Thursday, September 7, 2023

प्रकाशकीय

 



सार्थक कदम

चिरन पुन ‘मिलन’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो इन्चार्ज हुनुहुन्छ । नेकपाका युवानेता चिरन जनवादी कलाकार पृष्ठभूमिका व्यक्तित्व हुनुहुन्छ । गीतकार, सङ्गीतकार र गायकसमेत रहनुभएका चिरनका विभिन्न जनवादी गीति एल्बमहरू सार्वजनिक भइसकेका छन् भने कतिपय सार्वजनिक हुने क्रममा छन् । यतिबेला भने उहाँ राजनीतिलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘एकीकृत जनक्रान्तिका आधारहरू’ लिएर उपस्थित हुनुभएको छ । डेढ दशकभित्र विभिन्न आवश्यकतामा निर्माण भएर प्रकाशित भइसकेका दार्शनिक, राजनीतिक, वैचारिक, सांस्कृतिक र साङ्गठनिक विषयका लेखहरूको सङ्ग्रह हो– ‘एकीकृत जनक्रान्तिका आधारहरू’ ।

‘एकीकृत जनक्रान्तिका आधारहरू’ मूलतः नेपालमा विभिन्न कालखण्डमा सञ्चालित आन्दोलन, सङ्घर्ष, विद्रोह, जनयुद्ध र क्रान्तिको चर्चा–परिचर्चा गरिएको राजनीतिक पुस्तक हो । विभिन्न सन्दर्भ र जिम्मेवारीमा रहँदा आवश्यकताअनुसार लेखिएका लेखहरूको सङ्ग्रह हो यो । यस पुस्तकमा सङ्गृहीत लेखहरू राष्ट्रियता, जनतन्त्र, जनजीविका, समसामयिक राजनीति, संस्कृति र पछिल्लो कालखण्डमा नेपालमा नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयनलाई केन्द्रमा राखिएको छ । 

एकीकृत जनक्रान्ति सही दार्शनिक तथा राजनीतिक दृष्टिकोण र कार्यदिशा रहेको निष्कर्षसहित सङ्गृहीत यस पुस्तकले नेपाली भूमिबाट विकसित मालेमावादको नयाँ कार्यदिशाबाट नै कम्युनिस्ट आन्दोलनले सही दिशा समात्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्त हुने निष्कर्ष निकालिएको छ । एउटै विषय र उद्देश्यमा आधारित भएर नलेखिएकाले पाठकले सबै लेखहरूमा शीर्षक सार्थकता पाउनेछैनन् तर सारमा नेपाल, नेपाली श्रमजीवी जनता र विश्व सर्वहारावर्गको मुक्ति नै यस पुस्तकको मूल सार हो । विविध विषयमा लेखिएको झन्डै ग्रन्थाकारको पुस्तक प्रकाशन गर्ने अवसर दिने चिरन पुन ‘मिलन’ लाई बधाई र उहाँको स्रष्टा जीवनको सफलताका लागि शुभकामना दिन्छौँ र पाठकवर्गसँग विगतमा अन्य पुस्तक र हाम्रा सिर्जनालाई झैँ यस पुस्तकलाई पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राख्छौँ ः
पश्चिमबाट हाम्रो सीमा वर सर्दैछ
पूर्वबाट नेपालीको बस्ती उठ्दैछ
लम्क नौजवान, चम्क नौजवान
खुकुरी र बन्दुक बोकी लम्क नौजवान ।
प्रकाशकीय
१३ जेठ, २०७५
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...