Friday, March 18, 2011

जन सुरक्षा दस्ताको आवश्यकता र औचित्य


अग्रगति साप्ताहिक
बर्ष ५, अंक २९,
२०६७ चैत्र ३,विहिबार काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले हालै जनसुरक्षा दस्ता गठन र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष क. श्रृषीराम शर्मा कट्टेलले यसको औपचारिक रुपमा सार्वजनिक भएको घोषणा ०६७ फागुन २५ गते काठमाण्डौमा गर्नु भयो । यसको आवश्यकता र औचित्यताको बारेमा पार्टीमा निकै महत्वपूर्ण छलफल र बहसहरु भए । यसको संगठनात्मक स्वरुप, परिचालनको विधि र कामको दायरालाई निकै गम्भिर ढंगले किटानी गरिएको छ । क्रान्तिकारी सुझ बुझ र विस्वासका साथ यसको गठन, सार्वजनिक र परिचालनमा जाने टुङ्गोमा पुगिएको हो । नेपालको कम्युनिष्ट आन्दोलनले स्थापित गरेका मान्यताहरु, आन्दोलनमा देखिएका अनुभव र अनुभुतिहरु र वर्तमान राजनीतिक परिवेशको आवश्यकतालाई आत्मबोध गर्दै, जन सुरक्षा दस्ताको निर्माण गरिएको महत्वलाई सवै पक्षले बुझ्न आवश्यक छ भन्ने लाग्दछ ।

नेकपा (एकीकृत) को एकताको सातौ महाधिवेशनले निकै उत्साहजनक ढंगले जनसुरक्षा दस्ता गठन गर्ने निर्णय गरेको थियो । आज एकताको सातौं महाधिवेशन सम्पन्न भएको पनि केहि समय वितिसकेको परिवेश छ । जनसुरक्षा दस्ताको औपचारिक गठन र सार्वजनिकको लागि यो समय लाग्नु नै पर्ने थियो । यसको गठन, सार्वजनिकिकरण र परिचालनको नीतिगत निर्णय गरेर मात्र पुग्दैनथ्यो । यसको सवै पक्षहरुको बारेमा सुश्म अध्ययन, अनुसन्धान, संभावना, अवरोध, अवसर र चुनौतिहरुको बारेमा व्यापक र गम्भिर छलफल गर्नु र सहि निर्णयमा पुग्नु थियो । जब पार्टीले यो नीति निर्णयलाई व्यवहारमा क्रियान्वयन गर्ने टुङ्गोमा पुग्यो पार्टीबाट केहि विचारमा अवसरवादी र क्रान्तिकारी आन्दोलनबाट पलाएन हुनेहरुले अवरोध पैदा गर्न खोजे । किनकी, नेपालको कम्युनिष्ट आन्दोलनमा “जता काफल पाक्यो, उतै चरि नाच्यो” भन्ने प्रवृति नया“ थिएन । विगत निकै छोटो समयमा भएका र गरिएका राजनैतिक तथा बैचारिक प्रस्तावनाहरुलाई चटक्कै भुलेर पद, प्रतिष्ठा, अवसर र सुविधाको लागि आत्मसमर्पण गर्ने प्रवृतिहरु र अवसरवादी भुमिकाले नेकपा (एकीकृत) लाई पनि केहि असर पुर्याउन खोज्यो तर, त्यो संभव थिएन र भएन पनि । आज नेकपा (एकीकृत) ति सवै प्रवृतिहरुलाई परास्त गर्दै अगाडि बढिरहेको छ र जनसुरक्षा दस्ताको गठन, सार्वजनिक र परिचालनको अवस्थामा पुगेको छ ।

जन सुरक्षा दस्ताको गठनको सार्वजनिक भए बाटै विभिन्न कोणहरुबाट सकरात्मक तथा नकरात्मक टिप्पोणीहरु हुनु स्वभाविक थियो र भए पनि । जन सुरक्षा दस्ता नेपाली काग्रेसको तरुण दल वा एमाओवादीको वाईसिएल, वा एमालेको युथफोर्स जस्तै हो त ? हामी स्पस्ट गर्न चाहन्छौ, आजको सैद्धान्तिक, राजनैतिक र दार्शनिक अवधारणा, गतिविधिको केन्द्र विन्दु र यसको उदेश्य यि दुवै सन्दर्भले जन सुरक्षा दस्ता विल्कुल उनिहरु भन्दा फरक छ र फरकै ढंगले परिचालन हुनेछ । वर्तमान दलाल, नोकरशाह, सामन्ती पुजिवादी राज्यसत्तालाई मलजल गर्न होईन त्यसलाई ध्वंस गर्न जनसुरक्षा दस्ताको भुमिका केन्द्रीत गरिनेछ । दलाल, नोकरशाह, सामन्ती पुजिवादी बर्गको ईसारामा टिकेको सरकार र त्यसले जनतालाई दिने गरेको उत्पीडनहरुको अन्त्य गर्न जन सुरक्षा दस्ता परिचालन गरिने छ । जनवादी अधिनायकत्व र सर्वहारा वर्गको अधिनायकत्वलाई तिलाञ्जली दिन होईन त्यसको स्थापनामा जन सुरक्षा दस्ताको भुमिकालाई केन्द्रीत गरिने हुनेछ । समाजमा देखिने भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरी, कालोबजारीलाई रोक्न पनि जन जनसुरक्षा दस्ताको परिचालन अनिवार्य गरिनेछ । साम्रज्यवाद विस्तारवादको विरुद्ध डटेर संघर्ष गर्दै राष्ट्रिय स्वाधीनता रक्षाको निम्ति जन सुरक्षा दस्ताको भुमिकाको खा“चो पर्नेछ । साथै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु, कम्युनिष्ट पार्टीको नाममा स्थपित भएको अवसरवादलाई परास्त गर्न पनि जनसुरक्षा दस्ताको भुमिकालाई अगाडि बढाईने छ ।

जन सुरक्षा दस्ता के यो नेकपा (एकीकृत) को संयमसेवक मात्र हुन ? निश्चितै रुपमा यो संयमसेवक मात्र होईनन् । तर, स्वयमसेवकको काम पनि जन सुरक्षा दस्ताले गर्नेछन । के जन सुरक्षा दस्तालाई लाल सेना नै बनाउन खोजिएको हो त ? त्यो पनि विल्कुल होईन । तर, आवश्यकता अनुशार जन सुरक्षा दस्ताले लाल सेनाको भुमिका खेल्न पनि परिवेशले बाध्यतामा रुपान्तरण गर्न नसक्ला भन्न सकिन्न । के नेकपा (एकीकृत) ले जनयुद्धनै घोषणा गर्न खोजेको हो त ? त्यो पनि गलत हुन्छ किनकी, पार्टीले अहिलेको परिवेशको वस्तुगत आधार र आत्मगत आधार सहि मुल्याङ्कन गर्दै जन संघर्षलाई नै अहिलेको संघर्षको केन्द्रीय प्रश्न हो भन्ने निष्कर्षमा पुगेको छ । र जन सुरक्षा नीतिको प्रकृयामा मुलुकलाई रुपान्तरण गरिनु पर्दछ भन्ने मान्यता अघि सारेको छ ।

युद्ध तथा विद्रोहहरु रहरले गरिने होईन, यो बाध्यताको उपज हो । सामाजिक, आर्थिक र राजनीतिक परिवेशले ल्याउने अनिवार्य आवश्यकताको परिणाम हो, भन्ने कुरा विश्वका हरेक मुलुकहरु र नेपालकै पनि विगतका स्थापित अवस्थाले प्रस्ट पारिसकेको छ । समाजका हरेक उत्पीडनहरुको अन्त्य हुनु पर्दछ । समयमा सार्थक संविधान बन्नु पर्दछ । राष्ट्रिय स्वाधीनताको रक्षा हुनु पर्दछ । सन् १९५० लगाएतका असमान सन्धी संझौताहरुको खारेजी गरिनु पर्दछ र रायमाझी आयोगका दोशीहरुलाई कारवाही हुनु पर्दछ । भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरीलाई निर्मुल पारिनु पर्दछ । के आज जनताको बीचबाट उठेका यि मागहरुलाई राज्यसत्ता र सरकारले पुरा गरिदिन सक्ला ? अहिले सरकारमा भएका र जान तम्सेका पार्टी र नेताहरुले यि कामहरुलाई सम्पन्न गर्न सक्लान ? यसको उत्तर जनताले को स“ग खोज्ने होला ? आज देशमा क्रियाशिल ठुला पार्टीहरु र हालसम्म सरकारमा बसेर कुर्सीको स्वाद चाख्नेहरुले यि कामहरु पुरा गर्न र यसको जनतालाई सकरात्मक जवाफ दिने हैसियद कामय गरेका छन ? यसको जवाफ चाहिएको छ अब जनतालाई । सहि भुमिका चाहिएको छ, अब यो देशलाई । जन सुरक्षा दस्ता हो त्यो जवाफको खोजीमा लाग्ने छ ।

फेरी जनताले युद्ध र विद्रोहको कुरा गर्दा साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र यथास्थितिवादलाई राम्रो लाग्दैन । किनकी, उनिहरुको बा“च्ने आधार युद्ध र हिंसा नै हो । हाम्रो देशको सरकार र सरकारमा बसेका पार्टीहरुलाई पनि अब युद्ध र विद्रोहको कुरा पच्दैन । किनकी, उनिहरुले पनि अब यहि राज्यसत्ताको रसस्वादनमा डुवुल्की मार्नु छ । खोई त, के गर्यो, एमाले, काग्रेस र एमाओवादीले देश र जनताको लागि ? भन्ने प्रश्नहरु मुलुकभर उठ्न थालेको छ । साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी, यथास्थितिवादी, दक्षिणपंथी र अराजकतावादीहरुलाई जनताले गर्ने युद्ध प्रति त्यति विस्वास पनि हुदैन । किनकी, जनताको युद्ध र विद्रोहको बाधन उनिहरुनै हुन । तत्कालिन माओवादीले देशमा यति ठुलो उथलपुथल ल्याउला भन्ने तत्कालिन राजा, वा काग्रेस, वा एमाले, वा अन्य साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले हेक्का राखेका पक्कै थिएनन । बागबजारको भित्तामा वालपेन्टिङ गर्दा डा. बाबुराम भट्राईको टाउको माथि लाठि बर्साउने मण्डलेहरुले पनि परिस्थितिको कल्पना गरेका थिएनन । अहिले ए माओवादीलाई जयजयकार मनाउदै आफ्नो अवसरवादी अनुहार ढाक्न एमाओवादीमा लामवद्ध हुने सामाजिक फासिवादी, सैन्यवादी, उग्रवादी भन्दै दस्तावेज तयार पार्ने कामरेडहरु र तत्कालिन माओवादीले बगाएको रगतलाई सुत्केरी महिलाको रगत सरह दा“ज्दै भाषण गर्ने नया“ क्रान्तिकारी जोगी कामरेडहरुलाई पनि सायद थाहा थिएन । सायद, माओवादीले ०५२ सालमा युद्ध सुरु गर्ने बेलामा न त यतिठुलो पार्टी बनेको थियो, न त उसले यतिधेरै हतियार जम्मा गरेको थियो । यि सन्दर्भहरुलाई साम्राज्यवादी, विस्तारवादी, यथास्थितिवादी, दक्षिणपंथी, उग्रवामपंथी तथा सम्पूर्ण जनसमुदायले हेक्का राख्नु पर्ने विषय हो ।

त्यसैले अब हामी सवैले जन सुरक्षा दस्ताको भुमिकालाई अघि बढाउन पहल गर्नु पर्दछ । यसको परिचालन र व्यवस्थापनमा जोड दिनु पर्दछ । यसको योजनाहरुलाई सफल पार्न लाग्नु पर्दछ । आजको विषम राजनीतिक संङ्क्रमणको अन्त्य गर्न र मुलुक र जनताको निराशालाई शक्ति र विश्वासमा बदल्न हामी सवैले भुमिका खेल्नु पर्दछ । यो परिवेशमा जन सुरक्षा दस्ताको आवश्यकता र औचित्यता महत्व स्थापित हुनेछ ।

धन्यवाद ।
०६७ चैत्र २ गते ।





No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...