गले शोषण, लुट र उत्पीडन लादेको हुन्छ । 

पूँजीवादी उत्पीडनलाई अन्त्य गरेर पनि जनताको पुरानो श्रम कार्य एवं अर्थउत्पादन तरिका नवदलेसम्म उनीहरुको आर्थिक उत्पादकत्वमा वृद्धि हुन सक्दैन । त्यसैले जनताको पिछडीएको, टुक्रे एवं छितरिएको उत्पादन सम्बन्धलाई वदलेर आधुनिक एवं सहकारी उत्पादन सम्बन्धमा विकास गर्नु पर्दछ । 

आम नागरिकलाई वैज्ञानिक समाजवादी अर्थसम्बन्धको चेतना दिदै, समाजवादी अर्थजीवनद्वारा नेतृत्व प्रदान गर्दै जानु पर्दछ तर जनता नै सहमत नभएसम्म सम्पत्तिमा निजी स्वामित्व उत्पादनमा सहकारी र वितरणमा समानतामूलक प्रणाली लागु गर्नु पर्दछ । यसो गर्दा जनताको हकमा क्षमता अनुसारको काम, काम अनुसारको दामको अर्थ नीति प्रयोग गर्नु पर्दछ । 

वैज्ञानिक समाजवाद—साम्यवाद नै आम नागरिकको उच्चतम संमृद्धिको युग भएकोले निजी उत्पादन र स्वामित्वको अर्थजीवनबाट पनि हरेक नागरिकलाई समाजवाद—साम्यवादको रक्षा र विकासका लागि समुचित अर्थ योगदान, प्रगतिशील करबाट सहयोग गर्ने व्यवस्था गर्नु पर्दछ । 

उत्पादन सम्बन्धलाई आधुनिकीकरण, औधोगिकीकरण र जनवादीकरण गर्न वैज्ञानिक समाजवादले नै नेतृत्वदायी भूमिका पुरा गर्दछ । त्यसबाट जनताको आर्थिक जीवन मात्र परिवर्तन हुँदैन कि आर्थिक दृष्टिकोणमा पनि परिवर्तन हुन्छ । हरेक क्रान्ति पुरानो अर्थसम्बन्धसँग उत्पादक शक्तिले मेल नखादा पैदा हुन्छ साथै क्रान्तिको सफलता र असफलतालाई अर्थसम्बन्धमा ल्याउने परिवर्तनद्वारा मापन गरिन्छ ।
उत्पादन निजी आवश्यकताको साधन मात्र होइन । सामाजिक संमृद्धिको आधार हो 
सामुहिक स्वामित्वमा प्राप्त निजी संमृद्धि पूँजीवादी संमृद्धिभन्दा अतुलनीय रुपले वैज्ञानिक हुन्छ 
आर्थिक कार्य केवल निजी मामिला नभएर अनन्त सभ्यताको यात्रासँग जोडिएको विषय हो ।

नेपाल कम्युनिस्ट पार्टी 
केन्द्रीय समिति । 


 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...