Thursday, September 7, 2023

लेखकीय

 


सर्वप्रथम माओले सन् १४ अगस्ट १९४९ मा ‘भ्रमहरूलाई मिल्काऊ, सङ्घर्षको तयारी गर’ भन्ने सन्दर्भमा राख्नुभएको सुन्दर भनाइ प्रस्तुत गर्न चाहन्छु, “वर्गहरू सङ्घर्ष गर्छन्, केही वर्ग विजय पाउँछन्, अरूहरू निर्मूल हुन्छन् । इतिहास यस्तै छ, सभ्यताको हजारौँ वर्षको इतिहास यस्तै छ ।” वर्गसङ्घर्ष निरन्तर चलिरहेको छ । विजय पाउने सुन्दर अभिलासा छ । इतिहासका सकारात्मक तथा नकारात्मक शिक्षाहरूको जगबाट यात्रा निरन्तर जारी छ । यात्राको लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्मको हो ।

मेरो जीवनको राजनीतिक यात्रा कहिल्यै निरस बनेन, बरु सधँै उत्साहित, सक्रिय र आशावादी ढङ्गले बित्यो र यो अहिलेसम्म पनि निरन्तरमा छ । कामका दौरानमा जे जति जिम्मेवारीहरू आइलागे, त्यसलाई सधैँ उत्साहपूर्वक आफ्नो क्षमताले पुगे र भेटेसम्म पूरा गर्ने भूमिकामा आफूलाई कहिल्यै पछि पारिनँ । आजसम्मको राजनीतिक यात्रामा पारिवारिक सुख–सुविधा र आर्थिक प्रलोभनहरूका बन्धनहरूलाई कुल्चेर क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्ति भन्दै वैज्ञानिक समाजवाद र साम्यवादको चुचुरो चुम्न हामफाल्ने प्रतिबद्धतामा कमी आउने गलत दृष्टिकोणलाई आफूभन्दा अलि टाढा राख्न सकिएको छ ।

विभिन्न समय, सन्दर्भ र जिम्मेवारीमा रहँदा समसामयिक विषयहरूमा तत्कालीन अवस्थामा आफूलाई लागेको र सकेजति सही दृष्टिकोणहरू लेखमार्फत सार्वजनिक गरिएको कुरा पनि सर्वविदितै छ । ती सबै लेखहरू विविध कारणले गर्दा सङ्कलन गर्न असमर्थ रहेँ । मुख्यतः २०६० सालदेखि हालसम्मका केही र भेटिएका दार्शनिक, सैद्धान्तिक, राजनीतिक, समसामयिक, सांस्कृतिक एवम्राष्ट्रियतासित सम्बन्धित लेखहरूलाई सङ्कलन गरेर एकीकृत जनक्रान्तिको आधारहरू नामक पुस्तक तपाईंहरूको हातमा सगौरव पस्कन सफल भएको छु । निश्चय पनि प्रस्तुत पुस्तक विभिन्न समय र जिम्मेवारीमा रहँदा लेखिएका लेखहरूको सङ्ग्रह भएकाले यसमा सङ्गृहीत कतिपय सामग्रीमा शृङ्खला नमिलेजस्तो अनुभूति हुनु स्वभाविक नै हो । यो सन्दर्भबाट विज्ञ पाठक मित्रहरूमा पर्न जाने असुविधाप्रति म सचेत छु ।

जीवनमा क्रान्ति र वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानको खोजी गर्दै हरेक मोड चाहर्न कतै बाँकी राखियो जस्तो लाग्दैन । आज नेपाल कम्युनिस्ट पार्टी त्यसको संवाहक बनेर कमरेड विप्लवको नेतृत्वमा नेपाली जनतासामु उपस्थित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा सर्वोत्तम् कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ सहित वैज्ञानिक र वस्तुपरक निष्कर्षका साथ क्रान्ति–याात्रा अघि बढिरहेको छ । १. गाउँ सहरको सम्बन्ध र विकास (नगरसमाजको विकास) २. विज्ञान र प्रविधिमा विकास ३. भूपरिवेष्ठित देश ४. नयाँ श्रमिकवर्गको विकास ५. जाति–जनजातिको बसोवास र अन्तर्सम्बन्ध ६. देशभक्त शक्तिको उपस्थिति एवम् ७. दलाल पुँजीवादी चरित्र आदि समकालीन नेपाली समाजको नवीन विशेषतालाई ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाले सही र वस्तुपरक सम्बोधन गरेको छ । उत्तर साम्राज्यवाद, दलाल तथा सामाजिक दलाल पुँजीवादका सबैखाले उत्पीडनलाई परास्त गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिको महाअभियानले अग्रगति लिइहेकै छ । यसर्थ, प्रस्तुत पुस्तकको नाम एकीकृत जनक्रान्तिका आधारहरू राखिएको हो ।

महान् तथा ऐतिहासिक १० बर्से जनयुद्ध निकै ठूलो समर्पण, त्याग, बलिदान र सहादतको जगमा उभिएको कुरा सबैको सामु सुस्पस्ट नै छ । नेपालमा नयाँ जनवादी, समाजवादी र साम्यवादी राज्यसत्ता आवश्यक छ भन्ने बुलन्द आह्वानलाई विश्वसामु थर्कमान हुने गरी प्रत्याक्रमणको चरणसम्म १० बर्से महान् जनयुद्ध अघि बढेको थियो । सर्वहारावर्गको राज्यसत्ता ल्याइछोड्ने अजङ्ग क्रान्तिकारी प्रतिबद्धतालाई सुनौलो भविश्यतर्फ बेगिलो तुफानजस्तै शिखरतर्फ हुइँकिँदै थियो । सर्वहारावर्गीय मुक्तिको लागि कि मुक्ति कि मृत्युको प्रतिबद्धतामा हाँस्दै सहिद बन्न लामबन्दी हुने गौरवमय यात्रामा खचाखच भरिएका क्रान्तिकारी योद्धाको भूमिकाले सामुद्रिक छालजस्तै गर्जेर दुश्मनहरूलाई हुङ्कार दिँदै थिए । एकाएक, नायकहरू खलनायकमा बदलिए । आक्रोशहरू पीडामा बदलिए । कारबाहीहरू बार्गेनिङमा बदलिए । क्रान्तिकारी नीति, सिद्धान्त, विचार, दर्शन, प्रतिबद्धताहरूमा दुषित, विषालु तथा खतरनाक जीवाणुहरूको प्रवेश भयो र निराशाको चरम सङ्कट, पलायनता र विसर्जनको भुँमरीमा माओवादी आन्दोलनमा नराम्ररी फस्यो । फेरि तिनै खरानीहरूबाट जुर्मुराउँदै एउटा विशाल प्रतिबद्धता नेपाली जनतासामु ठिङ्ग उभिएको छ, नेपाल कम्युनिस्ट पार्टी । “गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुर लड्छ र इमानदार अघि बढ्छ ।” महान् होची मिन्हको यो भनाइलाई आत्मसात् गर्दै वैज्ञानिक समाजवादको शिखर चुम्न फेरि लामबद्ध हुँदैछन् राता मान्छेहरू !

पार्टीको जिम्मेवारी र साङ्गठनिक कामको व्यस्तताको बीचमा पनि यो पुस्तक सार्वजनिक गर्न मलाई उत्पेरणा दिने सम्पूर्ण मित्रहरू धन्यवादका पात्र हुनुहुन्छ । तत्कालीन अवस्थामा मेरो लेखहरू प्रकाशन गरेर पाठकसामु पु¥याउन भूमिका खेल्ने ‘जनक्रान्ति’ केन्द्रीय मुखपत्र, नेपाल कम्युनिस्ट पार्टी, ‘हस्तक्षेप’ मुखपत्र नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरो, ‘रातो खबर’ साप्ताहिक काठमाण्डौ, ‘Ñउषाकालीन’ साप्ताहिक बाग्लुङ, ‘नयाँ दिशा’ दैनिक बुटवल, ‘देशप्रेम’ साप्ताहिक काठमाण्डौ, ‘हाँक’ साप्ताहिक काठमाण्डौ, ‘अग्रगति’ साप्ताहिक काठमाण्डौ, ‘समर प्रतीक’ मासिक काठमाडौ, ‘Ñदृष्टिकोण’ मासिक काठमाण्डौ, ‘Ñजुलुस’ साप्ताहिक हेटौंडा, ‘युवा कम्युनिस्ट’ मुखपत्र काठमाण्डौ, ‘रिहा’ त्रैमासिक काठमाण्डौ, ‘सञ्चार दर्शन’ साप्ताहिक काभ्रे, ‘जनजाति सन्देश’ पाक्षिक काठमाण्डौलगायतका सम्पूर्ण टिमलाई यो बेलामा स्मरणसहित हार्दिक धन्यवाद दिन चाहन्छु ।

पुस्तकको भाषा सम्पादनमा सहयोग गर्ने मित्र खेम थपलियाप्रति आभार व्यक्त नगरिरहन सक्दिनँ । आवरण साजâ–सज्जामा मिहिनेत पुस्तकलाई सुन्दर बनाउन भूमिका खेल्नुहुने अग्निराज पौडेल ‘अराप’ प्रति कृतज्ञ छु । पुस्तक प्रकाशन गरेर पाठकसामु पु¥याउन सहयोग गर्ने अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पुस्तकमा कमजोरीहरू छन्र हुन सक्छन्, आवश्यक सुझाव र सल्लाहका लागि मेरो सकारात्मक पर्खाइ रहने नै छ । तपाईंहरूको सुझाव, सल्लाहले मेरो आगामी लेखन–यात्रालाई झनै प्रतिबद्ध बनाउने विश्वास र प्रतिबद्धतासहित !

चिरन पुन ‘मिलन’

E-mail : chiranpunji@gmail.com

Blog : chiranpun.blogspot.com


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...